मृतकको पनि मर्यादा हुन्छ, लास र सास नपाउँदाको छटपटी « Khabarhub

मृतकको पनि मर्यादा हुन्छ, लास र सास नपाउँदाको छटपटी

शव गाडिएला, पहिचान के हुन्छ ?



रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले नेपाललाई फेरि एउटा यस्तो मानवीय संकटको बीचमा उभ्याएको छ, जहाँ तथ्यांकभन्दा पीडा ठूलो छ । 

मृतकको संख्याभन्दा बेपत्ताको अनिश्चितता अझ भयावह छ । बाढीपछि सयौँ मानिसको मृत्यु भएको छ, सयौँ शव विभिन्न नदी तथा बगरबाट फेला परिरहेका छन् र ठूलो संख्यामा नागरिक अझै बेपत्ता छन् । 

पछिल्लो सार्वजनिक विवरणअनुसार मृतकको संख्या ७ सय नाघेको छ भने बेपत्ताको संख्या पनि हजारौँको संख्यामा रहेको छ । कतिपय शवको पहिचान हुन सकेको छैन । क्षतविक्षत अवस्थामा फेला परेका शव लामो समय गर्मीमा रहँदा सड्न थालेपछि दुर्गन्ध फैलिएर संक्रमणको जोखिमसमेत बढेको छ ।

सरकारको उद्धार अनुरोध पोर्टलमा रहेको पछिल्लो अभिलेखले विपत्तिको अर्काे भयावह तस्वीर देखाउँछ । १५ हजार बढी अझै हराइरहेको अभिलेख छ । 

तीमध्ये ६७६ बालबालिका र ४०९ ज्येष्ठ नागरिक छन् । यो केवल तथ्यांक होइन-हजारौँ परिवारको अनिश्चित प्रतीक्षा, पीडा र एउटै प्रश्न हो-‘हाम्रो मान्छे कहाँ छ ?’ पोर्टलमा हराएका तथा फेला परेका व्यक्तिको विवरण निरन्तर अद्यावधिक भइरहेको देखिन्छ । यसले हराइरहेका नागरिकको खोजी अलग र निरन्तर राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्ने आवश्यकता देखाउँछ ।

यही परिस्थितिमा चितवनमा संकलित पहिचान हुन नसकेका तथा बेवारिसे शवलाई अस्थायी रूपमा जमिनमुनि व्यवस्थापन गर्ने निर्णय गरिएको छ । शव राख्ने स्वास्थ्य संस्थाका सीमित संरचना भरिँदै गएपछि र तत्काल पर्याप्त कोल्ड स्टोरेज, अस्थायी शवगृह वा रेफ्रिजेरेटेड कन्टेनरको व्यवस्था गर्न नसकिएपछि दफनको विकल्प रोजिएको हो । दफनअघि डीएनए नमूना, फोटो, संकेत नम्बरलगायत प्रमाण सुरक्षित राख्ने प्रक्रिया अघि बढाइएको छ । 

शव गाड्ने निर्णयसँगै एउटा अझ गम्भीर प्रश्न उठेको छ—अब बेपत्ताको खोजी कहिले र कसरी हुन्छ ? परिवारका लागि मृत्युको समाचारभन्दा कहिलेकाहीँ मृत्युको अनिश्चितता अझ पीडादायी हुन्छ । बाढीमा हराएका नागरिकका परिवार अहिले राज्यसँग एउटै आग्रह गरिरहेका छन्– ‘हाम्रो मान्छे जीवित छ भने साससहित फर्काइदेऊ, छैन भने लास जिम्मा लगाइदेऊ ।’

यो केवल भावनात्मक आग्रह होइन । यो आफ्नो प्रियजनको अवस्थाबारे सत्य जान्न पाउने अधिकार हो । मृत्यु भएको भए पहिचान सुनिश्चित गर्न पाउने अधिकार हो । शव भेटिएपछि आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार अन्तिम संस्कार गर्न पाउने मानवीय अधिकार हो ।

शव गाड्नु बाध्यता हो, समाधान होइन

ठूलो प्राकृतिक विपत्तिमा एकैपटक सयौँ शव फेला पर्न सक्छन् । सामान्य अवस्थामा सञ्चालन हुने अस्पतालका शवगृहले यस्तो परिस्थितिको भार धान्न सक्दैनन् । त्यसैले स्वास्थ्य तथा सरसफाइको जोखिम घटाउन तत्काल अस्थायी दफन गर्नुपर्ने अवस्था आउन सक्छ । 

अहिलेको अवस्थामा शव गाड्ने निर्णयलाई केवल प्रशासनिक असंवेदनशीलताका रूपमा बुझ्नु उचित हुँदैन । तर बाध्यता र समाधान एउटै कुरा होइनन् । शव अस्थायी रूपमा गाड्न सकिन्छ । तर पहिचान गाड्न सकिँदैन । शव गाड्न सकिन्छ । तर परिवारको अधिकार गाड्न सकिँदैन ।

नेपाल सरकारसँग विपद्पछिको शव व्यवस्थापनका लागि मार्गदर्शन पनि छ । विपद् पश्चातको शव व्यवस्थापन सम्बन्धी मार्गदर्शन, २०६८ को प्रथम संशोधन २०७६ सहितको व्यवस्था सरकारी स्रोतमा उपलब्ध छ । 

मार्गदर्शनले विपद्का बेला मृत्यु भएका मानिस तथा जनावरको शव व्यवस्थापनको जिम्मेवारी र प्रक्रियालाई संस्थागत गर्ने व्यवस्था गरेको छ । त्यसैगरी पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ समेत गृह मन्त्रालयले जारी गरेको छ । 

अर्थात समस्या कानुन, निर्देशिका वा कागजी प्रक्रियाको पूर्ण अभाव होइन । समस्या त्यसलाई ठूलो विपत्तिको समयमा मैदानमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्ने पूर्वतयारी र क्षमताको हो । 

विपद् आएपछि शव राख्ने ठाउँ खोज्ने, फरेन्सिक विशेषज्ञ खोज्ने, डीएनए व्यवस्थापन सोच्ने र बेपत्ताको सूची बनाउन थाल्ने अवस्था रहिरह्यो भने हामीले विपद् व्यवस्थापनलाई अझै पनि घटना भएपछि प्रतिक्रिया दिने प्रणालीकै रूपमा बुझिरहेका छौँ ।

कुनै आमाले आफ्नो छोराको शव खोजिन् भने राज्यसँग त्यस शवको अभिलेख हुनुपर्छ । कुनै छोराले आफ्नो बाबुको शव माग्यो भने ‘कहाँ गाडियो थाहा छैन’ भन्ने अवस्था आउनु हुँदैन । कुनै परिवारले आफ्नो संस्कारअनुसार अन्तिम संस्कार गर्न चाह्यो भने त्यसका लागि कानुनी र प्रशासनिक बाटो खुला रहनुपर्दछ ।

अबको मुख्य राष्ट्रिय अभियान-बेपत्ताको खोजी

मृतकको संख्या सार्वजनिक हुनु एउटा तथ्य हो । तर हजारौँ नागरिक अझै बेपत्ता हुनु अर्काे ठूलो राष्ट्रिय संकट हो । रसुवागढी, स्याफ्रुबेंसी, टिमुरबोटे, बेत्रावती, त्रिशूलीलगायत क्षेत्रमा बस्ती, सडक, पुल, जलविद्युत् आयोजना र नदीकिनारमा ठूलो क्षति पुगेको छ । कतिपय स्थानमा मानिस अन्तिमपटक सम्पर्कमा आएको ठाउँसमेत पत्ता लगाउन कठिन छ । 

जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनाभित्र मानिस फसेको हुनसक्ने आशंका पनि उठेका छन् । मानसरोवर तथा गोसाइँकुण्डजस्ता धार्मिक यात्राका क्रममा सम्पर्कविहीन भएका नेपाली तथा विदेशी नागरिकको विवरणसमेत खोज्नुपर्ने अवस्था छ ।

त्यसैले अब बेपत्ताको खोजीलाई सामान्य उद्धार अभियानका रूपमा मात्र लिनु हुँदैन । यसलाई छुट्टै राष्ट्रिय प्राथमिकताको खोजी अभियान बनाउनुपर्छ । बेपत्ता नागरिकको नाम, उमेर, ठेगाना, फोटो, परिवारको सम्पर्क, अन्तिम पटक सम्पर्क भएको समय र स्थानलगायत विवरणको केन्द्रीय अभिलेख तयार गर्नुपर्छ । त्यसपछि नदीको बहाव, बाढीले बगाएको सम्भावित मार्ग र शव पुग्न सक्ने क्षेत्रको वैज्ञानिक नक्सांकन गर्नुपर्दछ । 

ड्रोन, हेलिकोप्टर, प्रशिक्षित गोताखोर, उद्धारमा कुकुरको प्रयोग, विशेष नदी खोजी टोली, आवश्यक स्थानमा एक्साभेटर तथा अन्य उपकरण परिचालन गर्नुपर्छ । 

खोजीलाई नदीको एउटा किनारमा शव भेटिएको सूचनामा मात्र सीमित राख्नु हुँदैन । सम्भावित बहाव क्षेत्र र तलका जिल्लासम्म वैज्ञानिक ढंगले खोजी विस्तार गर्नुपर्छ । 

सरकारले खोजीको प्रगति परिवारलाई नियमित रूपमा जानकारी गराउने प्रणाली पनि बनाउनुपर्छ । किनकि बेपत्ता परिवारका लागि राहत र खाद्यान्नजत्तिकै ठूलो समस्या सूचनाको अभाव हो ।

‘सास कि लास’-राज्यको मानवीय परीक्षा

परिवारको सदस्य बेपत्ता भएपछि परिवार आशा र निराशाको बीचमा बाँचिरहेको हुन्छ । कतै जीवितै पो छन् कि? कतै उद्धारको प्रतीक्षामा पो छन् कि ? कतै शव भेटिएर पनि पहिचान नभएको अवस्थामा पो छन् कि ? यी प्रश्नले परिवारलाई दिनरात सताइरहन्छन् । त्यसैले सरकारले बेपत्ता परिवारलाई राहत रकम वा खाद्यान्न दिएर मात्र आफ्नो जिम्मेवारी पूरा भएको ठान्नु हुँदैन । 

जीवित भए खोजेर उद्धार गर्नुपर्दछ । मृत्यु भएको भए खोजेर पहिचान गर्नुपर्दछ । शव भेटिए परिवारलाई बुझाउनुपर्दछ । परिवारलाई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार अन्तिम संस्कार गर्न दिनुपर्छ । यति गर्न सक्नु नै संकटको घडीमा राज्यको न्यूनतम मानवीय दायित्व हो ।

शव पहिचानमा विज्ञानको प्रयोग

बाढीमा लामो समय बगेका शव क्षतविक्षत हुन सक्दछन् । अनुहारबाट पहिचान गर्न नसकिने अवस्थामा औँठाछाप, दाँतको संरचना, हड्डी तथा शारीरिक विशेषता, कपडा, गहना, व्यक्तिगत सामग्री र डीएनए परीक्षण महत्वपूर्ण हुन्छन् । यसका लागि नेपालले विपद् पीडित पहिचान प्रणालीलाई स्थायी राष्ट्रिय संयन्त्रका रूपमा विकास गर्न आवश्यक देखिन्छ ।

प्रहरी, फरेन्सिक चिकित्सक, डीएनए विज्ञ, दन्त विशेषज्ञ, मानवशास्त्री, मनोविज्ञ तथा डिजिटल अभिलेख विज्ञ सम्मिलित विशेषज्ञ टोली विपद् आएपछि गठन गर्ने होइन, सधैँ तयारी अवस्थामा राख्ने प्रणाली बनाउनुपर्छ । 

राष्ट्रिय परिचयपत्रका क्रममा संकलित बायोमेट्रिक विवरणसमेत कानुनी अधिकार, गोपनीयता र आवश्यक प्रक्रियाको पालना गर्दै विपद्का बेला पहिचानमा उपयोग गर्न सकिने सम्भावनाबारे अध्ययन गर्नुपर्दछ ।

शवबाट डीएनए नमुना संकलन गरेर मात्र सबै अवस्थामा पहिचान सम्भव नहुन सक्छ । त्यसका लागि बेपत्ता व्यक्तिका नजिकका जैविक आफन्तबाट डीएनए नमूना आवश्यक पर्न सक्छ । त्यसैले प्रभावित क्षेत्रमा नै डीएनए नमूना संकलन केन्द्र स्थापना गर्नुपर्छ । 

