काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतका विदेश, राष्ट्रमण्डल तथा विकास मामिलामन्त्री एड मिलिब्यान्डबीच टेलिफोन वार्ता भएको छ।
बुधबार गएको विनाशकारी बाढीबाट नेपालमा भएको जनधनको क्षतिप्रति बेलायती विदेशमन्त्री मिलिब्यान्डले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।
वार्ताका क्रममा मिलिब्यान्डले विपद्को कठिन घडीमा बेलायत सरकार र बेलायती जनताको नेपाल तथा नेपाली जनताप्रति ऐक्यबद्धता रहेको बताए। उनले बाढीबाट उत्पन्न परिस्थितिसँग जुध्न नेपाललाई आवश्यक सहयोग गर्न बेलायत सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गरे।
मिलिब्यान्डले नेपालमा जारी खोज तथा उद्धार कार्यबारे जानकारी लिनुका साथै बाढीपछि सम्पर्कविहीन रहेका बेलायती नागरिकको खोजी तथा उद्धारका प्रयासबारे पनि चासो राखेका थिए।
जवाफमा परराष्ट्रमन्त्री खनालले नेपाल सरकारले सञ्चालन गरिरहेको खोज तथा उद्धार कार्यबारे जानकारी गराउँदै विपद्को कठिन परिस्थितिमा नेपाललाई सहयोग गर्न बेलायत सरकारको तत्परता र ऐक्यबद्धताप्रति धन्यवाद व्यक्त गरे।
नेपालमा आएको बाढीबाट विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ भने प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी छ।












प्रतिक्रिया