काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कम्युनिस्ट नेतृत्वकै समयमा सरकारबाट बाहिरिनुपर्ने र जनताबाट अस्वीकृत हुनुपर्ने अवस्था आउनु वामपन्थी आन्दोलनका लागि गम्भीर विषय भएको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले विगतको यथार्थको गहिरो समीक्षा नगरी वामपन्थी आन्दोलनको पुनर्गठन सम्भव नहुने धारणा राखे।
नेपालमा कम्युनिस्ट आन्दोलनले लामो राजनीतिक यात्रा तय गर्दै प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्मको नेतृत्व निर्माण गरे पनि पछिल्लो अवस्थालाई सामान्य रूपमा लिन नहुने उनको भनाइ छ।
पोखरेलले नेपालमा कम्युनिस्ट आन्दोलनबाट हालसम्म ६ जना प्रधानमन्त्री र २१ जना मुख्यमन्त्री बनेको उल्लेख गर्दै यति ठूलो राजनीतिक प्रभाव भएको आन्दोलन कमजोर बन्नुको कारण खोजिनुपर्ने बताए।
‘कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार हुँदा नै सत्ताबाट अपदस्थ हुनुपर्ने र जनताबाट समेत बहिष्कृत हुनुपर्ने अवस्था आउनु सामान्य विषय होइन,’ उनले भने।
उनले वामपन्थी आन्दोलनको वर्तमान अवस्था सुधार्न विगतका कमजोरी पहिचान गरी त्यसबाट पाठ सिक्नुपर्नेमा जोड दिए। विशेषगरी जनमत किन वामपन्थी शक्तिबाट टाढिँदै गयो भन्ने विषयमा गम्भीर आत्मसमीक्षा आवश्यक रहेको उनले बताए।
पोखरेलले प्रमुख राजनीतिक दलहरूबीच एकता र सहकार्य कायम रहेको भए पछिल्ला राजनीतिक परिस्थिति यति धेरै भड्किन नसक्ने दाबी पनि गरे। उनले पछिल्लो निर्वाचनमा एमालेको मत माओवादीतर्फ वा माओवादीको मत एमालेतर्फ सरेको अवस्था नदेखिएको बताए।
‘केवल दलहरूबीचको पुनः एकीकरण वा सांगठनिक पुनर्संरचनाले मात्र वामपन्थी आन्दोलनलाई नयाँ गति दिन सक्दैन,’ पोखरेलले भने, ‘जनतासँगको सम्बन्ध किन कमजोर भयो भन्ने पहिचान गरेर त्यसअनुसार राजनीतिक तथा संगठनात्मक सुधार गर्न आवश्यक छ।’
उनले विगतमा प्राप्त उपलब्धिमा मात्र गर्व गरेर वामपन्थी आन्दोलन पुनर्जीवित हुन नसक्ने बताए। वर्तमान राजनीतिक यथार्थलाई स्वीकार गर्दै नयाँ आधार र नयाँ सोचका साथ अघि बढ्नुपर्ने उनको धारणा छ।
पोखरेलले वामपन्थी शक्तिहरूले आफूहरू कमजोर हुनुको वास्तविक कारण पहिचान नगरेसम्म संगठनात्मक पुनर्संरचना वा पार्टी एकताको बहसले मात्रै अपेक्षित परिणाम दिन नसक्ने संकेत गरे।
उनले जनतासँगको सम्बन्ध पुनः स्थापित गर्ने र जनविश्वास फर्काउने गरी वामपन्थी आन्दोलनले आफ्नो राजनीतिक कार्यदिशामै पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको बताए ।












प्रतिक्रिया