आमाबुबा, सन्तान, दाजुभाइ वा अन्य नजिकका जैविक आफन्तबाट कानुनी तथा गोपनीयता मापदण्डअनुसार नमूना संकलन गरी सुरक्षित राख्न सकिन्छ । पछि पहिचान नभएका शवसँग वैज्ञानिक तुलना गर्न सकिन्छ । यो प्रणाली भोटेकोशी बाढीका लागि मात्र होइन-भविष्यका भूकम्प, पहिरो, हिमताल विस्फोट, विमान दुर्घटना वा अन्य सामूहिक दुर्घटनामा पनि उपयोगी हुन सक्छ ।

कानुन हैन, इच्छाशक्तिको अभाव

यहाँ सबैभन्दा गम्भीर प्रश्न उठ्छ-के नेपालसँग यस्तो अवस्थाका लागि कानुन र मार्गदर्शन छैन ? समस्या कानुनको पूर्ण अभाव होइन । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ ले विपद् प्रतिकार्य, खोज तथा उद्धार, राहत र विपद्पछिको पुनर्लाभका विषयलाई समेटेको छ । 

त्यसैगरी नेपाल सरकारसँग विपद् पश्चातको शव व्यवस्थापन सम्बन्धी मार्गदर्शन, २०६८ (प्रथम संशोधन २०७६) रहेको छ । 

यसले राष्ट्रिय तथा जिल्ला तहको समन्वय, शवको खोजी, संकलन, भण्डारण, पहिचान, सूचना व्यवस्थापन, परिवारलाई सहयोग र अन्तिम संस्कारसम्मको प्रक्रियालाई समेटेको छ । 

त्यसपछि पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ पनि जारी भएको छ । अर्थात् समस्या कागजी व्यवस्था मात्र नभएको स्पष्ट छ । समस्या हो—पूर्वतयारी र कार्यान्वयन क्षमता ।

विपद् आएपछि शव राख्ने ठाउँ खोज्नुपर्ने, विपद् आएपछि फरेन्सिक विशेषज्ञ खोज्नुपर्ने, विपद् आएपछि डीएनए व्यवस्थापन सोच्नुपर्ने र विपद् आएपछि बेपत्ताको सूची बनाउन थाल्नुपर्ने अवस्था रहिरह्यो भने कानुन र निर्देशिकाको अस्तित्व मात्र पर्याप्त हुँदैन ।

जुरेदेखि भोटेकोशीसम्म दोहोरियो कमजोरी

नेपालमा ठूलो मानवीय क्षति हुने प्राकृतिक विपत्ति पहिलोपटक आएको होइन । सिन्धुपाल्चोकको जुरे पहिरोदेखि मेलम्ची बाढी हुँदै २०७२ को भूकम्प, कोभिड–१९ र २०८१ असोजको बाढी–पहिरोसम्म आइपुग्दा हामीले पटक–पटक एउटै प्रकृतिका प्रश्न सामना गरेका छौँ-बेपत्ताको खोजी कसरी गर्ने ? शव कसरी पहिचान गर्ने ? परिवारलाई सूचना कसरी दिने ? र विपद्पछि राज्यको जिम्मेवारी कहाँसम्म हुन्छ ?

जुरे पहिरोले ठूलो पहिरोमा मानिस, बस्ती र नदी प्रणाली एकैपटक प्रभावित हुँदा खोजी तथा उद्धार कति जटिल हुन्छ भन्ने देखाइसकेको थियो । मेलम्ची बाढीले नदीको बहाव परिवर्तन, बस्तीको जोखिम र बेपत्ता तथा मृतकको व्यवस्थित अभिलेखको आवश्यकता देखायो । 

२०७२ को भूकम्पले ठूलो संख्यामा मृत्यु, शवको खोजी, पहिचान र अन्तिम संस्कारको चुनौतीलाई राष्ट्रिय अनुभवमा रूपान्तरण गर्‍यो । त्यसपछिको शव व्यवस्थापनसम्बन्धी व्यवस्थामा समेत भूकम्पको अनुभवले महत्वपूर्ण भूमिका खेल्यो ।

