काठमाडौँ– कृषि विभागले ‘अर्नब’ चक्रवातका कारण मौसम प्रतिकूल बनेपछि किसानलाई धानबाली नकाट्न र खेतबारीमा जमेको पानी निकास गर्न आग्रह गरेको छ ।
विभागले धानबाली, फलफूलका बगैँचा, नर्सरी, तरकारी तथा उखुबाली लगाइएका जमिनमा पानी जम्न नदिन आवश्यक निकासको व्यवस्था गर्न किसानलाई अनुरोध गरेको हो ।
विकसित भइरहेको चक्रवातका कारण मौसममा आएको फेरबदललाई ध्यानमा राख्दै विभागले वर्षातको अवधिभर पशुचौपायालाई ओसारपसार नगर्न पनि आग्रह गरेको छ ।
कृषि सञ्चार तथा मानव संशाधन विकास केन्द्रसँगको समन्वयमा राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रमार्फत किसानलाई सचेत गराइएको विभागले जनाएको छ । प्रतिकूल मौसमका कारण खाद्यबालीमा हुन सक्ने क्षति न्यूनीकरण गर्न बाली नकाट्न तथा भण्डारण नगर्न सूचनासहितको एसएमएस किसानलाई पठाइएको विभागले जनाएको छ ।
विभागका अनुसार बिहीबारदेखि मौसममा आएको फेरबदलका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । केही स्थानमा आइतबारसम्म भारी वर्षा हुने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागको विश्लेषणका आधारमा कृषि विभागले नकाटेको धान मौसम सफा भई वर्षा रोकिएको तीनदेखि चार दिनपछि मात्र मौसमको अवस्था हेरेर काट्न सुझाव दिएको छ ।
यसैगरी, किसानलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै सातवटै प्रदेशका सम्बन्धित मन्त्रालयलाई पत्राचार गरिएको छ । स्थानीय तहका संयन्त्रमार्फत किसानसम्म सूचना पुर्याउन पनि निर्देशन दिइएको विभागले जनाएको छ ।














प्रतिक्रिया