गाडीमा सिट नपाउँदा बाँचे अवधेश, गुमाए छ आफन्त « Khabarhub

गाडीमा सिट नपाउँदा बाँचे अवधेश, गुमाए छ आफन्त

छठ मनाउन हिँडेका परिवारको भीमफेदीमा अस्तायो खुसी


२६ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा – अवधेश यादवले छठ पर्व मनाउन सर्लाहीस्थित घर फर्किने सबै तयारी पूरा गरिसकेका थिए । बुधबार साँझ नै कपडा र छठ पूजाका लागि आवश्यक सामग्री मिलाएर राखिएका थिए । श्रीमती, छोराछोरी र दुई भाइसँगै गाउँ पुग्ने योजनाअनुसार उनी राति करिब १ बजे उठे । श्रीमती पुनमदेवी यादवलाई पनि उठाए । त्यसपछि अवधेश छोराछोरीलाई तयार पारेर परिवारका सबै सदस्य ललितपुरको टीकाथली चोक पुगे ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका छिमेकी र आफन्त मिलेर विद्युतीय माइक्रोबस रिजर्भ गरेका थिए । सबैको उद्देश्य एउटै थियो, घर पुगेर परिवारसँग छठ मनाउने । अवधेशका परिवारबाट मात्रै आठ जना यात्राका लागि निस्किएका थिए ।

गाडीमा चढ्ने बेला अवधेशका लागि ठाउँ पुगेन । बालबालिकासहित यात्रुले गाडी भरिएको थियो । केहीबेरको अन्योलपछि अवधेशले श्रीमती, छोराछोरी र दुई भाइलाई पठाएर आफू पछि जाने निर्णय गरे । एक दिन थप फलफूलको व्यापार गरेर घर फर्किने सोचसहित उनी कोठामा फर्किए । बिहान उठ्दा भने अवधेशले परिवार चढेको गाडी दुर्घटनामा परेको खबर थाहा पाए। छठ मनाउन घर पठाएका अवधेशका श्रीमती, तीन छोरी र दुई भाइको ज्यान गएको थियो ।

बिहीबार साँझ हेटौँडा अस्पताल परिसरमा भेटिएका अवधेशले गाडीमा ठाउँ नपुगेपछि परिवारका सदस्यलाई पठाएर आफू पछि आउने निर्णय गरेको सुनाए । छठ मनाउन परिवारसँगै घर जाने योजना बनाएका उनका लागि त्यही बिदाइ अन्तिम बन्न पुग्यो ।

अवधेशकी ३५ वर्षीया श्रीमती पुनमदेवी यादव, १० वर्षीया छोरी अनुकुमारी, सात वर्षीया दीक्षा, पाँच वर्षीया दीपिका तथा दुई भाइ २६ वर्षीय विकेश र २४ वर्षीय सुवोध यादवको उक्त दुर्घटनामा मृत्यु भएको हो । विकेश काठमाडौँमा सिभिल इन्जिनियरिङ अध्ययन गर्दै थिए भने सुवोध फलफूल व्यापारमा संलग्न थिए । परिवारका १४ महिनाका बालक सुदीप यादव भने दुर्घटनामा घाइते छन् ।

त्यही गाडीमा सवार ३३ वर्षीय मुकेश यादव पनि छठ मनाउन सर्लाही फर्किँदै थिए । उनका अनुसार बुधबार मध्यरातपछि करिब २ बजे टीकाथलीबाट यात्रा सुरु भएको थियो । गाडीमा अधिकांश यात्रु एउटै गाउँका छिमेकी र आफन्त थिए । उनले चालकलाई पहिलेदेखि नै चिनेका हुन् र यसअघि पनि सोही गाडीमा यात्रा गरिसकेका थिए ।

तर बिहीबार बिहान करिब ५:४५ बजे मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा उनीहरू चढेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय माइक्रोबस सडकबाट भिरमा खस्यो ।

दुर्घटना हुँदा मुकेश निदाइरहेका थिए । गाडी कसरी सडकबाट तल खस्यो भन्ने उनलाई थाहा भएन । गाडीसँगै भिरमा पुगेपछि मात्रै दुर्घटनाबारे थाहा पाए। आफूहरूमध्ये अधिकांश यात्रु निदाइरहेको उनले अस्पतालमा उपचारका क्रममा बताए ।

