काठमाडौं- एक महिनादेखि देशभर खाना पकाउने ग्यासको हाहाकार भइरहँदा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले निरीहता प्रकट गरेकी छन्।
बुधबार सिंहदरबारमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकलाई सम्बोधनका क्रममा उनले आफू निरीह भएर बस्नु परेको दुखेसो पोखिन् ।
‘उद्योगीहरूले गर्दा आज म निरीह भएर बसेको छु। निरीह र लाचार हुनुपरेको छ, ग्यास वितरणमा उद्योगीहरूले धोका दिए’, उनले भनिन्, ‘उद्योगीहरूले गर्दा सरकारलाई समस्या भयो । पैसा तिरेर पनि ग्याससहितका उपभोग्य सामान पाइँदैन भनेको सुन्दा हामीलाई लाज लागेको छ। ५८ वटा बिक्रेताले ग्यास बेचिरहँदा पनि उपभोक्ताकहाँ पुर्याइरहेको छैन । हामी निरीह भएका छौँ।’
उनले उद्योगीहरूले तीन-तीन हजार सिलिन्डर ग्यास नियमित रुपमा काठमाडौंमा ल्याइदिएको भए यो समस्या नहुने तर्क गरिन् । ‘अब हामी एउटा ग्यास उद्योग खोल्छौँ । आयल निगमले ग्यास उद्योग खोल्नै पर्छ। हामीसँग ग्यास उद्योग भएको भए घर घरमा पुर्याउन सक्थ्यौँ। यस्तो भन्ने मौका हुँदैनथ्यो । आयल निगमलाई ग्यास उद्योग खोल्नेतिर अब अघि बढाउँछौँ।’
उनले अहिलेको समस्याप्रति निरीहता प्रकट गर्दै अगाडि जे निर्देशन हुन्छ, त्यहीअनुसार अगाडि जाने बताइन् । तर निर्देशन कसले गर्ने भन्ने उनले खुलाइनन्।
मन्त्री गौरी कुमारीले नजिकिँदै गरेको चाडवाडलाई लक्षित गरी आपूर्ति व्यवस्थाःलाई प्रभावकारी बनाउने बताइन् । ‘कालोबजारी रोक्न बजार अनुगमन तीव्र बनाएका छौँ । म अगाडि पनि प्रभावकारी रुपमा जान्छु’, उनले भनिन्, ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका १४४ जिल्लाका १९३ स्थानबाट सहुलियतमा सामान बेच्छौँ। नेपाल फुड्स ब्रान्डका खाद्यान्नको विक्रीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएका छौँ।’













प्रतिक्रिया