काठमाडौं- सुनसरीबाट सुरू भएर मधेश प्रदेशमा पुगेको दुई समुदायको तनावले देशलाई तरंगित गरिरहेका बेला प्रधानमन्त्री वालेन्द्र शाह सक्रिय भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानान्तर सक्रियता तीव्र पारेसँगै बालेन पनि भेटघाट र संवादमा जुटेका हुन् ।
उनले शुक्रबार मधेशवादी दलहरूका नेतालाई सिंहदरबारमा बोलाएर लामो छलफल गरे । प्रधानमन्त्री आइतबार सुनसरीमा भएको घटनाको पाँच दिनपछि बिहीबार राष्ट्रका नाममा सम्बोधन पनि गरे । त्यससँगै उनले निर्वाचित भएको चार महिनापछि अन्य राजनीतिक दलका नेतासँग पनि बाध्यात्मक संवाद सुरू गरेका छन्।
वालेन्द्रले बुधबार नै राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आपसी सद्भाव र शान्ति झल्काउने काम गर्ने प्रतिबद्धता जनाए । राष्ट्रपतिले अहिले देखिएको तनाव साम्य पार्न सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने सुझाए ।
शुक्रबार पनि प्रधानमन्त्री वालेन्द्रले मधेसका विभिन्न राजनीतिक शक्तिसँग भेट गरे। उनले लोकतान्त्रिक समाजवादी पार्टीका नेता महन्त ठाकुर, राष्ट्रिय मुक्ति क्रान्ति पार्टीका राजेन्द्र महतो , जनमत पार्टीका अध्यक्ष सीके राउत, मधेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, नेता राम कुमार शर्मा, आमजनाताका अध्यक्ष प्रभु साह, रास्वपा सांसद डा. अमरेशकुमार सिंह, अर्का शरतसिंह भण्डारी, जयकान्त राउतसहितसँग लामो संवाद गरे ।
मधेसवादी नेताहरूले सुनसरी घटनाको पाँच दिनसम्म सरकार र प्रधानमन्त्री मौन रहँदा थप भौतिक र मानवीय क्षति भएको सुनाए । उनले प्रधानमन्त्री गणतन्त्र संघीयता र धर्मनिरपेक्ष प्रणालीको विपक्षमा रहेको आशंकासमेत गरे । प्रधानमन्त्रीलाई मधेशवादी दलहरूले कम्मरमाथि गोली किन प्रहार गरियो भनेर प्रश्नसमेत तेर्स्याए ।
त्यसपछि प्रधानमन्त्रीले सबै प्रश्नको जवाफ दिँदै आफ्नो धारणा दिएको नेताहरू बताउँछन् । बैठकमा उपस्थित नेता डा. सीके राउत र राजेन्द्र महतो अनुसार प्रधानमन्त्रीले गल्ती पनि स्वीकारेका छन्।
‘मलाई संघीयता विरोधी भनेर सपनामा पनि नसोच्नुहोला । लोकतन्त्र र संविधानप्रति पूर्ण इमान्दार र वफादार छु। चार-पाँच दिनसम्म प्रधानमन्त्री किन बोलेन नभन्नुहोला राज्यका सबै संयन्त्र खटाएर अनुसन्धान भइरहेको थियो’, उनले भने, ‘नेपाल सबैको साझा फूलबारी हो। संघीयता धर्मनिरपेक्षता र सबै जातजातिको साझा फूलबारी बनाउन मैले कुनै कसुर बाँकी राख्दिनँ।’
वालेन्द्रले आफू हिन्दू राज्य र शाह वंशीय राजा फर्काउने पक्षमा आफू नभएको स्पष्टीकरण दिएका छन्। हिन्दू राज्य आएपछि राजा जोडिने भएकाले आफू त्यसको पक्षमा नभएको उनले खुलाए । भेटमा मधेशवादी नेताहरूले हिन्दू राज्य र राजाबारे बालेनलाई सोधे। ‘हिन्दू राज्य आएपछि राजा पनि जोडिएर आउँछ, अहिले त्यसो गर्नु राम्रो हुँदैन। संघीयताप्रति म प्रतिबद्ध छु, त्यसलाई सफल बनाउने काम पूरा गरेर जान्छु। हामी राजा फर्काउने पक्षमा छैनौँ। त्यसो गर्दा संघीयता कमजोर हुन्छ’, प्रधानमन्त्री बालेनले भने ।
