चार दिने भ्रमण सकेर फर्किए भारतीय सेना प्रमुख सेठ, के के भयो उपलब्धि ? « Khabarhub

चार दिने भ्रमण सकेर फर्किए भारतीय सेना प्रमुख सेठ, के के भयो उपलब्धि ?


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय स्थल सेनाका प्रमुख (सीओएएस) जनरल धीरज सेठ चारदिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन्। उनी अगस्ट १६ देखि १९ सम्म औपचारिक भ्रमणका क्रममा नेपालमा रहेका थिए।

नेपाल आइपुगेका जनरल सेठलाई अगस्ट १६ मा नेपाली सेनाका उच्च अधिकारी तथा काठमाडौंस्थित भारतीय दूतावासका प्रतिनिधिले स्वागत गरेका थिए।

भ्रमणका क्रममा अगस्ट १७ मा उनले टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा पुष्पहार अर्पण गर्दै राष्ट्र सेवामा सर्वोच्च बलिदान दिएका सैनिकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यसपछि नेपाली सेनाको मुख्यालय पुग्दा उनलाई नेपाली सेनाले सम्मान गारत प्रदान गरेको थियो।

नेपाली सेनाका प्रधानसेनापति तथा भारतीय सेनाका मानार्थ महारथी जनरल अशोकराज सिग्देलसँग भेटवार्ता गर्दै जनरल सेठले दुई देशबीचको रक्षा सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेका थिए।

भारतको निरन्तर सहयोगअन्तर्गत जनरल सेठले विपद् तयारी तथा मानवीय सहायता र उद्धारसम्बन्धी क्षमता अभिवृद्धिका लागि नेपाली सेनालाई सवारीसाधन तथा स्वास्थ्य उपकरणसमेत हस्तान्तरण गरेका थिए।

दुई देशबीचको पुरानो सैनिक परम्परालाई निरन्तरता दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका थिए। त्यसपछि जनरल सेठले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए।

अगस्ट १८ मा जनरल सेठले शिवपुरीस्थित नेपाली सेनाको कमान्ड तथा स्टाफ कलेजको भ्रमण गरी त्यहाँका प्रशिक्षार्थी र प्राध्यापकसँग अन्तरक्रिया गरेका थिए। उक्त अवसरमा भारत र नेपालका सशस्त्र सेनाबीच शैक्षिक सहकार्य तथा अनुभव आदानप्रदानको महत्त्वबारे छलफल भएको थियो।

त्यसपछि उनले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेका थिए। भेटका क्रममा नेपाल र भारतबीच लामो समयदेखि कायम सम्बन्ध तथा विशेषगरी रक्षा सहकार्यका विषयमा छलफल भएको थियो।

भ्रमणको अन्तिम दिन अगस्ट १९ मा जनरल सेठ पोखरा पुगेका थिए। उनले त्यहाँ भारतीय सेनाका पूर्वसैनिकहरूसँग भेटघाट तथा अन्तरक्रिया गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै जनरल सेठले भारतको सार्वभौमिकता र सुरक्षाका लागि भारतीय सेनाका पूर्वसैनिकहरूले पुर्‍याएको योगदान, समर्पण र सर्वोच्च बलिदानप्रति प्रशंसा व्यक्त गरेका थिए।

कार्यक्रममा वीर नारी तथा वीरता पुरस्कार प्राप्त पूर्वसैनिकलाई सम्मान गरिएको थियो। पूर्वसैनिकहरूको स्वास्थ्य तथा जीवनस्तरमा सहयोग पुर्‍याउने उद्देश्यले उनीहरूलाई गतिशीलता सहयोगी उपकरणसमेत वितरण गरिएको थियो।

जनरल सेठले कोहलपुरमा स्थापना गरिएको पूर्वसैनिक अंशदायी स्वास्थ्य योजना (ईसीएचएस) पोलिक्लिनिकसमेत पूर्वसैनिक समुदायको सेवामा समर्पित गरेका छन्। नेपालमा रहेका भारतीय पूर्वसैनिक तथा उनीहरूका आश्रितको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने दिशामा यो सुविधा महत्त्वपूर्ण उपलब्धि भएको भारतीय पक्षले जनाएको छ।

भारतीय सेनाका प्रमुख जनरल सेठको भ्रमणले नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउन तथा रक्षा र सुरक्षा क्षेत्रलगायत विभिन्न क्षेत्रमा सहकार्य गहिरो बनाउन सहयोग पुगेको भारतीय पक्षले जनाएको छ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ६ : ४२ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको