काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेलले यसपटकको जित सुनिश्चित भएको दाबी गरेकी छिन् । काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार उनी गत चुनावमा रास्वपा नेता सोविता गौतमसँग झिनो मतान्तरले पराजित भएकी थिइन् ।
दुई दशकदेखि जनताको सुखदुखको साक्षी र सारथी भएका कारणले पनि यसपटक आफूले चुनाव जित्ने वातावरण बनेको उनको भनाइ छ । अघिल्लो निर्वाचनमा पराजय बेहोरे पनि निरन्तर जनतासँगै सक्रिय रहँदै आएको उल्लेख गर्दै पोखरेलले यसपटक अघिल्लो नतिजा उल्टिने विश्वास व्यक्त गरेकी छन् ।
युवा उद्यमी समेत रहेकी उनी एक दशकदेखि राप्रपाको राजनीतिमा सक्रिय छिन् । राप्रपाको एकता महाधिवेशनमा सबैभन्दा धेरै मत प्राप्त गरेकी थिइन् । साथै, उनी सामाजिक काम र महिला हिंसा विरुद्धका अभियानमा सक्रिय छिन् । उनी राष्ट्रिय गैरसरकारी संस्था समन्वय विभागको अध्यक्ष पनि हुन् ।
यस क्षेत्र अन्तर्गतको प्रदेशसभा निर्वाचनमा राप्रपाले जित हासिल गरिसकेको छ भने शंखरापुर नगरपालिका पनि राप्रपाको नेतृत्वमा रहेको छ । हिन्दु राजतन्त्रात्मक शासन व्यवस्था फर्काउने राप्रपाको दीर्घकालीन एजेन्डालाई खुलस्त पार्दै उनी चुनावी दौडमा छिन् ।
घरदैलो कार्यक्रम कस्तो भइरहेको छ ?
चुनावी घरदैलो मात्रै गरेर बसिरहेको छैन,२०७९ मा चुनाव हारेदेखि नै घरदैलो कार्यक्रमै छु । जनताका समस्या कसरी समाधान गर्न सकिन्छ भनेर विभिन्न समिति, स्थानीय तह र जनतासँग प्रत्यक्ष छलफल गरिरहेको छु ।
मतदाताहरूले चुनाव हारेर पनि फेरि तपाईँ नै आउनुभयो ? भनेर सोध्नुभएको छ । साथै मेरो पुनः उम्मेदवारी देखेर खुसी पनि हुनुभएको छ । अब पक्का भोट हाल्छौ, अरुलाई हालेर पछुताएका छौं भन्नुभएको छ । अब पार्टी हेरेर होइन, काम गर्ने मान्छेलाई भोट हाल्छौं भन्नुभएको छ । मतदाताको प्रतिक्रिया अधिकांश सकारात्मक पाएको छु । साथै, चुनाव जित्छु भन्नेमा यसपटक आफैं पनि विश्वस्त छु ।
जनताका के के अपेक्षा रहेका छन् ?
शंखरापुरमाथि नाङ्लेभारेदेखि लिएर विभिन्न ठाउँमा बाटोको समस्या छ । अर्को केही भागमा मुख्य समस्या पानी पनि रहेको छ । पानी उम्रिरहेको छ, तर ट्याङकीहरुको व्यवस्थापन नहुँदा र पाइपलाइनहरू नबिछ्याइदिँदा सर्वसुलभ हुन सकिरहेको छैन ।
बाटो बनिरहेको छ तर भित्री बाटोहरु कच्ची छन् । काठमाडौं राजधानीका जनता बाटोको समस्यामा छन् भन्दा नपत्याउलान् भन्ने छ । तर भएको समस्याको बारेमा बोल्नैपर्यो । जसको कारण आमजनताले कष्ट भोग्नुपरेको छ ।
हिजो माथितिर जाँदै थिएँ, गाडी धकेलेर जानुपर्यो । अवस्था यस्तो नाजुक छ । पहिलेदेखि हरेक महिना दुईचार पटक जाँदै गरेको छु । बाटोको लागि ४० करोड बजेट छुट्याइएको छ ।
त्यसैगरी नगरपालिकामा एम्बुलेन्सको संख्या अत्यन्त कम छ । बिरामी हुँदा इमरजेन्सी एम्बुलेन्स प्राप्त गर्ने स्थिति छैन । कुर्नुपर्ने वा पर्खिनुपर्ने अवस्था आफैँमा लज्जाजनक छ । आधा देखि एक घण्टासम्म एम्बुलेन्स नआउँदा बिरामीको ज्यान जाने अवस्थाका बारेमा नागरिकले गुनासो गर्नुभएको छ । धेरै प्रयासमा एउटा एम्बुलेन्स व्यवस्था गरिदिएको छु शंखरापुरमा ।
अर्को युवा बेरोजगारी देशैभरको समस्याको रुपमा रहेको छ । शंखरापुरमा पनि अवस्था त्यही छ । अत्यन्त पर्यटन व्यवसायको सम्भावना भएको क्षेत्रका युवाहरु बेरोजगार हुनु भनेको हाम्रो दुर्भाग्य हो । यहाँबाट हिमालहरू देखिन्छन् । साली नदीको मेला अहिले चलिरहेको छ । भारतदेखि विश्वभरका हिन्दुहरू त्यहाँ ल्याउन सकिन्थ्यो । भारतमा कुम्भमेला विश्वभर चर्चित भयो । त्यसरी नै हामीले साली नदीको प्रचार गर्नुपर्थ्यो ।
स्वस्थानी माताको दर्शन सँगै साली नदीको स्नानको बारेमा चर्चा गर्नुपर्ने थियो । यस क्षेत्रको महत्व बुझेर काम गर्ने नेताको असाध्यै अभाव छ । यस क्षेत्रमा हरेकपटक सांसद् फरक–फरक चुनिएका छन् । पहिले निर्वाचन जितेको नेता दोस्रोपटक उम्मेदवारी दिँदैनन् । जनता सँधै ठगिएका छन् । यो भन्दा अगाडि पनि रास्वपाबाट अत्यधिक मतसहित विजय प्राप्त सांसद् अहिले अर्को निर्वाचन क्षेत्रमा चुनाव लड्न जानुभएको छ ।
यहि बसेर आफ्नो क्षेत्रको विकास र जनताको सुखदुःखका काम लाग्ने नेता यो क्षेत्रले पाएका छैनन् । उनीहरु गुनासो र प्रश्न सुन्ने नेता पाएका छैनन् । नयाँ संसद्बाट आश गर्नुहुन्छ र हरेक पटक निराशाबाहेक जनतालाई केही छैन ।
चुनाव जितेर मतदान गर्ने जनताको पक्षमा नेताहरू नबस्ने प्रचलन यस क्षेत्रमा विद्यमान छ । जुन अत्यन्त घातक हो । स्थानीयदेखि म आफैँले भोगेको समस्या यही हो । तीन वर्षमा म प्रत्येक घरघर पुगे । केन्द्रमा पुगेर यहाँको समस्या उजागर गर्ने र आवाज उठाउने नेता अहिलेसम्म भेटिएकै छैन ।
पर्यटन क्षेत्रको प्रवर्द्धन कसरी गर्ने ?खाका कस्तो छ तपाईसँग ?