दुर्घटनामा मुकेशको ज्यान जोगियो । तर उनीसँगै घर फर्किँदै गरेका धेरै छिमेकी र आफन्त गन्तव्यमा पुग्न पाएनन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

आज बिहान ५:५५ बजे दुर्घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । त्यसपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको थप जनशक्ति परिचालन गरियो । तर दुर्घटनास्थलसम्म पुगेर घाइते र मृतकको उद्धार गर्न सहज थिएन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक श्यामबहादुर खत्री बिहानदेखि घटनास्थलमा खटिएको थियो । दिनभरको उद्धारपछि फर्किनुभएका उहाँले रासससँगको कुराकानीमा दिनभर भोग्नुपरेका कठिनाइ सुनाए ।

“आज दिन बितेको पत्तै भएन आज,” उनले भने।

प्रहरी उपरीक्षक खत्रीका अनुसार दुर्घटनास्थल अत्यन्त ठाडो भिरमा थियो । मानिस सहज रूपमा हिँड्ने बाटो थिएन । घाँसका बुट्यान र रूखका हाँगा समातेर तलमाथि गर्नुपर्ने अवस्था थियो । माथिबाट ढुङ्गा खस्ने जोखिम उत्तिकै थियो । उद्धारका लागि लगिएको डोरीको लम्बाइसमेत अपुग भएपछि काम थप कठिन बनेको थियो ।

“मान्छे हिँड्ने बाटै छैन । घाँसको बुटा र रूखका हाँगा समातेर माथि आउनुपर्ने अवस्था थियो,” प्रहरी उपरीक्षक खत्रीले सुनाए। मृतकका शव निकाल्न डोको प्रयोग गर्ने प्रयाससमेत गरिएको थियो । तर ठाडो भिरमा डोको बोकेर पाँच मिटर पनि अघि बढ्न नसकिएको उहाँले बताउनुभयो । बोक्ने व्यक्ति नै लड्ने जोखिम भएपछि उक्त प्रयास छाड्नुपरेको थियो । उद्धारमा खटिएका सुरक्षाकर्मीका लागि आफ्नै ज्यान जोगाएर काम गर्नु चुनौतीपूर्ण बनेको थियो ।

भिरमा एकअर्कालाई देख्न र आवाज सुन्नसमेत कठिन थियो । सञ्चार सम्पर्क सहज नहुँदा टोलीबीच समन्वयमा समस्या परेको प्रहरी उपरीक्षक खत्रीले सुनाए । मोबाइल फोन उठाउन पनि हातले बुट्यान समात्न छाड्नुपर्ने र त्यसले चिप्लिने जोखिम बढाउने अवस्था थियो ।

प्रहरी उपरीक्षक खत्री बिहानदेखि उद्धार कार्यमा व्यस्त थिए । दिउँसो करिब ३ बजेमात्रै चाउचाउ खान पाएको उनले सुनाए । घटनास्थलमा पानीसमेत सहज रूपमा खान सकिने अवस्था थिएन । दुर्घटनापछि यात्रुको सङ्ख्या यकिन गर्न पनि समय लाग्यो । प्रहरी उपरीक्षक खत्रीका अनुसार गाडीमा चालकसहित २० जना सवार थिए । तीमध्ये छ जना काखमा बोकेर यात्रा गराइएका बालबालिका थिए ।

गाडी भिरमा खस्दा यात्रुहरू फरक–फरक स्थानमा पुगेका थिए । कतिपय गाडी नजिकै भेटिए भने कतिपयलाई निकै टाढासम्म खोज्नुपरेको थियो । सुरुमा फेला परेका यात्रुको सङ्ख्या नमिलेपछि थप सुरक्षाकर्मी परिचालन गरेर खोजतलास गरिएको थियो । त्यही खोजतलासका क्रममा १४ महिनाका सुदीप जीवित भेटिए । प्रहरी उपरीक्षक खत्रीका अनुसार बालक दुर्घटनास्थलको एक छेउमा फेला परेका थिए । अन्य यात्रु छुटेका छन् कि भनेर खोज्दा बालक जीवित भेटिएको उनले बताए ।

