रसुवाको पुकार, ‘सरकार, फेसबुकमा होइन, हाम्रो आँगनमा आइदिनुस्’ « Khabarhub

रसुवाको पुकार, ‘सरकार, फेसबुकमा होइन, हाम्रो आँगनमा आइदिनुस्’


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 8 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

रसुवा- भोटेकोसी र त्रिशूलीको किनारमा ६ दिनदेखि त्रास, अभाव र अनिश्चितता । कतै शव उठ्न सकेका छैनन्, कतै आफन्तको खोजीमा मानिसहरू जंगलका कुनाकाप्चा चहारिरहेका छन् । सुरुङभित्र कति मानिस छन् भन्ने यकिन छैन ।

सडक, पुल र सञ्चार विच्छेदले स्थानीय सरकार निरीह बनेको छ । काठमाडौंमा उद्धार भइरहेको खबर सुनिन्छ, तर रसुवाका धेरै बस्तीमा राज्यको उपस्थिति अझै प्रश्न बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले जोडतोडले उद्धार भइरहेको पोस्ट सामाजिक सञ्जालमा हाल्छन् तर रसुवाको अवस्था दर्दनाक छ ।

भोटेकोसीको पानी अझै उस्तै आवाजमा बगिरहेको छ।

नदीको किनारमा कतै भग्नावशेष छन्। कतै घरका अवशेष। कतै पानीले बगाएर ल्याएका सामग्री। र कतै शव।

गत बुधबारको बाढीपछि व्यवस्थापन हुन नसक्दा मानिस र जवानका शव सडेर दुर्गन्ध फैलिन थालेको छ।

भदौ १० गते बुधबार आएको भीषण बाढीले रसुवाको उत्तरी भेगलाई तहसनहस बनाएको छ। उत्तरगया, गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाका बस्तीहरूमा बाढीले सडक, पुल, विद्युत् र सञ्चार संरचना क्षतिग्रस्त बनाएको छ।

तर बाढी गएको दिनदेखि छैटौँ दिनसम्म आइपुग्दा पनि प्रभावित क्षेत्रका सबै ठाउँमा राज्यको उद्धार संयन्त्र पुग्न सकेको छैन।

स्थानीयका अनुसार कतिपय ठाउँमा मानिसहरू आफन्तको खोजीमा छन्। कतिपय घाइते छन्। कतिपय अचेत अवस्थामा कतै फसेका हुन सक्ने आशंका छ। तर उनीहरू कहाँ छन् भन्ने यकिन जानकारी छैन।

सरकारी संयन्त्रको पहुँच नपुगेका ठाउँका नागरिकका लागि सबैभन्दा ठूलो प्रश्न अहिले यही बनेको छ, ‘हामीलाई खोज्न को आउँछ ?’

टिमुरेभन्दा माथि के भइरहेको छ ?

रसुवाकी पत्रकार अनु आचार्यका अनुसार टिमुरेदेखि घट्टेखोला हुँदै रसुवागढीसम्मको क्षेत्रमा अहिले पनि धेरै मानिस सम्पर्कविहीन छन्।

उनले प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकप्टरबाट मानिस पठाएर ड्रोनमार्फत खोजी गर्नसमेत आग्रह गर्दा सम्बन्धित निकायबाट प्रभावकारी सुनुवाइ नभएको बताइन्।

उनको गुनासोमा एउटा पत्रकारको मात्र पीडा छैन। आफन्त गुमाएका परिवारको आशा र बेचैनी पनि छ।

‘टिमुरेदेखि माथि घट्टेखोला, रसुवागढीसम्मको सडक माथिको जंगलमा, कुनाकाप्ची र खोलाखोल्चीमा हेलिकप्टरबाट केही मान्छे झारेर ड्रोनबाट एकपटक हेरिदिनुस् भनेर सबैतिर हारगुहार गर्दा पनि केही भएन। सम्बन्धित निकायबाट जवाफ आउँछ, ‘सबैतिर खटिएका छन् म्याम, काम भइराखेको छ, त्यही क्षेत्रमा पुग्न सकिएन।’ जवाफ यस्तो आउँछ, अब के गरूँ ?’ आचार्यले भनेकी छन्।

