काठमाडौंमा ‘कर्मा समूह’को लुटपाट आतंक अन्त्य, नाइकेसहित पाँचजना समातिए « Khabarhub

काठमाडौंमा ‘कर्मा समूह’को लुटपाट आतंक अन्त्य, नाइकेसहित पाँचजना समातिए


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजधानी उपत्यकामा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा अन्य बहुमूल्य गरगहना लुटपाट गर्दै आएको ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गर्दै महिला र वृद्धालाई लक्षित गरी लुटपाट गर्ने समूहलाई पक्राउ गरिएको जानकारी दिएको हो।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा उपत्यकामा भइरहेका सिक्री लुटपाटका घटनामा आपराधिक पृष्ठभूमि भएको ‘कर्मा समूह’ सक्रिय रहेको खुलेको थियो । त्यसपछि समूहका सदस्यहरूको खोजी सुरु गरिएको थियो।

खोजतलासका क्रममा काठमाडौंका कोटेश्वर, नयाँ बानेश्वर, टोखा र बनेपामा भएका लुटपाट घटनामा प्रत्यक्ष संलग्न चार जनालाई बनेपाबाट पक्राउ गरिएको थियो।

थप अनुसन्धानपछि समूहका नाइके सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-४ घर भई हाल काठमाडौंको बौद्ध बस्दै आएका ३४ वर्षीय कर्मा तामाङलाई शनिबार राति काठमाडौंको बूढानीलकण्ठ–१३, चुनिखेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ गर्ने क्रममा कर्मा तामाङले साथमा रहेको खुकुरी प्रहार गरी प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए। चेतावनीस्वरूप दुई राउण्ड हवाई फायर गर्दा पनि मोटरसाइकलमा भाग्न खोजेपछि घुँडामुनि एक राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिइएको छ। घाइते तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

घटनास्थलबाट प्रहरीले एउटा मोटरसाइकल, एउटा खुकुरी, पाँच थान नम्बर प्लेट तथा मोटरसाइकल चोरी गर्न प्रयोग हुने टी–लक, मास्टर कीलगायतका सामग्री बरामद गरेको छ।

यसरी हुन्थ्यो लुटपाट

प्रहरीका अनुसार समूहले महिला तथा वृद्धाको गतिविधि निगरानी गरी उनीहरूलाई निशाना बनाउने गरेको थियो। प्रतिकार गरे घाँटी थिच्ने, लछारपछार गर्ने तथा कुटपिट गरी सुनका सिक्री र गरगहना लुट्ने शैली अपनाएको खुलेको छ।

समूहले मुख्य रूपमा २२० सीसीका पल्सर मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गरेर लुटपाटमा प्रयोग गर्ने र घटना सम्पन्न भएपछि पुनः नम्बर प्लेट तथा स्वरूप परिवर्तन गरी उपत्यकाबाहिर सस्तो मूल्यमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

विभिन्न घटनामा संलग्न

प्रहरीका अनुसार समूह शान्तिनगर, नरेफाँट, धुलिखेल–बनेपा तथा धापासीलगायत स्थानमा भएका सिक्री लुटपाटका घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

ती घटनामा पीडितलाई बाटो सोध्ने बहानामा रोक्ने, पछाडिबाट आक्रमण गर्ने र सुनका सिक्री लुटेर मोटरसाइकलमा फरार हुने शैली अपनाइएको थियो।

यो प्रकरणमा पक्राउ पर्नेमा समूहका नाइके कर्मा तामाङ, प्रतिमान गोले, पासाङ घिसिङ, आले गुरुङ र सुन व्यवसायी मनोज तामाङ रहेका छन्।

प्रहरीका अनुसार प्रतिमान गोले डाँका तथा चोरी मुद्दाका अभियुक्त हुन् भने पासाङ घिसिङ काठमाडौं उपत्यकामा २० भन्दा बढी मोटरसाइकल चोरीमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मनोज तामाङले लुटिएका सुनका गरगहना गलाएर स्वरूप परिवर्तन गरी बिक्री गर्ने काम गर्ने गरेको आरोप छ।

प्रहरीले कर्मा तामाङ यसअघि पनि चोरी तथा डाँका सम्बन्धी विभिन्न मुद्दामा पक्राउ परेका र प्रहरी हिरासतबाट फरार भएपछि पुनः सिक्री लुटपाटमा सक्रिय भएको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ३ : ५५ बजे

सुस्तामा फेरि पस्यो ठूलो संख्याामा भारतीय फौज, नेपाली भूमिमा बनिरहेको बाँध भत्काइदियो

बुटवल- पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)

स्रोत नखुलेको भारतीय रकमसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ

तोडफोड र आगजनीपछि सिरहा गोलबजारको अवस्था

काठमाडौं– सुनसरी घटनापछि मधेशका विभिन्न जिल्लामा उत्पन्न तनाव साउन १४

सुशासनलाई सुदृढ बनाउन अग्रजको आदर्शलाई आत्मसात् गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ

श्रीलङ्काली जेलमा दङ्गा

कोलम्बो- क्षमताभन्दा बढी कैदीबन्दी रहेको एक जेलमा भएको दङ्गा नियन्त्रण