काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको छ। महाधिवेशनमार्फत गत वर्षको भदौ महिनामा भएको जेनजी आन्दोलनपश्चात फेरिएको राजनीतिक शक्ति सन्तुलनमा पुस महिनामा विशेष महाधिवेशन गरेर नेतृत्व लिएको गगन थापा नेतृत्वले औपचारिक महाधिवेशनमार्फत नयाँ नेतृत्व र नीति तय गर्दैछ।
यही महाधिवेशनसँगै नेपाली कांग्रेसमा लामो समयदेखि राजनीति गर्दै आएको पूर्वसभापति शेरबहादुर देउवासहित ठूलो समूह पार्टीबाट बाहिर परेको छ।
नेपाली कांग्रेसमा तेस्रो पुस्ताको नेतृत्वमा पार्टी हस्तान्तरण हुँदै गर्दा नेपाली कांग्रेसलाई लामो समयदेखि नजिकबाट अध्ययन गरेर विश्लेषण गर्दै आएका उप–प्राध्यापक तथा लेखक डा. जगत नेपालसँग खबरहबका नारायण अर्यालले संवाद गरेका छन्। प्रस्तुत छ, संवादको सम्पादित अंशः
अहिले नेपाली कांग्रेस १५औँ महाधिवेशनसम्म आइपुग्दा धेरै उकाली ओराली हामीले देख्यौँ, टुटफुट पनि धेरै देख्यौँ, त्यहाँभित्रका वैमनस्यता पनि धेरै देख्यौँ। तर, खासगरी नेपाली कांग्रेसको पार्टी निर्माणसँगै नेतृत्व निर्माणको प्रश्न र अहिलेको यो विकासक्रमलाई कसरी हेर्नुहुन्छ ?
नेपाली कांग्रेसको अहिले आठ दशक कति लामो इतिहास भयो। नेपालमा अहिले भएको संस्थामध्ये सबभन्दा पुरानो राजनीतिक संस्था चाहिँ यही हो। यसले नेपालमा २००७ सालको क्रान्ति गरेर १०४ वर्षे राणा शासनलाई अन्त्य गर्यो। ३० वर्षको पञ्चायती व्यवस्था अन्त्य गर्ने कामदेखि लिएर निरंकुश राजतन्त्र हुँदै संविधानसभाको निर्वाचनबाट गणतन्त्र घोषणा गर्ने र नेपाली जनताको चाहनाअनुसार संविधानसभाबाट संविधान जारी गर्ने कामको नेतृत्व पनि नेपाली कांग्रेसले गर्यो।
यस अर्थमा नेपालको इतिहास आधुनिक इतिहासको राजनीतिक सन्दर्भमा जाँदाखेरि नेपाली कांग्रेसलाई छोडेर नेपालको इतिहास नै बन्न सक्दैन। त्यसकारणले कांग्रेसको स्थापनाकालमा बिपी कोइरालाको पहिलो जुन अपिल थियो (सर्चलाइट पत्रिकामा छापिएको) त्यसको आधारमा भएको थियो र नेपाली कांग्रेसको नीति, भिजन र आवश्यकता यो संस्थाको परिकल्पनाकार बिपी कोइराला हुन्। मलाई लाग्छ अहिले नेपालको राजनीतिमा पनि जो नयाँ मान्छे आउँछ उसले बिपी कोइरालाकै गुणहरू लिन खोज्छ।
आजभन्दा तपाईंले कल्पना गर्नुस् ८०–९० वर्ष पहिला बिपीले कसरी त्यो भिजन तयार गरे र नेपाली कांग्रेस अहिले पनि त्यो पथमा गइरहेको छ वा विरोधीले बिपी कोइरालाको लाइन यसले छोड्यो भनिरहेका छन्। त्यसकारणले औसत नेपाली कांग्रेस हेर्दाखेरि फेरि बिपी कोइराला केन्द्रमा छन्। उनको नीति नै अहिले नेपाली कांग्रेसको नीति छ आजसम्म। त्यो बिन्दुमा हेर्नुपर्छ जस्तो मलाई लाग्छ।
बिपीलाई जसरी नेपाली कांग्रेसले स्थापित गर्ने प्रयास गरिराखेको छ। उसका दस्तावेजले त्यो कोसिस गरिराखेकै छन्। त्यही स्तरमा नेतृत्वको शृङ्खला विकास हुँदै आएको छ ?
नेपाली कांग्रेस मात्रै होइन, बिपी कोइराला भनेको अब एउटा राजनेता हुन्। उनलाई नेपाली कांग्रेसको सीमाभित्र राख्नुपर्छ जस्तो मलाई लाग्दैन। मैले झन्डै २० वर्ष नेपाली कांग्रेस पार्टीको बिट मात्रै हेरे पत्रकारिता गर्दाखेरि, मलाई लाग्छ यो सन्दर्भमा मैले जति मान्छे भेटे यो वा त्यो कित्ताको, उनीहरू अहिले बिपी कोइरालाको फिलोसोफी मेलमिलापको नीति होस् वा बिपीले ल्याएको डेमोक्रेसीको बारेमा उनले लिएको स्ट्यान्ड होस्, जनताको अधिकारको विषय होस् वा बिपी जस्तो पारदर्शी जसले उहाँ एउटा राजनेता मात्रै होइन, विश्वस्तरको एउटा एकदम उच्चस्तरको साहित्यकार पनि हो।
उहाँको संसारभरिको युनिभर्सिटीमा पढाइ हुन्छ। यो सबै सन्दर्भमा हेर्ने हो भने आजको दिनमा बिपी कोइरालालाई नेपाली कांग्रेसको घेराभित्र या नेपाली कांग्रेसको मात्रै प्रोपर्टीको रूपमा राख्नुहुन्छ जस्तो लाग्दैन ।
१५औँ महाधिवेशनसम्म आइपुग्दा गगन थापा निर्विवाद पार्टी सभापति निर्वाचित हुने सम्भावना छ भन्न सकिन्छ ?
कुनै पनि नेता बन्नलाई त्यो बेलाको वातावरण, त्यो बेलाको आवश्यकता, जनता, देशको परिस्थितिले महत्त्वपूर्ण हुन्छ । बिपी कोइराला त्यो बेलामा स्थापित हुनुभयो जुन बेलामा हाम्रो छिमेकी मुलुकमा अङ्ग्रेजको शासन थियो। नेपालमा राणा शासन थियो । त्यो बेला स्वतन्त्रता सबैभन्दा ठूलो आवश्यकता थियो तर जनताको चेतनाको लेभल अत्यन्त न्युन थियो। आज चाहिँ हामी त्योभन्दा धेरै अगाडि आइसकेका छौँ।
आज जुन प्रकारको विकास भइरहेको छ, बिपीले जसरी लिएर जानुभयो त्यही आधार त्यही नै हुनुपर्छ भन्ने तर मूलतः राजनीतिमा के भने सैद्धान्तिक स्पष्टता, नैतिक रूपमा इमानदार र उसको नेताको यत्न प्रयत्न चाहिँ देश र जनतालाई केन्द्रमा राखेर जानुपर्यो र तत्कालीन परिस्थितिको आधारमा जानुपर्यो। त्यसमा चाहिँ व्यक्तिलाई तुलना गर्ने विषय छैन।
व्यक्ति चाहिँ समयले निर्धारण गर्ने हो, उसको भूमिकाले निर्धारण गर्ने हो। तर बिपीको जुन उहाँले बनाएको जुन लाइन छ, त्यो लाइनलाई छोड्दिने हो भने नेपाली कांग्रेस नेपाली कांग्रेस रहँदैन या उसको औचित्य चाहिँ समाप्त हुन्छ।
त्यसैले अरू मान्छेहरू बिपीलाई फलो गरेर आइरहेका छन्। आज बिपीभन्दा म बाहिर छु भनेर कुनै नेताले भन्न सक्छ नेपाली कांग्रेसको ? बाहिरकोले त त्यो कपी गर्न खोजिराखेका छन् भने मलाई लाग्छ उनीहरूले त्यसलाई परिमार्जन गर्दै समयको आवश्यकताअनुसार नेता छानेर अगाडि बढ्छन् ।
नेपाली कांग्रेस स्थापनादेखि १७ सालसम्म धेरै उतारचढाव भएको देखिन्छ। सुवर्ण शमशेर र मातृकाप्रसाद कोइराला नेतृत्वमा आए । इतिहास हेर्दा सत्तामा जाने विषयमा त्यहाँ हानाथाप पनि देखिन्छ। त्यतिबेलाको बिपी, त्यो सहकार्य अथवा त्यो प्रतिस्पर्धालाई कसरी हेर्ने ?
हैन हाम्रो नेपालमा के छ भने सबै चिज सामान्य हिसाबले हुनुपर्छ भनेर हामी भनिराखेका छौँ, त्यो चिज गलत हो। डेमोक्रेटिक सिस्टममा वाद, विवाद, संवाद हुन्छ। लिडरसिप लिनलाई प्रतिस्पर्धा हुन्छ। प्रतिस्पर्धा भएन भने नेतृत्व विकास पनि हुँदैन। सर्वसम्मत कहाँ हुन्छ भन्दा जहाँ तानाशाही छ त्यहाँ हुन्छ। त्यसैले नेपाली कांग्रेस जस्तो एउटा भाइब्रेन्ट पार्टीमा, डेमोक्रेटिक पार्टीमा लिडरसिपको लागि मान्छेले आकांक्षा गर्नु कुनै ठूलो विषय होइन।
तत्कालीन परिस्थितिमा फेरि सबै चिज ठीक हुन्छ भन्ने पनि होइन किनभने त्यो परिस्थितिले निर्धारण गर्ने हो। एउटा जीवन्त पार्टीमा जुन प्रकारको डिबेट डिस्कसन हुनुपर्ने थियो नेपाली कांग्रेसमा पनि त्यही लेभलको छ, नेतृत्वको प्रतिस्पर्धा पनि त्यही तहमा छ। तर छलफलबाट त्यसलाई टुङ्ग्याइएको छ।
अब हामीकहाँ मात्रै होइन, बाहिरको डेमोक्रेसी पनि यस्तै विवादबाट आएको हो। हामीले हेर्दाखेरि बाहिर कसरी डिबेट विकास भयो ? ब्रिटिस पार्लियामेन्ट कसरी आयो ? त्यहाँ पोलिटिकल पार्टी कसरी आए ? अमेरिकामा कसरी आयो भने यही प्रोसेस पार गर्दै आउने हो। त्यसैले विवाद थियो, सतही भन्दा पनि त्यो बेलाको परिस्थिति के थियो, त्यसको बारेमा पर्याप्त रिसर्च गरेर जानु चाहिँ उचित हुन्छ होला। विवादरहित त केही चिज पनि हुँदैन।
“गगन थापा नेपाली कांग्रेसभित्र एउटा मानक स्थापित गर्ने नेताको रूपमा स्थापित हुन सक्नुहुन्छ। तर, राजनीतिमा सफलता समय, परिस्थिति र जनअपेक्षा अनुसारको कार्यशैलीले निर्धारण गर्छ।”
त्यो बेला बिपीले आफूलाई कसरी विकास गर्न सके ?
यसलाई दुई पार्टबाट हेर्नुपर्छ। जस्तो सर्वमान्य भन्नाले त पहिलो कुरा हामीले के सोध्नुपर्यो भने नेपाली कांग्रेस पार्टीको उत्पत्ति नै बिपीको परिकल्पनाबाट भएको हो। दोस्रो चाहिँ जहाँ–जहाँ बिपी कोइराला चुनाव लड्नु भएको छ, उहाँले चुनाव जित्नु नै भएको छ। अब आकाङ्क्षा सुवर्ण शमशेरको भए पनि सुवर्ण शमशेरकै प्रस्तावमा उहाँ प्रधानमन्त्री हुनुभएको छ दुई तिहाइको। त्यसकारणले उहाँले नमिलाएको पनि होइन।
सबै मान्छे पूर्ण हुँदैन। बिपी कोइराला एउटा मान्छे हो, उहाँलाई भगवानको रूपमा पनि त राख्नु भएन नि। उहाँ पनि हामी एउटा मान्छेमध्ये अलिकति अरूभन्दा बढी क्षमता भएको, दूरदृष्टि भएको एउटा राजनेता हो। त्यसैले भन्छन् नि मान्छेले अहिलेलाई मात्र सोच्छ, नेताले एकछिन पछिलाई सोच्छ, राजनेताले चाहिँ लामो समयलाई सोच्छ भनेजस्तै बिपीले एउटा परिकल्पना गर्नुभयो।
उहाँले जति लेख्नुभयो आज साहित्यमा, राजनीतिमा सबै कुराहरू उहाँले पारदर्शी रूपमा राख्दिनुभएको छ। त्यही भएर जति पनि नयाँ आउने मान्छेहरू हुन्छन्, उनीहरूले आइडियल पोलिटिक्स के हो भन्यो भने बिपी कोइराला नपढिकन अगाडि जाने परिस्थिति म देख्दिनँ। त्यसैले अब टावरिङ पर्सनालिटी हुँदाहुँदै पनि उहाँको विकल्प नै थिएन भन्ने रूपमा पनि हामीले हेर्नु हुँदैन।
पञ्चायतमा उहाँको धेरै समय निर्वासनमा बित्यो, त्यसपछि जेल जीवनमा पनि बित्यो। तर लोकतान्त्रिक आन्दोलनको नेतृत्व उहाँले नै गरिराख्नुभयो । बिपीको सफलता केलाई मान्ने ?