उनका लागि यो प्रश्न व्यक्तिगत पनि हो। ‘मेरो भाइले मात्र होइन, यदि त्यस क्षेत्रमा कोही अड्कनुभएको छ, अचेत भएर लडिरहनुभएको छ भने उहाँले जीवन पाउनुहुनेथियो भन्ने आशा हो,’ उनले भनेकी छन्।

आचार्यका अनुसार टिमुरेभन्दा माथि घट्टेखोला र रसुवागढी क्षेत्रको अवस्थाबारे धेरै जना अझै बेखबर छन्।

‘त्यता भएका एक जना पनि सम्पर्कमा छैनन् भन्ने आएको छ। केही भिडियोहरू हेर्दा कहालिलाग्दो छ। आफन्तहरूको आशा न हो, न पो जीवितै भेट्न सकिन्छ। भागेर माथि जंगलतिर छन् रे, अचेत अवस्थामा छन् रे भन्छन्,’ उनले लेखेकी छन्।

उद्धार निकायले प्रमाण माग्ने गरेकोप्रति पनि उनको असन्तुष्टि छ। ‘सम्बन्धित निकायलाई, ‘लौ न, यस्तो जानकारी आयो, हजुर बुझिदिनुहोस् न’ भन्दा प्रमाण के छ ? प्रमाण चाहियो भन्नुहुन्छ। यदि यहीँ छ भन्ने देखेको भए ‘लौ न हजुर, हेरिदिनुस्, बुझिदिनुस्’ भन्दै हारगुहार किन गर्नुपर्थ्यो र ?’

उनको आग्रह छ, कम्तीमा एकपटक ती क्षेत्रमा राम्रोसँग खोजी गरियोस् र वास्तविक अवस्था सार्वजनिक गरियोस्।

‘बिन्ती छ, एकपटक यो क्षेत्रमा पनि राम्रोसँग हेरेर अवस्था यस्तो छ भनेर भनिदिनुहोस्। आशा लाग्छ हामीलाई आफ्नो मान्छेको अवस्था थाहा हुनेछ। अझै पनि आशा छ, मेरो भाइ फर्केर आउनेछ। यदि कसैले देख्नुभएको छ भने खबर गरिदिनुहोस्।’

‘रसुवाको ग्राउन्ड जिरोको वास्तविकता बाहिर आउन सकेको छैन’

रसुवाको अवस्था नजिकबाट बुझेकाहरूले अर्को चिन्ता पनि व्यक्त गरिरहेका छन्, त्यो हो सूचनाको अभाव।

एक स्थानीयबासी तथा हाइड्रो पावरका प्राविधिक विनोद थिङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई रसुवा पुग्न आग्रह गर्दै आएका छन्।

‘मैले अहिलेसम्म भेटेका सबै राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई रसुवा जानका लागि अनुरोध गरेको गरेकै छु। कोही गएको छैन। रसुवाको ग्राउन्ड जिरोको वास्तविकता बाहिर आउन सकेको छैन,’ उनले लेखेका छन्।

उनका शब्दमा, रसुवाको पीडा एउटा सामूहिक तथ्यांकले मात्र देखाउन सक्दैन।

‘प्रत्येक घरको आफ्नै कहानी छ। प्रत्येक रसुवाको आफ्नै पीडा छ।’

थिङले आफू २१६ हाइड्रोमा काम गरिसकेको र आयोजनाका विभिन्न संरचनाबारे जानकार रहेको उल्लेख गर्दै उद्धारमा आफ्नो अनुभव आवश्यक परे सहयोग गर्न तयार रहेको बताएका छन्।

‘मलाई हरेक कुना थाहा छ। राम्रो अनुमान लगाउन सक्छु। इन्टेक, डिस्यान्डर बेसिन, एचआरटी हुँदै पावरहाउस अनि आउटलेटसम्म सबै कुनामा अनुभव छ। यदि साँच्चै कोही २१६ हाइड्रोको अनुभवी चाहिएको हो भने खबर गर्नुहोस्। म तयार छु जानलाई।’

धुन्चेमा पुग्यो राहत, तर माथिल्लो क्षेत्रमा अझै प्रश्न

वैज्ञानिक समाजवादी पार्टी नेपालका नेता हिमांशुसहितको टोली अहिले धुन्चेमा छ।

उनले अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा ९ जना विदेशी नागरिकसहित ३०० भन्दा बढी मानिस फसेको खबर आएको दाबी गरेका छन्। तर, त्यहाँ उद्धारको ठोस प्रयास हुन नसकेको उनको भनाइ छ।

‘टिमुरे र स्याफ्रुबेँसीमा कति मानिस जीवित छन् भन्ने तथ्यांक कसैसँग छैन। गत बुधबार गएको बाढीपछि हिजो आइतबार बल्ल पाँच दिनपछि ती क्षेत्रहरूमा राहत पुगेको छ। यति धेरै दिन त्यहाँको स्थिति के भयो होला ? सोच्नसम्म सकिने अवस्था छैन,’ उनले भनेका छन्।

उनका अनुसार रसुवाको अवस्था सामान्य विपत्तिभन्दा धेरै गम्भीर छ।

‘विदेशी मिडियाहरू यहाँ छन्, तर नेपाली मिडियाको उपस्थिति शून्यप्रायः छ। जनप्रतिनिधिहरू हामीसामु आफ्नो निरीहता पोख्छन्। रसुवाको स्थिति अत्यन्तै भयावह छ। सबै क्षेत्रबाट प्रयास गरौँ। इतिहासकै ठूलो अपराध हुनबाट राज्यलाई रोकौँ।’

उनले अपर त्रिशूली क्षेत्रमा सयदेखि ५ सयसम्म मानिस पुरिएको हुन सक्ने आशंका व्यक्त गर्दै सरकारलाई तत्काल ठोस कदम चाल्न आग्रह गरेका छन्।

‘कसैको पनि जीवन ठूलो र सानो हुँदैन। प्रयास सबैतिर उद्धार हुनुपर्छ। कतै हुने र कतै नहुने भन्ने अपराध हो। प्रधानमन्त्रीको कार्यालयका मान्छे सोमबार यहाँ आएको खबर छ। तर ठोस कदम चालिएको छैन। ३ सयदेखि ५ सय मान्छे बचाउन सबैले काम गरौँ। उनीहरूको जीवन जाने गरी अपराध हुनबाट सरकारलाई रोकौँ।’

धुन्चेमा खाद्यान्नसमेत किन्न नपाइने अवस्था

विपत्तिको अर्को ठूलो असर अहिले खाद्य तथा अत्यावश्यक वस्तुको आपूर्तिमा देखिएको छ।

धुन्चेस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका कविराज प्रताप लामाका अनुसार पैसा तिरेर पनि खाद्यान्न किन्न नसकिने अवस्था सिर्जना भएको छ।

उनका अनुसार भाद्र १० गतेको बाढीले रसुवा प्रवेश गर्ने सबैजसो पुल बगाएपछि जिल्लामा खाद्यान्न ढुवानी प्रभावित भएको छ।

चामल, दाल, तेल, नुनसँगै खाना पकाउने ग्यास, पेट्रोल र तरकारीको अभाव देखिन थालेको उनको भनाइ छ।

‘एक–दुई दिनमा कुनै निकास नआएमा भयावह अवस्था हुन सक्छ,’ लामाले चेतावनी दिएका छन्।

यसको अर्थ बाढीको प्रत्यक्ष क्षतिबाट बाँचेकाहरूका लागि अर्को संकट सुरु भएको छ, त्यो हो बाँच्न आवश्यक सामग्रीको अभाव।