काठमाडौंको यो छेउ विकासको अभावमा ओझेलमा परेको छ । धार्मिक पर्यटक र कृषिमा राम्रो काम गर्न सकिने क्षेत्र हो । नगरकोटभन्दा कम सुन्दर ठाउँ होइन । नगरकोट घुम्न जाने गन्तव्यको रुपमा चिरपरिचित हुनु तर शंखरापुर कसैले नचिन्नु दुर्भाग्य हो । त्यो यहाँका नेताहरूको कमीकमजोरीले भएको हो ।
यहाँ स्थानीय तहसँगै छलफल गरेको छु । मेयरदेखि वडाअध्यक्षहरूसँग साँखु क्षेत्रको मन्दिरको प्रचारप्रसार गर्ने खाका बनाइरहेका छौँ । नाङग्लेभारा र कात्तिकेमा पाँचतारे होटलहरू खोल्नुपर्छ । लगानी भित्र्याउन सकिन्छ । योजनाबद्ध रुपमा काम गर्नेछौ । यदि जनताले पाँच वर्षको लागि संसद्मा पठाउनुभएमा यी सबै कामहरू गरेर देखाउनेछु ।
यो क्षेत्रका कुनैपनि युवाले बेरोजगार बस्नुपर्ने छैन । साली नदीदेखि माथि गुम्बासम्म धार्मिक र पर्यटकीय क्षेत्र हो । यहाँबाट सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ । साँखुमाथि पुगेपछि पुरै खाली जग्गाहरू छन् । एकजना व्यक्तिकै सय डेढसय रोपनी जमिन छ । कृषिसम्बन्धी अनुसन्धान गरेर त्यो जमिनमा अधिकतम लाभ लिन सकिन्छ । के फल्छ ? के रोप्न सकिन्छ ?अध्ययन गर्नुपर्छ ।
सडकमा बसेर पनि यस क्षेत्रको विकासको लागि काम गरिरहेको छु । अब संसद्मै पुगेर आवाज पुर्याउँछु । मन्त्रालयबाट केन्द्रीय बजेट भित्र्याउने काम गर्छु । विदेशी लगानी पनि भित्र्याउने गरी काम गर्ने प्रतिवद्धता लिएको छ ।
भौतिक विकाससँगसँगै त्यहाँको सामाजिक समन्वयको लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हक अधिकार सुरक्षित गर्ने काम गर्छु । ज्येष्ठ नागरिकहरूका लागि सामुदायिक भवन निर्माण, खाली जग्गाहरूमा कसरत गर्ने स्थान तोक्छु ।
साथै, व्यक्तिगत रुपमा आफैं पनि धार्मिक व्यक्ति भएकाले ध्यान र योग गर्ने स्थलको निर्माण गर्छु ।
यी योजना पुरा गर्न चुनाव जोत्नुपर्यो । पहिलेको निर्वाचनमा तेस्रो भएको पार्टी हो । यसपटक चुनाव जित्ने आधार के हो ?
यस क्षेत्रमा सांसद् कोही दोहोरिएका छैनन् । यस क्षेत्रका मतदाता करिब सबै नै शिक्षित हुनुहुन्छ । यसले गरेन, अर्को नेता ल्याउ । त्यसले पनि गरेन अर्कोलाई ल्याउ भन्दै सांसद फेरिएको फेरियै छन् ।
काठमाडौं जस्तो राजधानी यसै विकट भएको होइन । नेताहरू चुनाव जितेर गयो । फर्केर कामै नगर्ने । बजेट ल्याउन नसक्ने । यहाँको सम्भावना अध्ययन नगर्ने भएकाले हो ।
बाटो बनाउँदा नगरपालिकामा ताल्चा लगाउनुपरेको थियो । मत चुनाव हार्दा पनि जनताकै काममा लागिरहेको छु । दुई दशदेखि यस क्षेत्रको जनताको सुखदुखको साक्षी र सारथी हुँ । सांसद्ले नीति नियम बनाउने मात्रै हो भन्नुहुन्छ । तर सांसद्ले बजेट ल्याउने पनि हो–आफ्नो क्षेत्रमा । बाटोमा आएको बजेट, बाटोमा काम भइरहेको छ कि छैन ? विकास निर्माणका काम के–कति भएका छन् ? सांसद्ले अवलोकन गर्नुपर्छ । निगरानी राख्नुपर्छ ।












प्रतिक्रिया