काठमाडौं– नेपालको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले नेपालका प्रमुख वाणिज्य बैंकहरूको विगत पाँच आर्थिक वर्ष (सन् २०२२ देखि २०२६ सम्म) को क्रेडिट रेटिङ ट्रान्जिसन सम्बन्धी विस्तृत विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको तथ्यांक अनुसार नेपालका वाणिज्य बैंकहरूको वित्तीय स्वास्थ्य र जोखिमको अवस्थामा उतारचढाव देखिएको हो ।
स्ट्याण्डर्ड चार्टर्डको साख सबैभन्दा उच्च, केहीको गिरावट
इक्रा नेपालको प्रतिवेदन अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले विगत पाँचै वर्षदेखि निरन्तर .‘आइआर एएए’ रेटिङ कायम राख्न सफल भएको छ, जसले यो बैंक लगानी र निक्षेपका लागि सबैभन्दा सुरक्षित रहेको संकेत गर्छ ।
त्यस्तै, नेपाल एसबीआई बैंकले पनि अध्ययन अवधिभर आफ्नो ‘आइआर एए’ रेटिङलाई स्थिर राख्न सफल देखिएको छ ।
पछिल्ला वर्षहरूमा केही स्थापित बैंकहरूको क्रेडिट रेटिङमा गिरावट आएको तथ्यांकले देखाउँछ । नबिल बैंकको रेटिङ सन् २०२२ मा ‘आइआर एए–’ रहेकोमा २०२६ सम्म आइपुग्दा ‘आइआर ए’ मा झरेको छ । त्यसैगरी, ग्लोबल आइएमई बैंकको रेटिङमा पनि उतारचढाव देखिँदै हाल ‘आइआर ए–’ कायम भएको छ ।
तथ्यांकले प्रभु बैंक र कुमारी बैंकको रेटिङमा पनि उल्लेख्य गिरावट आएको देखाएको छ । प्रभु बैंकको रेटिङ ‘आइआर बीबी+@’ र कुमारी बैंकको ‘आइआर बीबी+’ मा झरेको छ ।
तथ्यांक अनुसार केही बैंकहरूले इक्रा नेपालबाट गराउँदै आएको रेटिङ प्रक्रिया हाल बन्द गरेका वा फिर्ता लिएका छन् । एभरेष्ट बैंकले २०२६ मा ‘आइआर एए–’ रेटिङबाट बाहिरिँदै रेटिङ फिर्ता लिएको छ । यस्तै, सानिमा बैंक, एनआईसी एशिया बैंक, र कृषि विकास बैंकको रेटिङ पनि पछिल्लो समयमा फिर्ता भएको प्रतिवेदनमा उल्लेख छ ।
साथै, नेपाल बैंक लिमिटेडले विगत पाँच वर्षदेखि ‘आइआर ए’ रेटिङ स्थिर राखेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको रेटिङ हाल ‘आइआर ए–’, लक्ष्मी सनराइज बैंक र सिद्धार्थ बैंकको रेटिङ क्रमशः ‘आइआर बीबीबी @’ र ‘आइआर बीबीबी +’ को स्थितिमा छ । माछापुच्छ्रे बैंकको रेटिङ २०२६ मा ‘आइआर बीबीबी +@’ कायम भएको छ ।
इक्रा नेपालले बैंकहरूको वित्तीय अवस्था बुझाउन केही विशेष चिन्हहरूको प्रयोग गरेको छ । जसमा ‘@’ चिन्हले सम्बन्धित बैंकको रेटिङ नकारात्मक निगरानीमा रहेको र क्रेडिट प्रोफाइलमा तनाव रहेको बुझाउँछ । त्यस्तै, ‘&’ चिन्हले मर्जर वा प्राप्तिको समयमा देखिने अनिश्चित दृष्टिकोणलाई संकेत गर्छ ।
इक्रा नेपालले हाल नेपालमा सञ्चालित २० वाणिज्य बैंकहरू मध्ये १३ वटाको ‘लाइभ’ रेटिङलाई यस प्रतिवेदनमा समेटेको छ । हिमालयन बैंक, प्राइम कमर्सियल बैंक र राष्ट्रिय वाणिज्य बैंक जस्ता केही बैंकहरूको रेटिङ विवरण भने यस सूचीमा समावेश गरिएको छैन ।













प्रतिक्रिया