कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि आज हाइकिङ (पहाडी क्षेत्रमा पैदलयात्रा)गरिएको छ ।
पोखरा–१७ स्थित माछापुच्छ्रे विम्ब पार्क (ड्यामसाइड) बाट सुरु भएको हाइकिङ रानीवन, पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति हुँदै नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको ‘ड्रिम सिटी’ मा पुगेर सम्पन्न भएको थियो ।
पोखरा प्रवर्द्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा विश्व पर्यटन दिवसका दिनमा गरिने पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिताको तयारी तथा यस क्षेत्रको पर्यटन प्रवर्द्धनका सात किमी दूरीमा हाइकिङ गरिएको हो । कार्यक्रममा जनप्रतिनिधि, पर्यटनकर्मी, सञ्चारकर्मी तथा स्थानीयको सहभागिता रहेको थियो ।
पोखरा–२२ का वडाध्यक्ष हिमलाल बरालले ड्यामसाइडदेखि रानीवन हुँदै पुम्दीकोटसम्म व्यवस्थित पैदलमार्ग निर्माणको काम अघि बढिरहेको जानकारी दिए । अनुसार अनुसार योजनाको टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
“एसियाली विकास बैंकको सहयोगमा पैदलमार्गसँगै प्रतीक्षालय, रेलिङलगायतका संरचना निर्माण गर्नेछौँ । ड्यामसाइडदेखि ‘८५’ क्षेत्रसम्म करिब २७ किलोमिटर फुटट्र्याक निर्माण गर्ने योजनाअन्तर्गत हालसम्म करिब सात किलोमिटर पदमार्ग निर्माण भइसकेको र बाँकी क्षेत्रमा काम गर्न बाँकी छ”, वडाध्यक्ष बरालले भने ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखराका डाँडाकाँडामा रहेको पर्यटकीय सम्भावनालाई उपयोग गर्न पदयात्रा र पर्वतीय दौड जस्ता गतिविधि प्रभावकारी हुने बताए । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका कार्यक्रम अधिकृत युवराज गुरुङले पर्यटन प्रवर्द्धनमा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव टङ्कप्रसाद ढकालले खेल पर्यटनले पर्यटकको पोखरा बसाइ अवधि लम्ब्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । पर्वतीय दौड प्रतियोगितालाई मन्त्रालयले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी रहने उनको भनाइ थियो ।
पोखरा प्रवर्द्धन केन्द्रका अध्यक्ष तथा कार्यक्रम संयोजक दीननाथ बरालले आगामी असोज १० गते हुने तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौडको तयारी स्वरूप हाइकिङ आयोजना गरिएको बताए । उनका अनुसार प्रतियोगितामा खुलातर्फसहित विभिन्न छ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । विश्वशान्ति स्तूपबाट सुरु हुने मुख्य दौड विशाल महादेवको मूर्ति, पोखरा–२२ को वडा कार्यालय हुँदै कालाबाङ न्यालडाँडामा रहेको कालाबाङ घरेडी बुद्धपार्कसम्म करिब आठ किलोमिटर दूरीमा सञ्चालन हुनेछ ।
यस वर्षको संस्करणमा स्वदेश तथा विदेशका धावकलाई सहभागी गराउने तयारी भइरहेको केन्द्रका सचिव सागर सुनारले जानकारी दिए । हाइकिङका क्रममा सहभागीले पुम्दीकोटको ५१ फिट अग्लो विशाल महादेवको मूर्ति तथा पछिल्लो समय सञ्चालनमा आएको ‘ड्रिम सिटी’ को अवलोकन गरेका थिए ।












प्रतिक्रिया