‘राहत बोकेर आउनेलाई एकद्वार भन्दै नरोकौँ’

रसुवा पुगेर अवस्थाको अवलोकन गरेका नेकपा एमालेका युवा नेता प्रकाश पौडेलले राहत वितरण व्यवस्थापनमा सरकारलाई फरक सुझाव दिएका छन्।

उनले राहत लिएर जाने व्यक्ति वा संस्थालाई एकद्वार प्रणालीका नाममा रोक्न नहुने बताएका छन्।

‘राहत बोकेर गइरहेको व्यक्ति अथवा संस्थालाई एकद्वार भनेर नरोक्नुस्। त्यसलाई व्यवस्थापन गर्न नाकाहरूमा रेकर्ड राख्ने व्यवस्था मिलाउनुस्। कुन स्थानीय तहमा लैजाने जानकारी राख्नुस्। धेरै कडा देखिएर फिल्डमा जनताले राहत पाउँदैनन् है,’ पौडेलले लेखेका छन्।

उनको यो भनाइ राहत वितरणमा देखिएको अर्को विरोधाभाससँग जोडिन्छ। कतै राहत बढी थुप्रिएको छ, कतै राहत पुग्न सकेको छैन।

‘रसुवाका हरेक घरमा आफ्नै कथा-व्यथा’

रसुवाको अवस्था काठमाडौंबाट सामाजिक सञ्जालमा देखिने केही भिडियो वा तस्बिरले मात्र बुझ्न नसकिने भन्दै पत्रकार र सम्पादकहरूलाई फिल्डमै पुग्न आग्रह गरिएको छ।

‘रसुवाका हरेक घरमा आफ्नै कथा र आफ्नै व्यथा छ। तर उहाँहरूले कहीँ पनि सुनाउन पाउनुभएको छैन। तपाईंहरूले अवस्थालाई काठमाडौंबाट मात्रै नहेर्नुस्। सबै मिडियाका सम्पादक र पत्रकार रसुवा आउनुस्। तपाईंहरू पीडितका कुरा सुन्न रसुवा आउनुस्,’ आग्रह गरिएको छ।

भोटेकोसी र त्रिशूलीको किनारमा बाढीले पुर्‍याएको क्षतिलाई शब्दमा मात्र समेट्न कठिन भएको उनीहरूको भनाइ छ।

‘मानव जीवनमा योभन्दा ठूलो र अप्ठ्यारो विपत्ति देख्न सकिँदैन। भोटेकोसी र त्रिशूलीको किनारमा मानव समाजको अन्त्य भएको छ। त्यहाँ फर्किएर उहाँहरू जाने अवस्था छैन।’

त्यसैले सरकार र सञ्चारमाध्यम दुवैलाई फिल्डमा पुग्न आग्रह गरिएको छ।

‘सरकार र मिडिया यहाँ आइदिनुस्। तपाईंहरू यहाँ आएर रसुवाबासीको व्यथा सुनिदिनुस्। तपाईंहरू आफैँ सडकबाट आइदिनुस्, रसुवाको व्यथा सुनिदिनुस्।’

कालिकावडाध्यक्षको आक्रोश : ‘हामी केही गर्न नसक्ने अवस्थामा पुग्यौँ’

रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्ष सन्दीप पौडेलले सामाजिक सञ्जालमार्फत सरकारसँग कडा अपिल गरेका छन्।

उनले आफू वडा अध्यक्ष भएर पनि सीमित साधनका कारण प्रभावित नागरिकलाई आवश्यक सहयोग गर्न नसकिरहेको बताएका छन्।

‘म आफैँ वडा अध्यक्ष हुँ। केही गर्न नसक्ने अवस्थामा पुगेको छु। दिनदिनै जिउँदै मरेको जस्तो महसुस गरिरहेको छु। हाम्रो बसमा केही छैन, न एम्बुलेन्स, न गाडी, न पर्याप्त स्वास्थ्य सुविधा।’