सफलता असफलता केलाई भन्ने ? प्रधानमन्त्री हुनलाई सफलता भन्ने कि राष्ट्रपति हुनलाई सफलता भन्ने कि ? नेपालको इतिहासमा धेरै प्रधानमन्त्री भए, धेरै नेता भए, कति वर्षसम्म पाँच पटक, छ पटकसम्म प्रधानमन्त्री भएको मान्छेहरू पनि छन्। तर बिपी त जम्मा १८ महिना प्रधानमन्त्री भाको हो नि त। उहाँ सफल हो भने उहाँको पूरा कार्यकाल त पूरा भएको होइन।
राजनीतिक लाभको हिसाबले त उहाँ सफल होइन। पञ्चायत कालमा उहाँ आठ वर्ष जेल बस्नुभयो, आठ वर्ष प्रवास बस्नुभयो। उहाँको जीवनको लामो समय त उहाँले प्रवास र जेलमा बसेर बिताउनुभयो। बिपी कोइराला आज पनि आधुनिक नेपालको एक नम्बरको नेता देखिनुहुन्छ भन्दाखेरि उहाँले लिएको विचार र उहाँको राजनीतिलाई उहाँले देशको आवश्यकता र जनताको पक्षमा गर्नुभयो। उहाँले पपुलर हुनलाई वा आजको जस्तो भाइरल हुने राजनीति कहिले पनि गर्नुभएन। कठिन परिस्थितिमा पनि उहाँले आफ्नो एउटा स्ट्यान्ड कायम गर्नुभयो।
बिपी कोइराला आज पनि आधुनिक नेपालको एक नम्बरको नेता देखिनुहुन्छ भन्दाखेरि उहाँले लिएको विचार र उहाँको राजनीतिलाई उहाँले देशको आवश्यकता र जनताको पक्षमा गर्नुभयो। उहाँले पपुलर हुनलाई वा आजको जस्तो भाइरल हुने राजनीति कहिले पनि गर्नुभएन। कठिन परिस्थितिमा पनि उहाँले आफ्नो एउटा स्ट्यान्ड कायम गर्नुभयो।
पञ्चायत कालमा ३० वर्षसम्म नेपाली कांग्रेस अपोजिसनमा रह्यो तर राजनीतिको केन्द्रमा बिपी कोइराला नै रहनुभयो। यो सबै कारणले गर्दा बिपी बिपी भएको जस्तो लाग्छ मलाई । अब सफल भन्या त उहाँको विचार हो, उहाँले दिएको फिलोसोफी सफल हो र उहाँले यो सङ्गठन बनाउनुभयो र खासगरी नेपालमा प्रजातन्त्र चाहिन्छ र प्रजातन्त्र नेपाली जनतालाई दिने, वाक् स्वतन्त्रता दिने कामको नेतृत्व त बिपी कोइरालाबाट भएको हो । त्यसकारणले उहाँ सफल हो जस्तो लाग्छ मलाई।
०४६ सालको आन्दोलन पछाडि अलिकति फरक परिवेशमा नेपाल अगाडि बढ्यो । त्यसपछि चाहिँ के बिपीले लिएको आदर्शअनुसार नेपाली कांग्रेसले आफूलाई अगाडि बढाउन नसकेको हो?