उनले हिन्दू राष्ट्र बनाउनेतिर लाग्दै नलाग्ने दोहोर्याउँदै त्यसका लागि तराई-मधेसमा आन्दोलनको अर्को मर्म र पहाडतिरको अर्को मर्म रहेको पनि उल्लेखख गरेका छन्।
उनले धार्मिक समुदायबीचको द्वन्दका रूपमा मात्रै मैले देशको पछिल्लो अवस्थालाई नलिएको बताए। ‘राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा पनि विभिन्न कोणबाट अध्ययन अनुसन्धान हुनुपर्छ भन्ने सुझाव आएको छ’, उनले भने, ‘घटनाको निष्पक्ष छानबिन हुन्छ।’
उनले आफू कानुनभन्दा बाहिर गएर प्रस्तुत नभएको पनि बताए । ‘प्रधानमन्त्री कानुनभन्दा बाहिर गएर प्रस्तुत भयो भन्नुभएको छ, मैले मेयर हुँदादेखि नै कानुनको पूर्णपालना गरिरहेको छु। गल्ती भएको भए आगामी दिनमा सुधार हुनेछ’, उनले भने, ‘प्रधानमन्त्री पाँच दिनसम्म सुत्नुभयो भन्ने प्रश्न गर्नुभएको छ। म सुतेको थिइनँ। आइतबार रातिको घटना तत्कालै गम्भीर ध्यानाकर्षण भएको थियो। काम गर्दागर्दै अरू जिल्लामा पनि तनाव हुन पुग्यो ।’
उनले पार्टी सभापति रवि लामिछाने र आफूबीच कुनै दूरी नभएको पनि बताए । ‘सभापति र मबीच कुनै दूरी छैन, सल्लाहमै काम भइरहेको हो’, उनले भने, ‘मैले सर्वदलीय बैठक डाक्नुपर्ने थियो। तर सभापति र मबीच कुरा हुँदा उहाँले गर्ने भन्ने सहमतिअनुसार काम भएको हो।’
उनले २०८२ को निर्वाचनबाट पहाडी र मधेसबीचको खाडल पुरिएको महसुस गरेको बताए । ‘तर त्यस्तो होइन रहेछ, धेरै तत्त्वले खेलेका रहेछन् भन्ने कुरामा अनुसन्धान गरिरहेको छु’, उनले भने, ‘हिंसा भड्काउने र अशान्ति फैलाउने जो-कोहीलाई सरकारले कानुनको दायरामा ल्याउँछ।’
बालेनले प्रदेश खारेज नहुने बताए । ‘प्रदेश खारेज गर्ने कुरामा कुनै पनि हिसाबले मेरो पार्टी र मबाट सम्भव छैन’, उनले भने, ‘बरू त्यसलाई कसरी बलियो र प्रभावकारी बनाउने भन्ने चिन्तन गरिरहेको छु।’

के के भने बालेनले ?
१. मलाई संघीयता विरोधी भनेर सपनामा पनि नसोच्नुहोला । लोकतन्त्र र संविधानप्रति पूर्ण इमान्दार र बफादार छु।
२. चार पाँच दिनसम्म प्रधानमन्त्री किन बोलेन नभन्नुहोला राज्यका सबै संयन्त्र खटाएर अनुसन्धान भइरहेको थियो।
३. नेपाल सबैको साझा फूलबारी हो। संघीयता धर्मनिरपेक्षता र सबै जातजातिको साझा फूलबारी बनाउन कुनै कसुर बाँकी राख्दिनँ।
४. धार्मिक समुदायबीचको द्वन्दका रूपमा मात्रै मैले देशको पछिल्लो अवस्थालाई लिएको छैन। राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा पनि विभिन्न कोणबाट अध्ययन अनुसन्धान हुनुपर्ने सुझाव आएको छ। घटनाको निष्पक्ष छानबिन हुन्छ।
५. सुनसरीको देवानगञ्ज घटनाले मधेशका विभिन्न जिल्ला र कोशी प्रदेश यति धेरै अशान्त हुन्छ भन्ने ज्ञान मैले पनि राखेको थिइनँ, मबाट पनि कमी कमजोरी भए ।
६. तपाईंहरूले पनि आ-आफ्नो ठाउँबाट सद्भाव कायम गर्ने पहल गर्नुस् हामीले पनि गरिरहेका छौं ।
