काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त र नीतिगत रूपान्तरणमुखी अभ्यासको थालनी गरिएको छ।
‘बदलियो कांग्रेस, बदल्छौँ देश’ र ‘कांग्रेस २.०’ को नारासहित काठमाडौँको ऐतिहासिक खुलामञ्चमा सुरु भएको महाधिवेशनमा यसपटक गुटगत ‘प्यानल’ खडा नगरी निर्वाचनमा जाने तयारी भइरहेको छ।
प्राकृतिक विपद्पछिको परिस्थिति र मितव्ययितालाई ध्यानमा राख्दै भौतिक पर्चा, पम्प्लेट, तोरण र फ्लेक्स ब्यानरमा पूर्ण प्रतिबन्ध लगाइएको छ। प्रचारप्रसारका लागि सहरी क्षेत्रका झण्डै १०० वटा डिजिटल बोर्ड र सामाजिक सञ्जालको मात्र प्रयोग गरिएको छ।
महाधिवेशनको उद्घाटन र बन्दसत्र दुवै खुलामञ्चमै आयोजना गरिएको छ। ऐतिहासिक पृष्ठभूमि बोकेको खुलामञ्चमा बन्दसत्रका लागि हिमाल, पहाड र तराई-मधेस नामकरण गरिएका तीनवटा ठूला हल निर्माण गरिएका छन्।
करिब ७ हजार ७ सय महाधिवेशन प्रतिनिधिलाई भौगोलिक आधारमा विभाजन गरी डिजिटल बोर्डमार्फत पेस गरिएका राजनीतिक, सांगठनिक तथा नीतिगत प्रतिवेदनमाथि छलफल गराइनेछ।

संशोधित विधानअनुसार अब बन्ने कांग्रेस केन्द्रीय कार्यसमिति २३२ सदस्यीय हुनेछ। जसमा १७१ जना निर्वाचित र ६१ जना सभापतिबाट मनोनीत हुने व्यवस्था छ। त्यस्तै सहमहामन्त्रीको सङ्ख्या ११ पुर्याइएको छ।
३५ वर्षमुनिका २१ जना युवा, कम्तीमा एकतिहाइ महिला र ‘ल्याटरल इन्ट्री’मार्फत विभिन्न क्षेत्रका ७ जना विज्ञहरूलाई केन्द्रीय समितिमा सुनिश्चित गरिएको छ। जनसम्पर्क समितिबाट ६ जना, अपाङ्गता भएका, अल्पसङ्ख्यक, श्रमिक र सहिद परिवारको समेत प्रतिनिधित्व हुनेछ।
महाधिवेशन प्रतिनिधिहरूका लागि सुन्धारा, ठमेल, गौशाला, कलङ्कीलगायत क्षेत्रमा आवास र भृकुटीमण्डपमा भोजनको प्रबन्ध मिलाइएको छ। सहभागीलाई ह्वाट्सएप, एआई र एसएमएसमार्फत सूचना प्रवाह गरिएको छ। स्वास्थ्य सेवाका लागि ३० जना स्वास्थ्यकर्मीसहितको ५ वटा हेल्थ डेस्क र २ वटा एम्बुलेन्स तैनाथ राखिएको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार असोज १९ गते सोमबार राष्ट्रिय सभा गृहमा उम्मेदवारहरूको मनोनयन दर्ता हुनेछ। प्राविधिक कारणले विद्युतीय मतदानको साटो परम्परागत मतपत्रमार्फत नै नेतृत्व चयन गरिने भएको छ।














प्रतिक्रिया