काठमाडौं- नेपाली कांग्रेसले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन रणनीतिक परिचालन टोली गठन गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा तीन दिनसम्म सञ्चालन गरिएको पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी प्रशिक्षण कार्यक्रमको समापन समारोहमा पार्टीका उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले ४० सदस्यीय रणनीतिक परिचालन टोली गठन गरिएको घोषणा गरेका हुन् ।
प्रशिक्षणमा सहभागी ४० युवालाई समेटेर गठन गरिएको टोलीले विपद्का समयमा उद्धार, समन्वय तथा राहत व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति शर्माले तीन दिने प्रशिक्षणलाई केवल सुरुवातका रूपमा लिन आग्रह गर्दै अबको यात्रा विपद्मा परेका नागरिकको जीवन बचाउने र समुदायमा सेवा पुर्याउने दीर्घकालीन अभियान भएको बताए।
उनले नेपाली कांग्रेसले देशभर विपद् व्यवस्थापनका लागि करिब एक हजार दक्ष स्वयंसेवक जनशक्ति तयार गर्ने लक्ष्य राखेको जानकारी पनि दिए ।
उपसभापति शर्माले कांग्रेस समाज र राष्ट्रप्रति उत्तरदायी राजनीतिक शक्तिका रूपमा विपद्को समयमा नागरिकको साथमा उभिन सदैव प्रतिबद्ध रहेको उल्लेख गरे।
तीन दिने प्रशिक्षणमा संयुक्त राष्ट्रसंघ (यूएन) तथा अन्तर्राष्ट्रिय रेडक्रससँग आबद्ध अनुभवी विज्ञहरूले विपद् पूर्वतयारी, उद्धार, प्रतिकार्य र समन्वयका विभिन्न पक्षबारे सहभागीलाई व्यावहारिक तथा सैद्धान्तिक प्रशिक्षण प्रदान गरेका थिए।












प्रतिक्रिया