दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा त्यहाँको घरेलु कार्यालयलाई यातायात कार्यालयको शाखाका रुपमा सञ्चालन ल्याइने गरी निर्णय गरिन लागेको बताएका छन् ।
आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयद्वारा देउखुरी आज यहाँ आयोजित आर्थिक वर्ष २०८२-८३ को वार्षिक समीक्षामा उनले उक्त निर्णय कार्यान्वयनमा आएपछि सेवाग्राहीलाई सहज रुपमा छिटो सेवा उपलब्ध हुने विश्वास व्यक्त गरे।
मुख्यमन्त्री आचार्यले यातायात क्षेत्रको काममा ढिलासुस्ती नगर्न राष्ट्र सेवक कर्मचारीले जिम्मेवार र पारदर्शी रुपमा काम गर्नुपर्ने आवश्यकता औँल्याए ।
सेवाग्राहीलाई अनावश्यक रूपमा कुराउने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिँदै उनले सेवाग्राहीलाई यथाशीघ्र सेवा उपलब्ध गराउन सुझाव दिए ।
उनले यातायातसम्बन्धी कामकारबाहीमा कसैले प्रश्न उठाउने अवस्था आउन नदिन कर्मचारीले अनुशासनमा रहेर कानुनको पूर्ण पालना गर्नुपर्ने बताए ।
सरकारले आगामी असोजदेखि १२ जिल्लाबाट सवारी पटके सेवा सञ्चालन गर्ने तयारी रहेको बताउँदै मुख्यमन्त्री आचार्यले थप छ जिल्लामा सवारी चालक अनुमतिपत्र नवीकरणलगायत अधिकार प्रत्यायोजन गरिने जानकारी दिए ।
यातायात क्षेत्र प्रदेश सरकारको राजस्व संकलनको एकल अधिकार क्षेत्र भएकाले त्यसमा पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्ने आवश्यकतामा जोड दिए ।












प्रतिक्रिया