७. म आफै जाँदा थप स्थिति तनाव हुने कारण गृहमन्त्रीलाई खटाएको हुँ, स्वास्थ्यमन्त्री निशा मेहता र गृहमन्त्री सुदन गुरुङ त्यहाँ पुगेर विभिन्न कोणबाट छलफल गरिरहनु भएको छ ।
८. कहाँ-कहाँ कमी हो सुधार गर्नुपर्छ । म पनि गर्छु यहाँहरू पनि गरिदिनुहोला।
९. देशको पछिल्लो घटनाको विषयमा कसैले पनि राजनीतिकरण नगरिदिनुहोला। कसरी साम्य पार्ने र प्रदर्शनकारीलाई सम्झाईबुझाइ गर्नेतिर ध्यान दिनुहोला ।
१०. नेपाल प्रहरी र सशस्त्र प्रहरीले मात्रै सुरक्षा दिँदा नपुगेर सेना परिचालन गरिएको हो। यसलाई अरू कोणबाट विश्लेषण नगरिदिनुहोला ।
११. सकेसम्म आ-आफ्नो क्षेत्र र जिल्लामा गएर शान्ति सुरक्षा कायम गर्न र प्रदर्शनकारीहरूलाई सम्झाइदिने कोसिस गर्नुहोला।
१२. कम्मरमाथि किन गोली हान्यो भन्ने यहाँहरूले प्रश्न गर्नुभएको छ। मैले पनि सुरक्षा निकायसँग कम्मरमाथि किन गोली हानियो भनेर प्रश्न गरिरहेको छु। यसको निष्पक्ष छानबिन हुनुपर्छ ।
१३. प्रधानमन्त्री कानुनभन्दा बाहिर गएर प्रस्तुत भयो भन्नुभएको छ, मैले मेयर हुँदादेखि नै कानुनको पूर्णपालना गरिरहेको छु। गल्ती कमजोरी भएको भए आगामी दिनमा सुधार हुनेछ ।
१४. प्रधानमन्त्री पाँच दिनसम्म सुत्नुभयो भन्ने प्रश्न गर्नुभएको छ। म सुतेको थिइनँ। आइतबार रातिबाटै घटनाबारे मेरो गम्भीर ध्यानाकर्षण भएको थियो। काम गर्दागर्दै अरु जिल्लामा पनि तनाव हुन पुग्यो ।
१५. सुनसरी र सिरहा घटनाका मृतकका परिवारलाई उचित क्षतिपूर्ति र उनीहरूको परिवारलाई रोजगारी दिन सरकार पूर्ण प्रतिबद्ध छ। गृहमन्त्रीज्यूले कतिपय कुरा साइन गरिसक्नुभयो ।
१६. तपाईंहरूमार्फत् म आमप्रदर्शनकारी र देशवासीलाई के भन्न चाहन्छु भने सबैले आ-आफ्नो कोणबाट शान्ति कायम गर्न तल्लिन बनौँ। नेपालआमा र नेपाली भूमिलाई थप तनाव नदिऊँ। सबैले आ-आफ्नो ढंगबाट पहल थालौं।
१७. प्रदेश खारेज गर्ने कुरामा कुनै पनि हिसाबले मेरो पार्टी र मबाट सम्भव छैन । बरू त्यसलाई कसरी बलियो र प्रभावकारी बनाउने भन्ने चिन्तन गरिरहेको छु।
१८. प्रधानमन्त्रीले कसैलाई टेरेन, संवाद नै गरेन भन्ने कुराहरू आइरहेका छन्। यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
१९. पार्टी सभापति र मबीच कुनै दूरी छैन सल्लाहमै काम भइरहेको छ। मैले सर्वदलीय बैठक डाक्नुपर्ने थियो। तर सभापति र मबीच कुरा हुँदा उहाँले गर्ने सहमतिअनुसार काम भएको हो।
२०. २०८२ को निर्वाचनबाट पहाडी र मधेसबीचको खाडल पुरिएको मैले महसुस गरिएको थिएँ तर धेरै तत्त्वले खेलेका रहेछन् भन्ने अनुसन्धान गरिरहेको छु। हिंसा भड्काउने र फैल्याउने जो-कोहीलाई सरकारले कानुनी दायरामा ल्याउँछ।
२१. म हिन्दु राज्य फर्काउने पक्षमा छैन । यो संघीयता विरोधी हुन्छ । हिन्दू राज्य आएपछि राजा पनि जोडिन्छ, अहिले त्यसो गर्नु राम्रो हुँदैन। संघीयताप्रति प्रतिबद्ध छु, त्यसलाई सफल बनाउने काम पूरा गरेर जान्छु। हामी राजा फर्काउने पक्षमा छैनौँ। त्यसो गर्दा संघीयता कमजोर हुन्छ।












प्रतिक्रिया