दोलखा– जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य कालिञ्चोकमा पछिल्लो समय पर्यटक तथा दर्शनार्थी भक्तजनको आगमन बढ्न थालेको छ ।
वर्षायाम सकिएर मौसम खुल्न थालेसँगै हिउँदे पर्यटकीय सिजन सुरु भएपछि कालिञ्चोक पुग्ने आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । विशेषगरी दशैँ र तिहारपछि मौसम अनुकूल बन्दै गएसँगै यहाँ पर्यटकको चहलपहल बढेको स्थानीय पर्यटन तथा होटल व्यवसायीहरूले बताएका छन् ।
समुद्री सतहबाट ३ हजार ८ सय ४२ मिटर उचाइमा अवस्थित कालिञ्चोक भगवती मन्दिर धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम सङ्गमका रूपमा परिचित छ।
कालिञ्चोक भगवतीको दर्शन गर्न तथा मनोरम हिमाली दृश्यावलोकनका लागि दैनिक सयौँको सङ्ख्यामा पर्यटक यहाँ पुग्ने गरेका छन्। मन्दिर व्यवस्थापन समितिका अनुसार दशैँ र तिहारको बीचमा मात्रै करिब ३५ देखि ४० हजार दर्शनार्थी तथा पर्यटकले कालिञ्चोकको भ्रमण गरेका छन्।
धार्मिक रूपमा प्रसिद्ध कालिञ्चोक भगवतीको दर्शनसँगै यहाँबाट देखिने हिमाली दृश्यले पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ। मौसम खुलेका बेला दोलखाको गौरीशंकर हिमालदेखि सिन्धुपाल्चोकको जुगल हिमशृङ्खलासम्मका सेताम्मे हिमाल नजिकैबाट अवलोकन गर्न सकिन्छ ।
आसपासका पहाड, हरियाली डाँडाकाँडा, बादलको घुम्टो र खुला आकाशले कालिञ्चोक पुग्ने पर्यटकलाई प्रकृतिसँग रमाउने अवसर प्रदान गर्छ। धार्मिक मान्यताअनुसार गौरी–शंकरलाई भगवान् शिव र पार्वतीको प्रतीकका रूपमा लिने गरिन्छ।
बिहानको सूर्योदयसँगै गौरीशंकर हिमालमा देखिने सुनौलो किरण र साँझ कालिञ्चोकको टाकुराबाट शैलुङलगायतका पहाडी भूभाग हुँदै अस्ताउँदै गरेको सूर्यको मनोरम दृश्य यहाँका विशेष आकर्षण हुन् । बिहानदेखि साँझसम्म प्रकृतिले बदलिरहने दृश्यले कालिञ्चोकलाई धार्मिक पर्यटनसँगै दृश्यावलोकन र फोटोग्राफीका लागि समेत लोकप्रिय गन्तव्य बनाएको छ।
राजधानी काठमाडौंबाट करिब ६ घण्टाको सडक यात्रामा पुग्न सकिने कालिञ्चोकको कुरी क्षेत्र पर्यटकको प्रमुख आधार केन्द्र हो। कुरीबाट करिब १० मिनेटको केबलकार यात्रा वा झन्डै ४५ मिनेटको पैदल उकालो यात्रापछि कालिञ्चोक भगवती मन्दिरको टाकुरामा पुग्न सकिन्छ । केबलकार सञ्चालनले ज्येष्ठ नागरिक, बालबालिका तथा शारीरिक रूपमा कठिन पैदल यात्रा गर्न नसक्ने दर्शनार्थीका लागि समेत मन्दिर पुग्न सहज बनाएको छ ।
कालिञ्चोकको पर्यटन सम्भावना मन्दिर र केबलकारमा मात्रै सीमित छैन। यस क्षेत्रलाई दोलखाको समग्र पर्यटकीय सर्किटसँग जोड्न सके जिल्लाको पर्यटन विकासमा ठूलो योगदान पुग्ने स्थानीय होटल व्यवसायीहरू बताउँछन् ।
