काठमाडौँ– अमेरिकी प्रतिनिधिसभामा रक्षामन्त्री पीट हेग्सेथविरुद्ध महाभियोग लगाउने प्रयास विफल भएको छ । इरान युद्ध सञ्चालन गरेको विषयलाई लिएर उनीमाथि महाभियोग प्रक्रिया अघि बढाउने प्रस्तावलाई रिपब्लिकन सांसदहरूले असफल बनाएका हुन् ।
मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय व्यहोरेको केही दिनपछि आएको यस निर्णयले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संसद्मा राहत दिएको छ ।
प्रतिनिधिसभामा महाभियोग प्रस्तावलाई न्यायिक समितिमा पठाउने पक्षमा २११ र विपक्षमा २०४ मत परेको थियो । प्रस्ताव पारित हुन नसकेपछि हेग्सेथमाथि औपचारिक महाभियोग आरोप लगाउने विषयमा बुधबार हुने भनिएको मतदानसमेत रोकिएको छ । ट्रम्पका आलोचक रिपब्लिकन सांसद थोमस म्यासीले पेस गर्नुभएको प्रस्तावलाई आफ्नै पार्टीका सांसदहरूले समेत समर्थन गरेनन् ।
म्यासीले पेस गरेको प्रस्तावमा कङ्ग्रेसको स्वीकृतिबिना इरानविरुद्ध युद्ध सञ्चालन गरेको, अधिकारको दुरुपयोग गरेको तथा यमनका हुथी विद्रोही र लागूऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएका डुङ्गामाथि आक्रमण गरेको लगायत आठवटा आरोप समेटिएका थिए । त्यस्तै, सिनेटर मार्क केलीमाथि कारबाहीको प्रयासमार्फत अभिव्यक्ति स्वतन्त्रता दबाउन खोजेको आरोप पनि लगाइएको थियो ।
रक्षामन्त्री हेग्सेथले महाभियोगको प्रयासलाई राजनीतिक प्रहसनको संज्ञा दिँदै आफूमाथिका आरोप अस्वीकार गरेका छन् । उनले इरान, यमन र भेनेजुएलाविरुद्ध सञ्चालन गरिएका सैन्य कारबाहीको बचाउ गर्दै आवश्यक परे पुनः त्यस्ता कारबाही गर्न तयार रहेको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले हेग्सेथको कार्यसम्पादनको प्रशंसा गर्दै प्रतिनिधिसभाको मतदान परिणामलाई आफ्नो पक्षको विजयका रूपमा स्वागत गरे। उपराष्ट्रपति जे डी भान्सले पनि रक्षामन्त्रीले महाभियोग लगाउनुपर्ने कुनै अपराध नगरेको बताए ।
यद्यपि, आगामी जनवरीमा डेमोक्रेटिक पार्टीले कङ्ग्रेसको नियन्त्रण लिएपछि हेग्सेथविरुद्ध महाभियोगको प्रयास पुनः अघि बढ्न सक्ने सम्भावना छ ।
ट्रम्प समर्थित उम्मेदवारसँग पार्टीको प्राथमिक निर्वाचनमा पराजित भएका प्रस्तावक म्यासीले भने आफ्नो कार्यकाल सकिएपछि कङ्ग्रेस छाड्नेछन् ।














प्रतिक्रिया