रसुवा बाढीपछि नेकपा बहुमतको राष्ट्रिय सम्मेलन स्थगित, उद्धार तथा राहतमा जुट्न निर्देशन « Khabarhub

रसुवा बाढीपछि नेकपा बहुमतको राष्ट्रिय सम्मेलन स्थगित, उद्धार तथा राहतमा जुट्न निर्देशन


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले आफ्नो राष्ट्रिय सम्मेलन स्थगित गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई उद्धार, राहत र स्वास्थ्य सेवामा परिचालन हुन निर्देशन दिएको छ।

पार्टी अध्यक्ष कञ्चनले आइतबार जारी गरेको प्रेस वक्तव्यमार्फत बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका कार्यक्रम सञ्चालन गर्न पार्टी पंक्तिलाई निर्देशन दिएका हुन्।

पार्टीले आगामी असोज ५ गतेदेखि आयोजना गर्ने तय भएको राष्ट्रिय सम्मेलन स्थगित गरेको जनाएको छ। सम्मेलनको तयारीका क्रममा सञ्चालन भइरहेका सम्पूर्ण कार्यक्रमसमेत रोक्दै विपद्मा परेका नागरिकको उद्धार, राहत तथा सहयोगमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरिएको वक्तव्यमा उल्लेख छ।

बाढी प्रभावित क्षेत्रमा आगामी दिनमा झाडापखाला तथा अन्य संक्रामक रोग फैलिन सक्ने जोखिम रहेको भन्दै पार्टीले तत्काल स्वास्थ्य सेवा तथा आवश्यक औषधिको व्यवस्थामा ध्यान दिन सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ।

त्यस्तै, विपद्पीडितका लागि काठमाडौं उपत्यकामा विद्यार्थी, युवा, मजदुर, महिलालगायत जनवर्गीय संगठनमार्फत रक्तदान कार्यक्रम सञ्चालन गर्न पार्टीले निर्देशन दिएको छ।

राष्ट्रिय सम्मेलनको नयाँ मिति भने पार्टीको केन्द्रीय समिति बैठकले उपयुक्त समयमा तय गर्ने जनाइएको छ।

बाढीले बगाएर ल्याएका शव पहिचान हुन नसकेको अवस्थामा सरकारले सामूहिक रूपमा व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएको विषयमा पनि नेकपा (बहुमत) ले ध्यानाकर्षण गराएको छ।

विदेशमा रहेका आफन्तले आफ्ना परिवारका सदस्यको अवस्थाबारे जानकारी पाउन नसकेको अवस्थालाई ध्यान दिँदै सम्बन्धित निकायलाई संवेदनशील बन्न र पीडित परिवारलाई यथार्थ तथा सन्तोषजनक सूचना उपलब्ध गराउन पार्टीले आग्रह गरेको छ।

पार्टीले बाढीका कारण रोजगारी, स्वरोजगार तथा पर्यटनलगायत क्षेत्रमा संलग्न ठूलो जनसंख्या प्रभावित भएको भन्दै प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय सरकारलाई उद्धार गरिएका र प्रभावित व्यक्तिहरूको अवस्थाबारे दैनिक रूपमा सार्वजनिक जानकारी दिनसमेत माग गरेको छ।

नेपालको भौगोलिक अवस्थाका कारण हिमाली क्षेत्रमा हिमपहिरो, पहाडी क्षेत्रमा भूकम्प तथा पहिरो र तराई क्षेत्रमा बाढी तथा डुबानजस्ता प्राकृतिक विपद् दोहोरिँदै आएको उल्लेख गर्दै पार्टीले विपद् आएपछि मात्र उद्धार तथा राहतमा केन्द्रित हुने प्रवृत्तिको दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गरेको छ।

पार्टीले विपद् प्रभावित क्षेत्रका नागरिकको सुरक्षित पुनःस्थापना र व्यवस्थित बसोबासका लागि जोखिमयुक्त क्षेत्रको वैज्ञानिक पहिचान गर्नुपर्नेमा जोड दिएको छ। भिर, पहिरो, बाढी, भूकम्प तथा खोला–नदी कटानको उच्च जोखिम रहेका क्षेत्रभन्दा टाढा सुरक्षित र वैज्ञानिक ढंगले बस्ती विकास गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

वक्तव्यमा विपद्को पीडामा रहेका नागरिकको उद्धार तथा राहतका लागि पार्टीका सम्पूर्ण सदस्यलाई परिचालन हुन निर्देशन दिँदै प्रभावित जनताप्रति ऐक्यबद्धतासमेत व्यक्त गरिएको छ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  १ : ४५ बजे

रविलाई बालेनले भने : बाढीपीडितको राहत र उद्धारमा राज्यका सबै शक्ति पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

नेपालगञ्ज– ‘छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर फोनमा

रसुवा बाढी पीडितको राहत र उद्धारमा प्रश्न उठिरहेका बेला रवि र बालेनबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी

नेप्सेमा गयो पहिरो, ४९० अंकले घट्यो निर्जीवन बीमा समूह

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीको उच्च नकारात्मक प्रभाव सेयर बजारमा

संसद् बैठक बोलाउन कार्यव्यवस्था समितिको बैठक मंगलबार बस्ने

काठमाडौं– संसद् बैठक आह्वानका लागि प्रतिनिधिसभा, कार्य व्यवस्था परामर्श समितिको