कोभिड–१९ को संकटको प्रकृति भोटेकोशी बाढीभन्दा फरक थियो । त्यहाँ संक्रामक रोगको जोखिमबीच मृतकको शव व्यवस्थापन गर्नु चुनौती थियो । त्यस अनुभवले स्वास्थ्य सुरक्षा र मृतकको मानवीय मर्यादाबीच सन्तुलन खोज्नुपर्ने पाठ दियो । शव व्यवस्थापन स्वास्थ्य मन्त्रालयको मात्र विषय होइन भन्ने कुरा पनि त्यही अनुभवले देखायो । 

स्वास्थ्यकर्मी, स्थानीय प्रशासन, सुरक्षा निकाय, सेना, प्रहरी, स्थानीय तह, शववाहन, शवगृह, धार्मिक प्रतिनिधि र मृतकका परिवारबीच प्रभावकारी समन्वय आवश्यक हुन्छ ।

२०८१ असोजको बाढी–पहिरोले सडकमा गुडिरहेका यात्रुसमेत पहिरोमा पुरिन सक्ने जोखिम देखायो । धादिङको झ्याप्ले खोलामा सवारीसाधन पहिरोमा पुरिएपछि भएको ठूलो मानवीय क्षतिले सडक सुरक्षा, जोखिम पहिचान र विपद् पूर्वसूचनाको प्रश्नसमेत उठायो । 

यी घटनाको प्रकृति फरक थियो । कतै पहाड खस्यो, कतै नदी उर्लियो, कतै सडकमा गुडिरहेका सवारीसाधन पहिरोमा पुरिए । तर पीडित परिवारका प्रश्न उस्तै थिए—मेरो मान्छे कहाँ छ ? जीवित छ कि छैन ? शव भेटियो कि भेटिएन? भेटियो भने पहिचान भयो कि भएन ? भोटेकोशी बाढीले आज ती सबै प्रश्नलाई अझ ठूलो आकारमा हाम्रो सामु उभ्याइदिएको छ ।

त्यसैले जुरे, मेलम्ची, २०७२ को भूकम्प, कोभिड–१९ र २०८१ असोजका घटनालाई छुट्टाछुट्टै विपत्ति मानेर बिर्सने होइन, नेपालको विपद् व्यवस्थापनका जीवित पाठका रूपमा लिनुपर्छ । विपद् दोहोरिन सक्छ । तर हरेकपटक उही कमजोरी दोहोरिनु हुँदैन ।

राष्ट्रिय विपद् धान्न सक्दैनन अस्पतालका शवगृह 

अहिलेको घटनाले अर्को कमजोरी पनि उजागर गरेको छ-अस्पतालका नियमित शवगृह र ठूलो राष्ट्रिय विपद्का लागि आवश्यक शव व्यवस्थापन क्षमता एउटै होइन । सामान्य अवस्थामा अस्पतालका शव गृह पर्याप्त हुन सक्छन् । 

तर एकैपटक सयौँ शव आउँदा ती संरचना तुरुन्तै भरिन्छन् । चितवनमा अहिले देखिएको अवस्था यसको उदाहरण हो । पहिचान नभएका शव र पहिलेदेखि रहेका बेवारिसे शवका कारण उपलब्ध क्षमता थप दबाबमा परेको छ ।

त्यसैले अब हरेक प्रदेशमा ठूलो संख्यामा मृत्यु भएको अवस्थामा तत्काल सञ्चालन गर्न सकिने आपत्कालीन शव व्यवस्थापन केन्द्र स्थापना गर्नुपर्ने देखिन्छ । 

त्यहाँ रेफ्रिजेरेटेड कन्टेनर, मोबाइल शव गृह, शववाहन, पोर्टेबल कोल्ड स्टोरेज, फरेन्सिक उपकरण, डीएनए नमूना संकलन सामग्री र आवश्यक अभिलेख प्रणाली पूर्वतयारी अवस्थामा राखिनुपर्छ । विपद् आएपछि ‘शव कहाँ राख्ने ?’ भनेर खोज्ने होइन, ‘कुन प्रदेशमा कति शव राख्न सकिन्छ र कति समयमा थप क्षमता प्रभावित क्षेत्रमा र्पुयाउन सकिन्छ ?’ भन्ने उत्तर राज्यसँग पहिले नै हुनुपर्छ ।

