काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसको इतिहास उसको सबैभन्दा ठूलो शक्ति हुनुका साथै प्रमुख कमजोरी पनि भएको टिप्पणी गरेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई काठमाडौँको खुलामञ्चमा सम्बोधन गर्दै सभापति लामिछानेले कांग्रेसले आफ्नो परम्परागत निष्ठा र समावेशी चरित्र कायम राख्न नसक्दा विचार र सिद्धान्त विचलनतर्फ गएको दाबी गरे।
“कांग्रेसको सबैभन्दा ठूलो शक्ति इतिहास हो, तर सँगसँगै तपाईंहरूको ठूलो कमजोरी पनि इतिहास नै हो,” उनले भने, “यदि पार्टीको निष्ठालाई महत्त्व दिइएको भए, भौतिक पूँजी भएकाहरूलाई भन्दा निष्ठावान्लाई प्राथमिकता दिएको भए, अनि पिछडिएका मान्छेलाई छाडेर अवसरवादीलाई टिकट नदिएको भए म पनि सायद कांग्रेस नै हुन्थेँ होला।”
सम्बोधनका क्रममा लामिछानेले दलीय गठबन्धन र अर्कै चुनाव चिह्नमा मतदान गर्नुपर्ने बाध्यताप्रति सङ्केत गर्दै आफ्ना कार्यकर्तालाई रूख छाडेर अरू नै चिह्नमा भोट हाल्न लगाउने प्रवृत्तिले कांग्रेसप्रति वितृष्णा पैदा गरेको उल्लेख गरे। उनले कांग्रेसलाई इतिहासको ब्याज मात्र नखाएर निष्ठा, सिद्धान्त र नयाँ पुस्ताको मूल्य-मान्यतामा फर्किन सुझावसमेत दिए।














प्रतिक्रिया