नेपाली कांग्रेसले बिपीको नीतिलाई त कहिले पनि छोड्या छैन, छोड्न पनि सक्दैन। त्यो बेलामा पनि माओवादीसँग त्यत्रो ठूलो कन्फ्लिक्ट भयो। देशमा सुरक्षाकर्मी मारिए, सेनाहरू पनि मारिए, ब्यारेकहरू लुटियो। सबभन्दा बढी त नेपाली कांग्रेसकै मान्छेहरू मारिए नि। तर पनि नेपाली कांग्रेसको नेतृत्वमै त्यो विद्रोही शक्तिलाई शान्ति प्रक्रियामा ल्याउनु नै बिपीको मेलमिलाप नीतिको आधारमा आएको छ।
जसरी बिपीले २०३३ सालमा आफूलाई जननिर्वाचित संसद् र सरकारलाई भङ्ग गरेर निरंकुश शासन सत्ता चलाउने राजाका प्रतिनिधि वा उनका छोरा नयाँ राजासँग उनले राष्ट्रिय सहमतिको आधारमा सहमति गरेर जनमत संग्रहमा जाने वातावरण ल्याए। यसलाई मान्छेले सामान्य रूपमा हेरेका छन्। राजाको निरंकुशतामा चलेको या पञ्चायती शासन, एकदलीय पञ्चायती शासनलाई चाहिन्छ कि चाहिँदैन भनेर जनमतमा जानु नै प्रजातान्त्रिक अभ्यास हो। र त्यो चुनाव हारेपछि अब के कारणले हारियो धेरै मान्छेको भनाइ छ।
गणेशमानजी, किसुनजी, मनमोहन अधिकारी उनीहरूले यसलाई बहिष्कार गर्नुपर्छ या धाँधली भो भनेका थिए। तर बिपी कोइरालाले परिणाम जस्तोसुकै अप्रत्याशित र पत्याउन नसकिने भए पनि म यसलाई स्वीकार्छु भनेर भन्नुभयो।
त्यही कडीमा तपाईंले हेर्नुभयो भने आफ्नो त्यत्रो कार्यकर्ताहरू मारिएका छन्। त्यही होलेरी काण्डको कारणले गर्दाखेरि तपाईंको माओवादीको कारणले गिरिजाप्रसादको सत्ता गएको छ। तर उहाँले माओवादीसँग वार्ता गरेर फेरि वार्ताको टेबुलमा ल्याएर शान्ति प्रक्रिया गरेर संविधान सभा चुनावमा जानुभयो। त्यो पनि त मेलमिलापकै एउटा कडी हो । समय भन्या जति परिवर्तन हुन्छ त्यसको आवश्यकताअनुसार पार्टीले आफूलाई रिफर्म गर्छ। त्यही ठाउँमा बस्यो भने त यथास्थितिवादी भइहाल्यो नि।
अब कांग्रेसको १५औँ महाधिवेशनमा आइपुग्दाखेरि, २०५९ सालमा पनि अब विभिन्न कारणले चाहिँ कांग्रेस विभाजित भयो, ६०–४० भनेर पनि केही समय पार्टीका दुई पार्टीका अभ्यासहरू भए। अब त्यसैबाट फेरि पार्टीको एकता भइसकेपछाडि पार्टीको सभापति अथवा नेतृत्व गर्नुभएको शेरबहादुर देउवा अहिले यो महाधिवेशनको प्रक्रियाबाट बाहिरिएको अवस्था देखिन्छ। उहाँहरूले छुट्टै महाधिवेशनको आयोजना गरिराख्नुभएको छ। नयाँ नेतृत्व स्थापित हुने प्रक्रियालाई तपाईंले नजिकबाट कसरी हेरिराख्नुभएको छ?