कालिञ्चोकबाट नजिकै रहेको दोलखा भीमेश्वर मन्दिर, जिरी, शैलुङ, खरिढुङ्गा, चरिकोट, गौरीशंकर क्षेत्र तथा अन्य प्राकृतिक र सांस्कृतिक सम्पदालाई एउटै पर्यटकीय प्याकेजमा जोड्न सके पर्यटकको बसाइ अवधि लम्ब्याउन सकिने दोलखाको पर्यटक प्रबन्धमा लामोसमय देखि कलम र फोटो मार्फत प्रचारप्रसार गर्दै आएका पत्रकार जीवन लामाले बताए । स्थानीय होटल, होमस्टे, यातायात, कृषि तथा अन्य व्यवसायमा समेत आर्थिक गतिविधि बढाउन मद्दत पुर्याउने तामाङको बुझाईरहेको छ ।
विशेषगरी कालिञ्चोक आउने पर्यटकलाई स्थानीय उत्पादन, मौलिक परिकार, संस्कृति र ग्रामीण जीवनशैलीसँग जोड्न सके पर्यटनबाट स्थानीय समुदायले प्रत्यक्ष लाभ लिन सक्ने सम्भावना छ । शैलुङका आलु तथा ताजा तरकारी, स्थानीय कृषि उत्पादन र दोलखाका परम्परागत परिकारलाई पर्यटकीय बजारसँग जोड्नु अहिलेको आवश्यक देखिन्छ ।
यद्यपि पर्यटकको आगमन बढ्दै जाँदा पूर्वाधार र व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिनुपर्ने देखिन्छ। कुरी क्षेत्रमा रातको समयमा चितवनको थारू समुदायले जस्तो आफ्नै मौलिक परम्परा झल्काउने सांस्कृतिक कला देखाउन सके थप दोलखामा पर्यटकको आगमन बढाउन सकिने उनले सुनाए ।
त्यसैगरी व्यवस्थित पार्किङ, सरसफाइ, सार्वजनिक शौचालय, गुणस्तरीय आवास तथा स्थानीय खानपान, फोहोर व्यवस्थापन र प्रभावकारी सूचना प्रणाली विकास गर्न सके कालिञ्चोकको पर्यटन थप व्यवस्थित र दिगो बन्न सक्छ।
उच्च हिमाली क्षेत्रमा मौसम अचानक परिवर्तन हुन सक्ने भएकाले पर्यटकको सुरक्षा, उद्धार तथा आवश्यक स्वास्थ्य सेवाको व्यवस्था पनि महत्त्वपूर्ण छ । प्राकृतिक सुन्दरता, धार्मिक आस्था र सहज पहुँचका कारण कालिञ्चोक अहिले दोलखाको मात्र नभई देशकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।
धार्मिक दर्शनसँगै हिमाल, सूर्योदय, सूर्यास्त र प्रकृतिको फरक–फरक रूप नजिकबाट अनुभव गर्न पाइने भएकाले यहाँ पुग्ने पर्यटकको आकर्षण दिनप्रतिदिन बढिरहेको छ ।
दोलखाको पर्यटनलाई आर्थिक समृद्धिको बलियो आधार बनाउने हो भने कालिञ्चोकमा बढिरहेको पर्यटकीय चहलपहललाई जिल्लाका अन्य गन्तव्यसँग जोडेर एकीकृत पर्यटन विकासको योजना अघि बढाउन आवश्यक छ ।
उचित पूर्वाधार, प्रचारप्रसार, स्थानीय सहभागिता र व्यवस्थित पर्यटन व्यवस्थापन हुन सके कालिञ्चोक दोलखाको पहिचान मात्र नभई जिल्लाको आर्थिक विकास र रोजगारी सिर्जनाको महत्त्वपूर्ण आधार बन्न सक्नेछ । सुवाश बस्नेत/ दोलखा




























प्रतिक्रिया