अवधेशका परिवारका अन्य छ सदस्यको मृत्यु हुँदा सुदीप भने जीवित भेटिएका हुन् । उनलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो । प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटनामा घाइते भएका छ जनामध्ये मुकेश यादव, पाँच वर्षीय सक्षमकुमार यादव र २६ वर्षीय देवेन्द्र राय उपचारपछि डिस्चार्ज भएका छन् । तीन वर्षीय सुजन यादव र सुदीप यादवलाई थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पताल तथा ३१ वर्षीय देवेन्द्र रायलाई भरतपुरस्थित मनकामना अस्पताल पठाइएको छ ।

दुर्घटनाको कारण भने खुलिसकेको छैन । प्रहरी नायब उपरीक्षक काफ्लेका अनुसार गाडी अघिल्लो साँझ सर्लाहीबाट काठमाडौँ आएको र राति पुनः यात्रु लिएर फर्किएको प्रारम्भिक जानकारी छ । चालकले पर्याप्त विश्राम नपाएको हुनसक्ने विषयमा समेत अनुसन्धान भइरहेको छ ।

प्रहरी उपरीक्षक खत्रीका अनुसार गाडी चिसापानीगढी नजिकको घुम्तीबाट सडक छाडेर तल खसेको पाइएको छ । दुर्घटनाको कारण पत्ता लगाउन जिल्ला प्रशासन कार्यालयले छानबिन समिति गठन गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले भीमफेदी–देउराली सडकखण्डमा पछिल्लो एक वर्षमा तीनवटा ठूला दुर्घटना भएको बताए । जोखिमपूर्ण घुम्तीमा आवश्यक सुरक्षा संरचना, ट्राफिक सङ्केत र घुम्तीमा राखिने ऐनालगायत सामग्रीको अभाव रहेको उल्लेख गर्दै उनले सडक सुधारका लागि बागमती प्रदेश सरकारसँग छलफल गरेको जानकारी दिए।

चालकको पर्याप्त विश्राम, सवारीसाधनको निगरानी र सडक सुरक्षामा प्रभावकारी व्यवस्थापन आवश्यक रहेको उनको भनाइ छ । छठ मनाउन परिवारसँग घर फर्किने तयारीमा रहनुभएका अवधेश गाडीमा ठाउँ नपाउँदा काठमाडौँमै रोकिनुभयो । उहाँले बिदाइ गरेका श्रीमती, तीन छोरी र दुई भाइ भने घर पुग्न पाएनन् । दुर्घटनास्थलमा जीवित भेटिएका १४ महिनाका सुदीपको उपचार भइरहेको छ ।

अर्कातर्फ, दुर्घटनाबाट जोगिनुभएका मुकेशका लागि पनि त्यो यात्रा जीवनभर सम्झनामा रहनेछ । छठ मनाउन सँगै घर फर्किएका छिमेकी र आफन्तमध्ये धेरैको यात्रा भीमफेदीमै टुङ्गियो । दुर्घटनाको वास्तविक कारण अनुसन्धानबाट खुल्नेछ । तर पटक–पटक ठूला दुर्घटना भइरहने सडकमा आवश्यक सुरक्षा संरचना, चालकको विश्राम र सवारी व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने आवश्यकता यस घटनाले फेरि उजागर गरेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८३, बिहिबार  १० : ०० बजे

गाडीमा सिट नपाउँदा बाँचे अवधेश, गुमाए छ आफन्त

हेटौँडा – अवधेश यादवले छठ पर्व मनाउन सर्लाहीस्थित घर फर्किने

तनहुँमा जिप सडकबाट ५० मिटर तल खस्दा ६ जना घाइते

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–११ गोटपानीमा बिहीबार अपराह्न बलेरो जिप

हरित हाइड्रोजन र युरिया उत्पादनमा लगानी गर्न वनमन्त्री चौधरीको आग्रह

अन्ताल्या (टर्क) – कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले औद्योगिक

परराष्ट्रमन्त्री खनाल र राष्ट्र संघका महासचिव गुटेरेस बीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग

भीमफेदी दुर्घटनाप्रति यातायात व्यवसायी महासङ्घद्वारा दुःख व्यक्त

काठमाडौँ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले मकवानपुरको भीमफेदीमा विद्युतीय