काठमाडौँ– यस वर्षको मनसुन अवधिमा देशभर भएका विपद्जन्य घटनामा परी १३३ जनाको मृत्यु भएको छ भने १४ जना बेपत्ता भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीको घटनाबाहेक मनसुनजन्य विपद्मा २२७ जना घाइते भएका छन् । यस्ता घटनाबाट तीन हजार ५३३ परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।
प्राधिकरणका प्रवक्ता राम केसीले यस वर्षको मनसुन ११८ दिनसम्म कायम रहेको जानकारी दिए । उनका अनुसार मनसुन अवधिमा ७७ वटै जिल्ला विपद्बाट प्रभावित भएका थिए भने मानवीय क्षतिको आधारमा ४५ जिल्ला बढी प्रभावित भएका थिए ।
यस वर्ष मनसुन अवधिमा भोटेकोशी बाढी, असोज ७ देखि ११ गतेसम्मको वर्षापछिको बाढी, पहिरो तथा डुबान प्रमुख विपद्का घटनाका रूपमा रहेका छन् । बुढीगण्डकीमा आएको बाढीका कारण गोरखा जिल्ला पनि प्रभावित भएको थियो ।
गत वर्षको मनसुन अवधिमा विपद्जन्य घटनामा परी १४० जनाको मृत्यु भएको थियो भने ३० जना बेपत्ता र ३०० जना घाइते भएका थिए । उक्त अवधिमा पाँच हजार ९९५ परिवार प्रत्यक्ष प्रभावित भएका प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।
प्राधिकरणका अनुसार यस वर्ष समग्रमा औसत वर्षा भए पनि छोटो अवधिमा भएको भारी वर्षाका कारण विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानका घटना भएका थिए ।














प्रतिक्रिया