यो चाहिँ नियमित प्रक्रिया जस्तो लाग्छ मलाई किनभने नेपाली कांग्रेसमा यो पहिलो फुट होइन। पहिला चाहिँ डिल्लीरमण रेग्मी र बिपी कोइरालाको नेपाली राष्ट्रिय कांग्रेस नेपाली कांग्रेस नहुँदै फुट भयो। त्यसपछि नेपाली कांग्रेसको संस्थापक सभापति मातृकाप्रसाद कोइराला हुनुहुन्थ्यो। उहाँ प्रधानमन्त्री हुँदा उहाँलाई साधारण सदस्यबाट निष्कासित गरेर नेपाली काँग्रेस र नेपाल प्रजा पार्टी दुइटा पार्टी बन्यो। त्यो फेरि एकता भयो।
त्यसपछि ०३६ सालपछि ०३८ सालमा फेरि फुट्यो। ०५९ सालमा शेरबहादुर देउवाले नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भनेर फुटाएर नेतृत्व गर्नुभयो। त्यो बेला पनि नेपाली काँग्रेसले उहाँलाई दुई वर्षको लागि साधारण सदस्यबाट निष्कासित गर्यो। फेरि पार्टी मिल्यो। अहिले फेरि त्यही बिन्दुमा पुगेको छ। यो एउटा पार्टीमा सैद्धान्तिक, वैचारिक मतभेद हुन सक्छ, हेर्ने दृष्टिकोणमा हुन सक्छ। त्यो विभाजनले एउटा प्रक्रिया हो जस्तो लाग्छ ।
यसलाई कहिले पनि नभएको घटनाको रूपमा हामीले लिनु हुँदैन, हैन? यो भइरहेको घटना हो तर, यसले चाहिँ जेसुकै भए पनि पोलिटिकल पार्टी फुट्नु प्रजातन्त्रको लागि सुखद एउटा राम्रो सन्देश होइन। यसले डेमोक्रेटिक सिस्टमलाई कमजोर बनाउँछ। अन्ततः त्यसले चाहिँ प्रजातान्त्रिक प्रक्रियालाई कमजोर बनाउँछ। त्यो तर्फ चाहिँ सचेत हुनुपर्छ जस्तो मलाई लाग्छ। बाँकी फुट्ने त उहाँहरूको राइट हो। आज फुट्नु होला, भोलि मिल्नु होला, हैन ? पहिला पनि मिलेकै हो। त्यसकारण त्यसलाई त्यस्तो रूपमा मैले लिँदिनँ।
गगन थापाको नेतृत्वमा अगाडि बढिराखेका यी सबै प्रक्रियाहरू अलि बहुमतमा देखिन्छन्। त्यसकारणले कांग्रेसको मूलप्रवाह यही नै हो भनेर भन्न सकिन्छ अहिले?
यसमा दुई पार्टबाट हेर्नुपर्छ। एउटा चाहिँ अहिलेसम्मको स्थितिमा वैधानिक रूपमा, राजनीतिक रूपमा गगन थापाको नेतृत्व चाहिँ आधिकारिक हो। किनभने अदालतले पनि उसलाई दिएको छ, निर्वाचन आयोगले पनि दिएको छ र कार्यकर्ताको समग्र रूपमा उपस्थिति पनि त्यहाँ बढी छ। यो विवाद अदालतमा विचाराधीन नै छ। अर्को, नेपाली कांग्रेसमा आधिकारिकता जहाँ छ त्यहीँ बस्ने हो भन्ने संस्कारमा हुर्किरहेका पनि त्यहाँ छन्।
अब थोरै हामी इतिहासदेखि अहिलेसम्म एउटा संक्षेपीकरणमा नेपाली कांग्रेसका नेतृत्वको केही विशेषताको विषयमा विश्लेषण गराैँ। विश्वेश्वरप्रसाद कोइराला, मातृकाप्रसाद, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवा, गगन थापा लगभग उहाँहरू नै नेपाली कांग्रेसको नेतृत्वमा दर्ज भएको हामीले देख्याैँ। तपाईँ उहाँहरूको विशेषतालाई कसरी वर्णन गर्नुहुन्छ?
