काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो राजनीतिक संकटका क्रममा आफू र आफ्नो परिवारमाथि भएको आक्रमण तथा पार्टीभित्रबाट आएको आलोचना सम्झिएका छन्।
आइतबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले सामाजिक सञ्जाल बन्द नगर्न तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारलाई आग्रह गरेको समयदेखि भदौ २३ र २४ गते भएका घटनासम्मको प्रसंग उठाए।
उनले आफूहरू भदौ २२ गते रातिसम्म बसेर सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोध गरेको स्मरण गरे। त्यसको भोलिपल्ट भदौ २३ गते दुःखद घटना भएको र आफूहरूले गृहमन्त्रीलाई राजीनामा गराएको तथा सरकारबाट अलग हुनुपर्ने धारणा राखेको उनले बताए।
त्यसपछि भदौ २४ गते आफूहरूको परिवारलाई घरभित्रै थुनेर आगो लगाइएको थापाले दाबी गरे। ‘भदौ २४ गते हाम्रो परिवारलाई घरभित्र थुनेर आगो लगाइयो,’ उनले भने।
त्यस घटनापछि आफ्नै पार्टीका केही नेताकार्यकर्ताले आफूविरुद्ध प्रयोग गरेका शब्द र गरेको निन्दा पनि आफूले नबिर्सिएको थापाले बताए। तर, आलोचना र विरोधका बीच पनि आफूलाई माया गर्ने र साथ दिने कांग्रेस कार्यकर्ता टोलदेखि तल्लो तहसम्म रहेको उनको भनाइ थियो।
थापाले अब कांग्रेसलाई संस्थापक नेताहरूले निर्माण गरेको जस्तै बलियो पार्टी बनाउने दाबी गरे। ‘कांग्रेसलाई संस्थापकले जस्तै बलियो बनाउन सक्छु भनिरहेको छु,’ उनले भने।
यसका लागि केही समय लाग्ने स्वीकार गर्दै थापाले पार्टी सम्हालेर महाधिवेशन सम्पन्न गर्ने र पार्टीको न्यायिक तथा कानुनी लडाइँसमेत अघि बढाउने बताए। ‘पार्टीलाई पुरानै शाखसहितको बनाउँछौँ,’ उनले भने।
थापाको यो अभिव्यक्ति विशेष महाधिवेशनपछि कांग्रेसभित्र देखिएको विभाजन, अदालतमा अड्किएको विवाद र आगामी पन्ध्रौँ महाधिवेशनको तयारीबीच आएको हो।












प्रतिक्रिया