उनका अनुसार जिबजिबे ग्रामीण अस्पतालमा गम्भीर हृदयाघातका बिरामी आएका छन्। तत्काल उच्चस्तरीय हृदयरोग केन्द्रमा रेफर गर्नुपर्ने अवस्था भए पनि भौगोलिक कठिनाइका कारण हेलिकप्टरबाट उद्धार गर्नुपर्ने अवस्था रहेको उनले बताएका छन्।

उनले सरकार, प्रदेश सरकार र सम्बन्धित निकायसँग तत्काल हेलिकप्टर उद्धार, पर्याप्त एम्बुलेन्स तथा आपत्कालीन सवारीसाधन, अस्पतालको स्तरोन्नति, वैकल्पिक सडक निर्माण र स्थायी स्वास्थ्य आपत्कालीन उद्धार प्रणालीको माग गरेका छन्।

उनको अपिलको सार एउटै छ, ‘बाँचेका थप रसुवालीलाई मर्न नदिनुस्।’

सुरुङभित्र फसेकाहरूको चिन्ता

रसुवाको विपत्तिको सबैभन्दा जटिल अध्याय जलविद्युत् आयोजनाका सुरुङसँग जोडिएको छ।

भोटेकोसी तथा त्रिशूली करिडोरका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत मानिसहरू सुरुङभित्र फसेको आशंका छ। कतिपय आयोजनामा नेपाली सेनासहितका उद्धार टोलीले प्रवेश गरी खोजी गरिरहेका छन्। तर केही क्षेत्रमा सुरुङको प्रवेशद्वार नै पहिचान गर्न कठिन भएको छ।

यही कारण सुरुङभित्र कति मानिस छन्, उनीहरू कुन अवस्थामा छन् र उनीहरूलाई कसरी निकाल्ने भन्ने प्रश्न अझै अनुत्तरित छ।

स्थानीयको माग छ, नेपालसँग उपलब्ध जनशक्ति र प्रविधिले मात्र सम्भव नभए विदेशी विज्ञ तथा अत्याधुनिक प्रविधिको सहयोग लिन ढिला गर्नु हुँदैन।

उनीहरूको तर्क सरल छ, उद्धारमा लाग्ने समय नै अहिले जीवन र मृत्युबीचको दूरी हो।

‘सुरक्षा फौजमा नखेलौँ’

बेत्रावती बजारसम्म पुगेर राहत तथा उद्धार अभियानको अवस्था नियालेका पत्रकार प्रकाश डुम्रेले पनि प्रभावित क्षेत्रमा थप सुरक्षा जनशक्ति पठाउन आग्रह गरेका छन्।

‘नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको फोर्स रसुवाका विभिन्न बाढी प्रभावित ठाउँमा पठाउन ढिला नगरौँ। अहिले भइरहेको फोर्सले मात्र थेग्ने अवस्था देखिँदैन। संकटको घडीमा सुरक्षा फोर्समा नखेलौँ,’ उनले लेखेका छन्।

डुम्रेका अनुसार सामाजिक सञ्जालमा देखिने रसुवाको दृश्य र वास्तविक अवस्था निकै फरक छ।

‘रसुवाका बाढीपीडितको रोदन र चित्कार फेसबुकमा आएको जस्तो सहज, ठीकठाक होइन र छैन।’

कतिपय ठाउँमा हेलिकप्टरबाहेक राहत लैजान सम्भव नभएको, नदी किनारमा शवहरू अलपत्र रहेको र जोखिम कायमै रहेको उनले उल्लेख गरेका छन्।

‘नदी किनारमा शवहरू अस्तव्यस्त छन्, तर नदीको जोखिम कायमै छ। शव चिनेका आफन्तहरूले समेत शव व्यवस्थापन गर्न जनशक्ति छैन।’