एउटा चाहिँ नेपाली कांग्रेसको स्थापना कालमा जो नेताहरू हुनुहुन्थ्यो बिपी, सुवर्ण शमशेर या गणेशमान सिंह, मातृकाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालासम्म उहाँहरू चाहिँ एउटा उच्च राजनीतिक संस्कारमा हुर्किनुभयो। त्यो बेलामा भारतमा स्वतन्त्रता आन्दोलन चलिरहेको थियो, गान्धीको अहिंसात्मक आन्दोलन चर्किएको थियो। संसारभरि नैतिकताको आधारमा राजनीति गर्नुपर्छ भन्ने थियो। राजनीति भनेको कमाउनको लागि होइन, सेवाभावको लागि हो भन्ने एउटा मान्यता थियो। त्यही भएर त्यो बेलाको नेताहरूको सारा जिन्दगी चाहिँ समाजसेवामा गयो।
तपाईंले बिपीको हेर्नुभयो भने तीन सालमा क्यान्सर भएको मान्छे। उहाँले टाटा मेमोरियलमा त्यो बेला उपचार गर्नुभयो। सारा जीवन उहाँले पोलिटिक्समा बिताइदिनुभयो। गणेशमानजीको हेर्नुहुन्छ भने उहाँ चाहिँ यहाँको बडाकाजीको नाति, काठमाडौँको सम्पन्न राणा परिवारमा अत्यन्त ठूलो पहुँच भएको मान्छे। उहाँलाई जन्मकैद भो, उहाँ जेल तोडेर भाग्नुभो र कहीँ पनि उहाँले जीवनमा कम्प्रमाइज गर्नुभएन। नेपाली कांग्रेसमा उहाँ सभापति हुनुभएन, प्रधानमन्त्री हुनुभएन तर प्रधानमन्त्रीको पद उहाँले त्याग्दिनुभो। त्यसकारणले उहाँ चाहिँ कुनै सभापति, कुनै प्रधानमन्त्रीभन्दा मुनि छैन उहाँको इतिहासमा, उहाँको माथि नै छ।
अब त्यसपछि बिपीको त हामीले अघि भनिसक्यौं। मातृका बाबुको पनि तपाईंको त्यो बेलामा उहाँले जुन तहमा हेर्नुभयो, जस्तो गर्नुभयो उहाँले पनि राम्रो एउटा कन्ट्रिब्युसन गरेर राणा शासन उहाँको नेतृत्वमा पतन भयो र त्यो पछि उहाँले लिडरसिप गर्नुभो।
अब कृष्णप्रसाद भट्टराईकोमा जानुभो भने तपाईं नेपालमा यस्तो पनि प्रधानमन्त्री थियो जो दुई–दुई पटक प्रधानमन्त्री भो, सिद्धान्तअनुरूप उसले जीवनभर आफ्नो आचरण अनुसरण गर्यो। कुनै सम्पत्ति जोडेन, घर बनाएन। प्रधानमन्त्री हुँदा र प्रधानमन्त्रीबाट निस्किँदा एउटा ट्याङ्का, सुराही र छाता बोकेर मात्रै आयो।
त्यसपछि गिरिजाप्रसाद कोइरालाको तपाईंले हेर्नुभयो भने लडाकु नेता हुन्। उनी तीन सालदेखि लडेर गणतन्त्र स्थापना गर्दासम्म अविराम लड्नुभयो। प्रजातन्त्रको बारेमा कहीँ पनि उहाँले कम्प्रमाइज गर्नुभएन। यद्यपि शासन सञ्चालनको बेलामा उहाँबाट कतिपय कमजोरी पनि भए । जस्तो संसद् भङ्ग गर्नेदेखि लिएर पार्टीको विवाद भए। तर डेमोक्रेटिक सिस्टम र प्रजातन्त्रको मूल्य र मान्यतामा गिरिजाप्रसादले कहीँ पनि बदमासी गर्नुभएन। मलाई लाग्छ दुनियाँमा कोहीसँग पनि नडराउने कुनै लिडर थियो भने एउटा गिरिजाप्रसाद कोइराला पनि हो।
गिरिजाप्रसाद कोइरालापछि चाहिँ पार्टीमा सिफ्ट भो। त्यसपछि नयाँ जेनेरेसन आयो। त्यसको अर्को नेता सुशील कोइराला जो प्रधानमन्त्री हुनुभो, पार्टीको सभापति हुनुभो। मलाई लाग्छ नेपालमा त्यो लेभलको क्लिन इमेज भएको लिडर चाहिँ अब पाइँदैन होला, त्यो युग समाप्त भो। मलाई सोध्नुहुन्छ भने कृष्णप्रसाद भट्टराई पछिल्लो कालका, ४६ पछि मनमोहन अधिकारी र सुशील कोइराला यिनीहरू चाहिँ मिस्टर क्लिन नै हो। यिनीहरूको बारेमा कहीँ पनि प्रश्न छैन, यिनीहरूलाई कुनै चिजको लोभलालच थिएन।
