टोकियो- जापानको रक्षा मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ८.९ ट्रिलियन येन (करिब ५५.६ अर्ब अमेरिकी डलर) बराबरको रक्षा बजेट माग गरेको छ।
बढ्दो सुरक्षा चुनौतीबीच निर्णय प्रक्रिया तीव्र बनाउन जापानले कृत्रिम बुद्धिमत्ता (एआई), ड्रोन र अत्याधुनिक क्षेप्यास्त्र प्रणालीको विकासमा जोड दिएको हो।
जापानी सञ्चारमाध्यमका अनुसार बजेटको अन्तिम आकार १० ट्रिलियन येनसम्म पुग्न सक्ने अनुमान गरिएको छ। चीन, उत्तर कोरिया र रूसबाट बढ्दो सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै जापानले आफ्नो रक्षा क्षमताको व्यापक स्तरोन्नति गरिरहेको छ।
रक्षा मन्त्रालयको नयाँ बजेट प्रस्तावमा एआई, ड्रोन तथा लामो दूरीका ‘स्ट्यान्डअफ’ क्षेप्यास्त्रजस्ता आधुनिक युद्ध प्रविधिको विकासलाई प्राथमिकता दिइएको छ। मन्त्रालयले एआईमा आधारित निर्णय सहयोग प्रणाली सञ्चालनमा ल्याउने योजना बनाएको छ।
त्यस्तै, कम लागतमा ठूलो सङ्ख्यामा ड्रोन खरिद गर्ने योजना पनि प्रस्ताव गरिएको छ। ती ड्रोनलाई लामो दूरीका क्षेप्यास्त्रसँग संयोजन गरी सम्भावित शत्रुका सैन्य संरचना तथा अन्य रणनीतिक सम्पत्ति निष्क्रिय पार्न प्रयोग गर्ने जापानको योजना छ।
मन्त्रालयले पानीमुनिबाट प्रक्षेपण गर्न सकिने हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्ने तथा ‘संज्ञानात्मक युद्ध’ विरुद्ध प्रतिरक्षा क्षमता सुदृढ गर्न नयाँ इकाइ स्थापना गर्ने योजना पनि अघि सारेको छ। गलत सूचना तथा प्रचार अभियानमार्फत जनमत प्रभावित पार्ने गतिविधिलाई संज्ञानात्मक युद्धका रूपमा लिइन्छ।
सन् २०२७ अप्रिलदेखि सुरु हुने आर्थिक वर्षका लागि प्रस्ताव गरिएको बजेट जापानले बदलिँदो भूराजनीतिक परिस्थितिअनुसार आफ्नो सैन्य क्षमता विस्तार गरिरहेको पछिल्लो संकेत हो। जापानले परम्परागत रूपमा आत्मरक्षाका लागि मात्र सैन्य शक्ति प्रयोग गर्ने नीतिमा जोड दिँदै आएको भए पनि पछिल्ला वर्षमा उसको रक्षा नीति थप सक्रिय बन्दै गएको छ।
चीनको तीव्र सैन्य विस्तार तथा उत्तर कोरियाको क्षेप्यास्त्र र आणविक हतियार कार्यक्रमले जापानको सुरक्षा चिन्ता बढाएको छ। युक्रेनमा रूसको युद्धपछि पूर्वी एसियामा पनि सम्भावित सैन्य द्वन्द्वको जोखिमप्रति जापानी नीति निर्माताहरू थप सचेत भएका छन्।












प्रतिक्रिया