उनका अनुसार केही घाइतेलाई हेलिकप्टरबाट उद्धार गरिएको भए पनि सुरुङमा फसेकाहरूको उद्धार तत्कालका लागि सफल हुन सकेको छैन।

राहतसँगै मनोपरामर्शको पनि खाँचो

विपत्तिबाट बाँचेकाहरूको शारीरिक उद्धार जति आवश्यक छ, उनीहरूको मानसिक अवस्थाको व्यवस्थापन पनि उत्तिकै आवश्यक देखिएको छ।

डुम्रेका अनुसार प्रभावित नागरिकहरू अत्यन्तै हतास र अतालिएका छन्। कतिपय आफ्ना आफन्तको अवस्थाबारे थाहा नपाएर मुर्छितजस्तै छन्। कतिपयले ‘बचाऊ, बचाऊ’ भन्दै गरेको बेला बाढीको भेलले आफन्तलाई बगाएको दृश्य सम्झिएर भक्कानिइरहेका छन्।

त्यसैले चिकित्सकसँगै मनोपरामर्शदाता र काउन्सिलिङ गर्न सक्ने स्वास्थ्यकर्मीको टोलीसमेत प्रभावित क्षेत्रमा खटाउनुपर्ने उनको सुझाव छ।

कतै राहत थुप्रिएको छ, कतै केही पुगेको छैन

बाढी प्रभावित क्षेत्रमा राहत वितरणको अवस्था पनि समान छैन।

डुम्रेका अनुसार कतिपय ठाउँमा राहत बढी जम्मा भएको छ भने केही ठाउँमा अझै राहत पुगेको छैन। स्थलमार्गबाट राहत लैजाने प्रयास भइरहेको भए पनि सडकको अवस्था अत्यन्तै कठिन र जोखिमपूर्ण छ।

कतिपय स्थानीय तहले स्काभेटर र डोजर व्यवस्थापन गरेका छन्। तर वर्षा भइरहेकाले सडक पुनः अवरुद्ध हुने समस्या कायमै छ।

यसले उद्धार र राहत दुवैलाई कठिन बनाइरहेको छ।

नदीपारिको अवस्था थाहा छैन

रसुवामा अहिले एउटा नदीले दुई भूगोल मात्र होइन, दुई संसारजस्तै बनाइदिएको छ।

नदीको वारिपारिको अवस्था स्थानीयले समेत थाहा पाउन नसक्ने अवस्था छ। बाढीले क्षतिग्रस्त भएका कतिपय घरभित्र जान सकिने अवस्था छैन। ती घरभित्र कोही छन् कि छैनन्, शव छन् कि छैनन्, अझै अन्योल छ।

स्थानीयहरूका अनुसार सयौँ मानिस बेपत्ता भएको आशंका छ। केही विद्यालयका विद्यार्थी र हजारौँ स्थानीय सम्पर्कविहीन भएको दाबीसमेत गरिएको छ।

यी सबै दाबीको यकिन तथ्यांक आउन सकेको छैन। यही नै अहिलेको अर्को ठूलो समस्या हो।

तथ्यांक छैन। सम्पर्क छैन। बाटो छैन। र धेरै ठाउँमा राज्यको प्रत्यक्ष पहुँच पनि छैन।

सरकारलाई खबरदारी पनि, आग्रह पनि

बाढी प्रभावित क्षेत्रमा सरकारी संयन्त्रले कुनै काम नै नगरेको भन्नु पनि पूर्ण सत्य नहुन सक्छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय तहका जनप्रतिनिधि र स्वयंसेवकहरू आ–आफ्नो क्षमताले काम गरिरहेका छन्।

तर विपत्तिको आकार त्यसको तुलनामा धेरै ठूलो देखिएको छ।

त्यसैले अहिलेको आवश्यकता आरोप–प्रत्यारोपभन्दा ठूलो प्रयास हो।

प्रकाश डुम्रेको आग्रह पनि यही छ, सरकारलाई खबरदारी गरौँ, ध्यानाकर्षण गराऔँ र सकेसम्म सहयोग पनि गरौँ।

‘यो विपत्ति मेरो र मेरो परिवारलाई परेको हो भनेर सोचिदिनुस्। रसुवा, नुवाकोटका बस्तीमा रोइरहेको चित्कार र बेदनालाई राजनीतिक आँखाले नहेर्नुस्।’

उनले सामाजिक सञ्जालमा देखिएको सूचना र वास्तविक अवस्थाबीच ठूलो अन्तर रहेको भन्दै संवेदनशील हुन आग्रह गरेका छन्।

‘हामीले फेसबुकमा देखेको रसुवाको अवस्था र वास्तविक रसुवाको पीडा बेग्लै छ।’

अहिले रसुवालाई के चाहिएको छ ?

स्थानीयको आवाज र फिल्डमा पुगेकाहरूको अनुभवलाई जोड्दा रसुवालाई अहिले एउटै कुरा होइन, एकैपटक धेरै कुराको आवश्यकता छ।

तत्काल खोज तथा उद्धार।

सुरुङमा फसेकाहरूको यकिन खोजी।

आवश्यक परे विदेशी विज्ञ र प्रविधिको प्रयोग।

पर्याप्त सुरक्षा जनशक्ति।

हेलिकप्टर तथा एम्बुलेन्ससहितको आपत्कालीन स्वास्थ्य सेवा।

शव व्यवस्थापनका लागि थप जनशक्ति।

खाद्यान्न, ग्यास, औषधि र इन्धनको नियमित आपूर्ति।

अवरुद्ध सडक र पुलको तत्काल वैकल्पिक व्यवस्था।

बाँचेकाहरूका लागि सुरक्षित बासस्थान र मनोपरामर्श।

र सबैभन्दा महत्वपूर्ण, संघीय, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय।

अहिले भोटेकोसी सुसाइरहेको छ। आकाशमा हेलिकप्टरहरू उडिरहेका छन्। नदी किनारमा दुर्गन्ध फैलिएको छ। कतै उद्धारको प्रतीक्षा छ, कतै आफन्तको खोजी।

रसुवाको पीडा सामाजिक सञ्जालमा केही सेकेन्डको भिडियो बनेर सकिने खालको छैन।

त्यहाँ प्रत्येक घरको आफ्नै कथा छ। प्रत्येक परिवारको आफ्नै व्यथा छ। कसैको घर बगेको छ, कसैको आफन्त हराएको छ, कसैको जीविकोपार्जन सकिएको छ र कसैको आशा अझै सुरुङभित्र अड्किएको छ।

यतिबेला रसुवालाई भाषणभन्दा उपस्थिति चाहिएको छ।

आश्वासनभन्दा उद्धार चाहिएको छ।

र सबैभन्दा बढी, राज्यले आफू उनीहरूसँगै छ भन्ने अनुभूति दिनुपर्ने बेला हो।

भोटेकोसी र त्रिशूलीको किनारमा अहिले पनि प्रश्न उस्तै छ : ‘हामीलाई बचाउन को आउँछ ?’

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ५ : १४ बजे

भोटेकोशी बाढीपीडितका लागि आईएमई ग्रुपको १० करोड सहयोग

काठमाडौं– आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित

चीन, इरान र रूससहितका नेता एससीओ शिखर सम्मेलनका लागि किर्गिस्तानमा

किर्गिस्तान– चीनका राष्ट्रपति सी जिनपिङ र इरानका राष्ट्रपति मसूद पेजेस्कियान

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

जनताले विश्वास गरेर सरकारको कोषमा पैसा हाले, छिटो निकासा गरौं : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राहत तथा उद्धार कोषमा जम्मा भएको

बाढी प्रभावित क्षेत्रमा अवरुद्ध टेलिफोन सेवा सञ्चालन

काठमाडौं– भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