काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले महागुरु फाल्गुनन्दले देखाएको मार्गनिर्देशनले नेपाली समाजलाई नैतिक, सभ्य र एकताबद्ध बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको बताएका छन्।
किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सामाजिक कुरीति र रूढीवादी परम्पराको अन्त्य गरी समाजलाई सही बाटोमा डोर्याउन फाल्गुनन्दले खेलेको भूमिका स्मरणीय रहेको उल्लेख गरेका हुन् ।
उनले फाल्गुनन्दको मार्गदर्शनले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन योगदान पुर्याएको बताए ।
राष्ट्रपति पौडेलले किराँत धर्म र संस्कृतिको मौलिक पहिचान तथा संरक्षणमा फाल्गुनन्दले पुर्याएको योगदानको कदर गर्दै नेपालका विभिन्न जिल्लामा विशेष कार्यक्रम आयोजना गरी उनको जन्मजयन्ती मनाउने गरिएको सन्देशमा उल्लेख गरेका छन्।
धार्मिक गुरु तथा सामाजिक अभियन्ताका रूपमा फाल्गुनन्दले धर्म, भाषा, लिपि र परम्पराको संरक्षण तथा विकासका साथै समाज सुधारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको राष्ट्रपति पौडेलले स्मरण गरे ।
उनले फाल्गुनन्द जयन्तीले सबैलाई सहिष्णुता, सद्भाव, सुशासन, अहिंसा र समाज सुधारको अभियानमा सक्रिय रहन थप प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गरेका छन् ।














प्रतिक्रिया