राष्ट्रिय मानव अधिकार आयोगको भूमिका

यो विषय स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय वा सुरक्षा निकायको प्रशासनिक प्रश्न मात्र होइन । यो मानव अधिकारको प्रश्न पनि हो । भोटेकोशी बाढीपछि राष्ट्रिय मानव अधिकार आयोगले प्रभावित क्षेत्रमा मानव अधिकार अवस्थाको अनुगमनका लागि टोली परिचालन गरेको सार्वजनिक विवरण आएको छ । अब शव व्यवस्थापन र बेपत्ता खोजी पनि आयोगको मानव अधिकार अनुगमनको महत्त्वपूर्ण हिस्सा बन्नुपर्छ ।

आयोगले कम्तीमा यी प्रश्नमा स्वतन्त्र अनुगमन गर्न सक्दछ । 

१ पहिलो, बेपत्ता नागरिकको खोजी प्रभावकारी र पर्याप्त छ कि छैन ? 

२ दोस्रो, परिवारलाई आफ्नो आफन्तको अवस्थाबारे नियमित सूचना दिइएको छ कि छैन ? 

३  तेस्रो, पहिचान नभएका शवका सबै वैज्ञानिक प्रमाण सुरक्षित राखिएका छन् कि छैनन् ? 

४ चौथो, अस्थायी रूपमा गाडिएका शवको स्थान, संकेत नम्बर र अभिलेख सुरक्षित छन् कि छैनन ?

५ पाँचौँ, पहिचान खुलेपछि परिवारलाई शव हस्तान्तरण र आफ्नो संस्कारअनुसार अन्तिम संस्कार गर्ने अवसर सुनिश्चित हुन्छ कि हुँदैन ?

आयोगको भूमिका सरकारको काम आफैँ गर्ने होइन । राज्यले नागरिकको मानव अधिकारसम्बन्धी दायित्व पूरा गरिरहेको छ कि छैन भन्ने स्वतन्त्र निगरानी र खबरदारी गर्नु हो । मृतकको पनि मर्यादा हुन्छ । विपत्तिमा मृत्यु भएका मानिसलाई केवल ‘शव’ भनेर प्रशासनिक वस्तुमा परिणत गर्न मिल्दैन । त्यो कसैको बुबा हो । कसैकी आमा हो । कसैको छोरा हो । कसैकी छोरी हो । कसैको जीवनसाथी हो । कसैको परिवारको संसार हो । त्यसैले शव व्यवस्थापन स्वास्थ्य र सरसफाइको विषय मात्र होइन-मृतकको मानवीय मर्यादा र परिवारको अधिकारको विषय पनि हो ।

अब किन नबनाउने राष्ट्रिय शव तथा बेपत्ता व्यवस्थापन प्रणाली ?

यो विपत्तिले एउटा दीर्घकालीन राष्ट्रिय प्रणाली बनाउने अवसर पनि दिएको छ । कुनै ठूलो विपत्ति आउँदा एउटै प्रणालीबाट तत्काल थाहा पाउन सकियोस् कति मानिस बेपत्ता छन् ? कहाँ हराए ? कुन परिवारले खोजिरहेका छन् ? कति शव भेटिए ? कति पहिचान भए ? कति पहिचान हुन बाँकी छन् ? कुन शव कहाँ राखिएको छ ? कुन शव कहाँ अस्थायी रूपमा गाडिएको छ ?

यसका लागि राष्ट्रिय शव तथा बेपत्ता व्यवस्थापन प्रणाली स्थापना गर्न सकिन्छ । बेपत्ता व्यक्तिको विवरण र पहिचान नभएका शवको विवरणलाई एउटै सुरक्षित डिजिटल प्रणालीमा जोड्नुपर्छ । यसले परिवारलाई सूचना पाउन सजिलो बनाउनेछ र राज्यलाई पनि तथ्यमा आधारित खोजी तथा पहिचान गर्न मद्दत गर्नेछ ।

सरकारका लागि अबको नीति

भोटेकोशी विपत्तिपछि सरकारले दीर्घकालीन राष्ट्रिय शव व्यवस्थापन तथा बेपत्ता खोजी नीति बनाउनेतर्फ अघि बढ्नुपर्छ । यसमा कम्तीमा निम्न विषय समेटिनुपर्छ—

१. राष्ट्रिय शव व्यवस्थापन क्षमता नक्सांकन : सरकारी तथा निजी स्वास्थ्य संस्थामा रहेका शव गृह, फ्रिजर र अन्य क्षमताको डिजिटल अभिलेख ।

