युरोपमा ‘नेपाल टेक रोडशो २०२६’ आयोजना हुँदै, नेपाली आईटी कम्पनीलाई विश्व बजारसँग जोड्ने लक्ष्य « Khabarhub

युरोपमा ‘नेपाल टेक रोडशो २०२६’ आयोजना हुँदै, नेपाली आईटी कम्पनीलाई विश्व बजारसँग जोड्ने लक्ष्य


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रको क्षमता प्रदर्शन गर्न र अन्तर्राष्ट्रिय बजारसँग जोड्न आगामी भदौ २१ गतेदेखि असोज ५ गतेसम्म (सेप्टेम्बर ६ देखि २१) ‘नेपाल टेक रोडशो युरोप २०२६’ आयोजना गर्ने भएको छ । 

संयुक्त अधिराज्य (यूके) र स्विट्जरल्यान्डमा आयोजना हुने यस रोडशोले नेपाली आईटी कम्पनीहरूलाई युरोपका व्यवसाय, लगानीकर्ता र प्रविधि समुदायसँग प्रत्यक्ष साझेदारी गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ ।

नास आईटीका अनुसार रोडशोको पहिलो चरण सेप्टेम्बर ६ देखि १२ सम्म यूकेमा सञ्चालन हुनेछ, जसको मुख्य कार्यक्रम सेप्टेम्बर ९ मा लन्डनस्थित रेडिसन ब्लु होटलमा आयोजना गरिनेछ । दोस्रो चरण सेप्टेम्बर १३ देखि २१ सम्म स्विट्जरल्यान्डमा सञ्चालन हुनेछ र यसको मुख्य कार्यक्रम सेप्टेम्बर १६ मा ज्युरिखको होटल सेन्ट गोठार्डमा हुने तालिका रहेको छ ।

कार्यक्रममा नास आईटीका १७ वटा अग्रणी सदस्य कम्पनीहरूले सफ्टवेयर विकास, डिजिटल समाधान र नवीन प्रविधिमा आधारित आफ्ना सेवा तथा उत्पादनहरू प्रस्तुत गर्नेछन् । सहभागी कम्पनीहरूमा जेस्पर आईटी, टेकोन टेक्नोलोजीज, एभरेस्ट नलेज सोलुसन्स (ई.के. सोलुसन्स), योङ इनोभेसन लगायत रहेका छन् ।

नास आईटीका अध्यक्ष गौरव पाण्डेले नेपाली आईटी कम्पनीहरूले आफ्नो क्षमता अन्तर्राष्ट्रिय बजारमा प्रमाणित गरिसकेकाले यो रोडशोले नेपाललाई विश्वसनीय प्रविधि साझेदारका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले यो कार्यक्रममार्फत नयाँ बजार र दीर्घकालीन व्यावसायिक सम्बन्ध निर्माण हुने अपेक्षा व्यक्त गरे । 

नेपालको आईटी क्षेत्र हाल देशकै तीव्र गतिमा विकास भइरहेको क्षेत्रमध्ये एक हो, जहाँ एक लाखभन्दा बढी दक्ष जनशक्ति कार्यरत छन् र विदेशी आम्दानीमा वार्षिक २० देखि २५ प्रतिशतसम्म वृद्धि भइरहेको अनुमान छ ।

यो रोडशो स्विस सरकार विकास सहयोग र ‘नेपाल इन बिजनेस–ग्रोथ एडभाइजर्स’ कार्यक्रम (यूके इन्टरनेसनल डेभलपमेन्टको सहयोग तथा डीएआई ग्लोबल युके को कार्यान्वयन) अन्तर्गत आयोजना हुन लागेको हो । यसअघि नास आईटीले सन् २०२५ मा अष्ट्रेलिया र सन् २०२६ मा अमेरिकामा सफलतापूर्वक यस्तै रोडशो सम्पन्न गरिसकेको छ । 

रोडशोले प्रविधि सेवा निर्यात प्रवर्द्धन गर्ने, वैदेशिक लगानी आकर्षण गर्ने र युरोपसँगको व्यावसायिक सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ११ : ४५ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र