त्यसपछि अर्को एउटा पुस्ता आयो कांग्रेसमा जसले चाहिँ संघर्ष थियो तर सत्तामा पुगेपछि उसले सत्ता र शक्तिको प्रयोग गरेर सबै गर्न सकिन्छ भन्यो। एउटा विकृति पनि भित्र्यायो । पैसाको पनि धेरै चलखेल भो भन्ने कुरा आयो, बिचौलियाहरू हावी भए। त्यो एउटा पोखरीमा लामो समय पानी जम्यो भने त्यो दुर्गन्धित भएजस्तो स्थिति आयो। संयोगले त्यसको लिडरसिपमा शेरबहादुर देउवा पर्नुभो।
अब अहिले त नयाँ सभापति आउनुभएको छ। अहिलेको सभापतिको सबै हिसाबले तुलना गर्दाखेरि उहाँलाई उम्दा राजनीतिज्ञको रूपमा मान्छु म। तर उहाँ फस्र्ट म्यान हुनुभएको छैन। नेपाल जस्तो देशमा पार्टीको फस्र्ट म्यान हुनुभो, अब उहाँको टेस्ट हुँदै छ। सरकारमा प्रधानमन्त्री नभइकन तपाईंले उहाँले के गर्नुभो भनेर मूल्याङ्कन गर्न समय पनि भएको छैन। विशेष महाधिवेशनपछि उहाँको धेरै कम समय छ। मलाई लाग्छ अहिलेसम्मको उहाँको कमेन्ट गर्ने ठाउँ चाहिँ छैन। यही रूपमा जानुभो भने उहाँ पनि एउटा मानक स्थापित गर्ने नेताको रूपमा स्थापित हुन सक्नुहुन्छ। यही रूपमा हेर्नुपर्छ जस्तो मलाई लाग्छ।
राजनीति भनेको तुरुन्तै हुने चिज होइन। यो अहिले कुनै इनर्जी ड्रिङ्क खाएर एकैचोटि इनर्जी आउने विषय होइन। यो चाहिँ लामो समय यिनीहरूको अभ्यासलाई जनताले हेर्छ, मूल्याङ्कन गर्छ र एउटा निर्णय गर्छ।
जेनजी आन्दोलनपश्चात् फागुनमा भएको चुनाव पछाडि नेपालमा दुईवटा डेमोक्रेटिक पावर सँगसँगै अगाडि बढ्छन् कि भन्ने सङ्केत देखिएको छ। यसलाई तपाईँले कसरी हेर्नुभएको छ?
अब यो बडा अप्ठ्यारो प्रश्न तपाईंले सोध्नुभो किनभने यो कसरी जान्छ भनेर फ्युचरको प्रेडिक्सन अहिले गर्न गाह्रो छ। तर म एउटा मात्र भन्छु, राजनीति भनेको तुरुन्तै हुने चिज होइन। यो अहिले कुनै इनर्जी ड्रिङ्क खाएर एकैचोटि इनर्जी आउने विषय होइन। यो चाहिँ लामो समय यिनीहरूको अभ्यासलाई जनताले हेर्छ, मूल्याङ्कन गर्छ र एउटा निर्णय गर्छ।
त्यसैले प्रजातन्त्रमा आवधिक निर्वाचनले शक्तिको निर्धारण गर्छ। अहिले तीन वर्ष अगाडि मेयर भएको या कार्यकाल पूरा नभएको बालेन शाह उहाँले आफ्नो सोसल मिडिया अकाउन्टमा हाल्नुभो ‘अर्को चोटी भोट हाल्ने हो, मैले आफैलाई हाल्ने हो’ भन्नुभो र उहाँ पाँच वर्ष नपुग्दै मेयर भएर प्रधानमन्त्री हुनुभो। यति फास्ट राजनीति चेन्ज भइरा छ। भोलि यो हुन्छ भनेर अहिले नै मूल्याङ्कन गर्नु या त्यसको विश्लेषण गर्नु एकदम छिटो हुन्छ, हतारको हुन्छ, त्यतातिर नजाऔं।
परिपक्व रूपमा यो पार्टीहरू आउनुपर्छ। कुन पार्टी रहने, कुन पार्टी नरहने भन्ने ठूलो कुरो होइन। तर प्रजातान्त्रिक पद्धति रहन्छ कि रहँदैन, जनताको अधिकार रहन्छ कि रहँदैन, देशलाई लाभ हुन्छ कि हुँदैन, विकास हुन्छ कि हुँदैन, यो एजेन्डामा जुन पार्टीले उम्दा एउटा आफ्नो प्रस्तुति गर्छ जनताले त्यसैलाई विश्वास गर्छ। मलाई लाग्छ पार्टीहरू त्यो बाटोमा जानुपर्छ जस्तो म ठान्छु।














प्रतिक्रिया