२. प्रदेशस्तरीय आपतकालीन शव व्यवस्थापन केन्द्र स् ठूलो विपत्तिमा सयौँ शव व्यवस्थापन गर्न सक्ने पूर्वाधार निर्माण ।

३. मोबाइल शव गृह तथा रेफ्रिजेरेटेड कन्टेनर : विपद् प्रभावित क्षेत्रमा तत्काल परिचालन गर्न सकिने मोबाइल संरचना ।

४. राष्ट्रिय बेपत्ता व्यक्ति रजिस्ट्री स् बेपत्ता नागरिकको केन्द्रीय डिजिटल अभिलेख ।

५. स्थायी डीभीआई संयन्त्र : फरेन्सिक, प्रहरी, स्वास्थ्य, डीएनए दन्त तथा मानवशास्त्र विज्ञ सम्मिलित स्थायी टोली ।

६. डीएनए सन्दर्भ प्रणाली : बेपत्ता परिवारबाट कानुनी तथा गोपनीयता मापदण्डअनुसार नमुना संकलन गर्ने प्रणाली ।

७. प्रत्येक शवको ‘डिजिटल ट्रयााकिङ नम्बरस् शव फेला परेको क्षणदेखि अन्तिम हस्तान्तरणसम्म एउटै अभिलेख ।

८. अस्थायी दफनको डिजिटल अभिलेख: गाडिएको स्थान, मिति, संकेत नम्बर, फोटो, भिडियो, डीएनए र अन्य प्रमाण सुरक्षित राख्ने व्यवस्था ।

९.‘वन–स्टप’ परिवार सहायता केन्द्र : बेपत्ता दर्ता, सूचना, डीएनए नमुना, पहिचान र शव हस्तान्तरणका लागि एकीकृत सेवा ।

१०. नियमित ‘मास क्याजुअल्टी’ अभ्यासस् हरेक प्रदेशमा ठूलो संख्यामा मृत्यु भएको काल्पनिक अवस्थाको नियमित अभ्यास ।

११. राष्ट्रिय मानव अधिकार आयोगको स्वतन्त्र अनुगमन: बेपत्ता परिवार र शव व्यवस्थापनमा मानव अधिकारको दृष्टिले नियमित निगरानी ।

पुनर्स्थापना र पुनर्निर्माण पनि बिर्सन मिल्दैन

शव र बेपत्ताको प्रश्न समाधान भएपछि अर्को ठूलो चुनौती सुरु हुनेछ—पुनर्स्थापना र पुनर्निर्माण । बाढीले घर मात्र होइन, सडक, पुल, विद्यालय, बैक तथा वित्तीय संस्था, सुरक्षा कार्यालय, स्वास्थ्य संस्था, खानेपानी, कृषि, पशुधन, सवारीसाधन र रोजगारीका आधारसमेत तहसनहस पारेको छ । 

त्यसैले उद्धार र राहतपछि विस्थापित नागरिकको सुरक्षित पुनर्स्थापना, जीविकोपार्जनको पुनः स्थापना र भविष्यको जोखिम घटाउने गरी पुनर्निर्माण गर्नुपर्छ । 

पुनर्निर्माणको अर्थ पुरानै जोखिमलाई फेरि निर्माण गर्नु हुँदैन । जहाँ बस्ती बस्न जोखिमपूर्ण छ, त्यहाँ सुरक्षित स्थानान्तरण आवश्यक हुन सक्छ । जहाँ पुल बग्यो, त्यही संरचना जस्ताको तस्तै बनाउने कि नयाँ जोखिम मूल्यांकन गरेर फरक डिजाइन गर्ने भन्ने निर्णय वैज्ञानिक आधारमा हुनुपर्छ । तर यो विषय आफैँमा ठूलो नीतिगत बहस हो । अहिलेको पहिलो प्राथमिकता भने स्पष्ट छ—हराइरहेका नागरिकको खोजी र मृतकको पहिचान ।

शव गाडेर मात्र राज्यको दायित्व सकिँदैन

अस्थायी रूपमा शव गाड्नु तत्कालीन स्वास्थ्य, सरसफाइ र व्यवस्थापनको बाध्यता हुन सक्छ । तर त्यसलाई राज्यको अन्तिम जिम्मेवारी ठानियो भने समस्या झन् गम्भीर हुन्छ । किनकि राज्यको अर्को ठूलो जिम्मेवारी बाँकी छ—बेपत्ताको खोजी । 

