काठमाडौं- रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका रसुवागढी जलविद्युत् आयोजनाका कर्मचारीको खोजीबारे परिवारजनले गम्भीर प्रश्न उठाएका छन्।
उनीहरूले नेपाली सेनाको उद्धार टोली आयोजनाको पावरहाउसको कन्ट्रोल रुमसम्म नपुगी फर्किएको आरोप लगाएका छन् । सुरुङभित्र ‘कोही नभेटिएको’ भन्ने सरकारी विवरण वास्तविकतासँग मेल नखाने दाबी गरेका भित्र फसेका मजदुर र इन्जिनियरका परिवारले गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार आयोजनाको सुरुङभित्र ड्रोन उडाएर खोजी गर्दा पनि कुनै मानिस फेला नपरेको जनाएको थियो। त्यसपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली खोजी कार्य सम्पन्न गरी धुन्चे फर्किएको बताइएको थियो।
तर आयोजनामा कार्यरत इन्जिनियर समीर लामिछानेका पिता माधव लामिछानेले भने उद्धार टोली पावरहाउससम्मै नपुगेको दाबी गरेका छन्। उनका अनुसार बाढी आउँदा समीर ड्युटीमै थिए र उनीसहित आयोजनाका कर्मचारी पावरहाउसमा रहेको हुनसक्ने अवस्था छ।
‘पावरहाउस पुग्न करिब २५० मिटर पार गर्नुपर्छ, तर उद्धार टोली त्यहाँ पुगेकै छैन,’ माधवले भने, ‘त्यहाँ मेरो छोरासहित कम्तीमा १४/१५ जना कर्मचारी अनिवार्य हुन्छन्। उद्धार टोलीको ड्रोन पनि करिब २४० मिटरसम्म मात्रै पुगेको छ। कोही फेला परेनन् भनेर वास्तविकता लुकाउने प्रयास भएको छ।’
माधवले आयोजनाका प्रमुख तथा केही उच्च तहका कर्मचारीसँग कुराकानी गर्दा पावरहाउसमा मानिसहरू रहेको आफूले जानकारी पाएको दाबी गरेका छन्। पावरहाउसमा केही दिनका लागि खाना तथा आवश्यक सामग्रीसमेत भण्डारण हुने भएकाले त्यहाँ कर्मचारीहरू आश्रय लिएर बसेको हुनसक्ने उनको भनाइ छ।
‘त्यहाँभित्र पानी रसाउँदो रहेछ र केही दिनको खाना पनि स्टक राखिँदोरहेछ,’ उनले भने, ‘त्यहाँ मान्छे शतप्रतिशत छन् भन्ने मेरो विश्वास छ। बरु उनीहरूलाई चाँडै उद्धार आवश्यक छ।’
पावरहाउसको नक्साले उठायो प्रश्न
हाइड्रो इन्जिनियर उमेश धितालले समेत रसुवागढी जलविद्युत् आयोजनाको पावरहाउसको नक्सा सार्वजनिक गर्दै नेपाली सेनासहितको उद्धार टोलीको खोजीबारे प्रश्न उठाएका छन्।
उनले सामाजिक सञ्जालमा उपलब्ध ‘खोजीका क्रममा भेटिएन’ भन्ने समाचारसँग सार्वजनिक गरिएका तस्बिर तथा भिडियोमा खोजी टोली पावरहाउसको नक्सामा देखाइएको सम्बन्धित क्षेत्रसम्म पुगेको नदेखिएको उल्लेख गरेका छन्।
धितालले सञ्चालनमा रहेको आयोजनाको पावरहाउसमा थुप्रै जनशक्ति रहने कुरा निश्चित भएकाले आयोजनाबारे पूर्ण जानकारी भएका प्राविधिकहरूको बुझाइ र निष्कर्ष सार्वजनिक हुनुपर्ने बताएका छन्।
यसले सुरुङभित्र उद्धार टोली वास्तवमै कुन बिन्दुसम्म पुगेको थियो र ड्रोनबाट कुन–कुन क्षेत्रमा खोजी गरिएको थियो भन्ने विषयमा थप स्पष्टता आवश्यक देखिएको छ। उनले रसुवागढी हाइड्रोको नक्सासमेत सार्वजनिक गर्दै सेनाले त्यसअनुसार उद्धार अभियान नचलाएको निष्कर्ष निकालेका छन्।
सोमबार खोजी सकेर फर्किएको थियो सेना
बाढीपछि रसुवागढी जलविद्युत् आयोजनाको सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि नेपाली सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा परिचालित भएको थियो।
सेनाले सुरुङको भित्री भाग तथा अन्तिम बिन्दुसम्म पुगेर ड्रोनसमेत प्रयोग गरी खोजी गर्दा कुनै मानवीय उपस्थिति नभेटिएको जनाएको थियो। त्यसपछि खोजी कार्य सम्पन्न गरी सेनाको टोली सोमबार धुन्चे फर्किएको थियो।
तर कर्मचारीका परिवार तथा केही प्राविधिकले उद्धार टोली पावरहाउसको कन्ट्रोल रुमसम्म नपुगेको दाबी गरेपछि सेनाको खोजीको दायरा र वास्तविक पहुँचबारे प्रश्न उठेको छ।
९३ जना सम्पर्कविहीन
चिनियाँ भूभागबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ९३ जना सम्पर्कविहीन भएका थिए।
सम्पर्कविहीन हुनेमा रसुवागढी हाइड्रोपावर कम्पनीका ४९ जना कर्मचारी र २ जना ज्यालादारी मजदुर, शेर्पा हाइड्रो कन्स्ट्रक्सनका ३५ जना निर्माण कामदार, सीडब्लुईका ४ जना कर्मचारी तथा भनस कन्स्ट्रक्सनका ३ जना कर्मचारी रहेका छन्।
बाढीका कारण आयोजनाको भूमिगत डिसेन्डरमा ६ जना मानिस फसेका थिए। उनीहरूमध्ये ४ जना दुई दिनको प्रयासपछि आफैँ बाहिर निस्कन सफल भएका थिए। उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सकुशल उद्धार गरिएको थियो।
तर बाँकी सम्पर्कविहीन कर्मचारीको अवस्था अझै स्पष्ट हुन सकेको छैन। परिवारजनले पावरहाउस तथा सुरुङका सबै सम्भावित स्थानमा पुनः विस्तृत प्राविधिक खोजी गर्न माग गरेका छन्।
सरकारी निकायले भने सुरुङको कुन भागसम्म उद्धार टोली पुगेको थियो, ड्रोनले कति क्षेत्रको निगरानी गरेको थियो र पावरहाउसको कन्ट्रोल रुमसम्म प्रत्यक्ष पहुँच भयो वा भएन भन्नेबारे थप स्पष्ट विवरण सार्वजनिक गर्न आवश्यक देखिएको छ।











प्रतिक्रिया