अब प्रश्न केवल ‘शव कहाँ गाडियो?’ भन्ने होइन । प्रश्न हो-‘बेपत्ता कहाँ छन् ?’ उनीहरूलाई खोज्न राज्यको सम्पूर्ण शक्ति परिचालन भएको छ कि छैन? परिवारलाई नियमित सूचना दिइएको छ कि छैन ? डीएनए नमुना संकलन भइरहेको छ कि छैन ? गाडिएका प्रत्येक शवको अभिलेख सुरक्षित छ कि छैन ? भोलि कुनै आमाले आफ्नो छोराको शव माग्दा राज्यसँग प्रमाण छ कि छैन? कुनै छोराले आफ्नो बाबुको शव खोज्दा सरकारले ‘हामीलाई थाहा छैन’ भन्ने अवस्था आउँछ कि आउँदैन? यी प्रश्नको उत्तर आजै खोज्नुपर्छ ।

परिवारले सरकारसँग चमत्कार मागेका छैनन् । उनीहरूलाई आफ्नो प्रियजनको अवस्थाबारे सत्य चाहिएको छ । जीवित भए उद्धार । मृत्यु भएको भए खोजी । शव भेटिए पहिचान । पहिचान खुले परिवारलाई हस्तान्तरण र आफ्नो संस्कारअनुसार अन्तिम बिदाइ । यति गर्न सक्नु नै संकटको घडीमा राज्यको मानवीय परीक्षा हो ।

नेपालले जुरेबाट सिकेको छ । मेलम्चीबाट सिकेको छ । २०७२ को भूकम्पबाट सिकेको छ । कोभिड–१९ बाट सिकेको छ । २०८१ असोजको बाढी–पहिरोबाट पनि सिकेको छ । अब भोटेकोशीले फेरि एउटा प्रश्न सोधेको छ-के हामी ती सबै सिकाइलाई स्थायी प्रणालीमा रूपान्तरण गर्छौ, कि अर्को विपत्तिसम्म फेरि बिर्सन्छौँ?

विपद् रोक्न नसकिएला । नदीको बहाव रोक्न नसकिएला । पहाड खस्न रोक्न नसकिएला । हिमताल फुट्न रोक्न नसकिएला । तर विपद्पछि राज्य कति छिटो खोज्छ, कति वैज्ञानिक ढंगले पहिचान गर्छ, कति सम्मानपूर्वक मृतकलाई परिवारसम्म पुर्‍याउँछ र कति न्यायपूर्ण ढंगले पुनर्स्थापना गर्छ भन्ने कुरा राज्यको तयारी, क्षमता र इच्छाशक्तिमा निर्भर हुन्छ । शव गाडिन सक्छ, तर सत्य गाडिनु हुँदैन । शव गाडिन सक्छ, तर पहिचान गाडिनु हुँदैन । शव गाडिन सक्छ, तर परिवारको अधिकार गाडिनु हुँदैन र सबैभन्दा महत्त्वपूर्ण— शव गाडियो, अब बेपत्ताको खोजी कहिले? (घिमिरे राष्ट्रिय मानव अधिकार आयोगका सेवा निवृत्त कर्मचारी हुन)

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  २ : १६ बजे

पोखरा ल्याइएका १९ शव सनाखतपछि आफन्तलाई बुझाइयो

कास्की– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला

रसुवागढी हाइड्रोको पावरहाउसमा अझै कर्मचारी फसेको परिवारको दाबी, सेनाको खोजीमाथि उठ्यो प्रश्न

काठमाडौं- रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका रसुवागढी

न्युयोर्कमा छुरा प्रहारबाट एक जनाको मृत्यु, एक घाइते

एजेन्सी– न्युयोर्क सहरको व्यस्त स्थान टाइम्स स्क्वायर क्षेत्रमा भएको आक्रमणमा

गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन सुरु

काठमाडौं– कृषि विभागले गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन सुरु

पोखरामा ७६ वटा शव जमिनमुनि व्यवस्थापन (तस्बिरहरू)

पोखरा– बाढी प्रभावितसहित विभिन्न जिल्लाबाट पोखरा ल्याइएका ७६ वटा शव जमिनमुनि