नेपालगञ्ज- बाँकेको नेपालगञ्जस्थित धम्बोजी चोकदेखि नन्दनी मिलसम्मको हुलाकी सडक चार लेनमा स्तरोन्नति गर्ने काम सुरु भएको छ ।
नेपालगञ्ज–गुलरिया सडक खण्डअन्तर्गत पर्ने एक हजार ९२० मिटर लामो सडक ३९ करोड ८४ लाख एक हजार २१९ को लागतमा स्तरोन्नति गर्न लागिएको हो ।
हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगञ्जका योजना प्रमुख लीलाबहादुर भण्डारीले निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम सुरु गरिएको जानकारी दिए ।
उनका अनुसार निर्माण व्यवसायी हिम सगरमाथा कन्स्ट्रक्सन प्रालिसँग २०८३ कात्तिक २० गते सम्झौता भएको थियो । सम्झौताअनुसार २०८४ कात्तिक १९ गतेभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि छ महिनाभित्रै निर्माण सक्ने लक्ष्य राखिएको छ ।
चार लेनको सडकको बीचमा डिभाइडर र दुवैतर्फ फुटपाथ निर्माण गरिनेछ । सडकको केन्द्रबाट दायाँबायाँ गरी कुल १५ मिटर राइट अफ वेभित्र पर्ने करिब १६१ वटा घर तथा संरचना हटाइसकिएको योजना प्रमुख भण्डारीले बताए । अब एउटा मन्दिर र एक-दुईवटा घर हटाउन बाँकी रहेको र स्थानीय तहको समन्वयमा व्यवस्थापन गरिने उनको भनाइ छ ।
‘यो सडकले उपमहानगरपालिका क्षेत्रभित्र आर्थिक र सामाजिक दृष्टिकोणले अत्यन्त महत्त्व राख्छ । यसले आर्थिक गतिविधि पनि बढाउने अपेक्षा गरेका छौँ,’ उनले भने ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सडक विस्तारका लागि आफ्नो जग्गा, घर तथा बाउन्ड्री हटाएर सहयोग गर्ने स्थानीयवासीप्रति आभार व्यक्त गरे । स्थानीयवासीको स्वस्फूर्त सहयोगले सडक निर्माणका लागि आवश्यक क्षेत्र खाली गराउन सहज भएको उनले बताए ।
उनले नन्दनी मिल क्षेत्रबाट उपमहानगरपालिका प्रवेश गरेपछि सडक साँघुरो र अव्यवस्थित देखिने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरे । सडक स्तरोन्नतिले नेपालगञ्जको सहरी स्वरूप सुधार गर्नुका साथै आवागमन व्यवस्थित बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।
नेपालगञ्ज उपमहानगरपालिका–१ का वडाध्यक्ष प्रमोद धितालले आफ्नो वडासँग सम्बन्धित सडक स्तरोन्नति हुन लागेकोमा खुसी व्यक्त गर्दै यसलाई ऐतिहासिक अवसरका रूपमा लिएको बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले सडकको राइट अफ वे खाली गराउन स्थानीयवासीले देखाएको सहयोग प्रशंसनीय रहेको बताए । जिल्ला प्रशासन कार्यालयले आयोजना कार्यान्वयनका लागि समन्वय, सहजीकरण र शान्ति सुरक्षाको व्यवस्था मिलाउँदै आएको उनले जानकारी दिए ।
उनका अनुसार अन्य जिल्लामा सडकको क्षेत्राधिकार खाली गराउने क्रममा स्थानीयवासीको अवरोध हुने र सुरक्षा निकाय परिचालन गर्नुपर्ने अवस्था देखिए पनि नेपालगञ्जमा स्थानीयवासीको सहयोगमा अधिकांश संरचना हटाउन सम्भव भएको छ ।
प्रमुख जिल्ला अधिकारी तामाङले निर्माण व्यवसायीलाई सडकको काम समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्न निर्देशन दिँदै बाँकी काममा प्रशासनले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।
सडक निर्माणका लागि मूल्य अभिवृद्धि कर (भ्याट) र प्रोभिजनल रकमसहित ३९ करोड ८४ लाख एक हजार २१९ रुपैयाँ ८८ पैसा सम्झौता भएको हो ।
आयोजना सम्पन्न भएपछि नेपालगञ्जको सहरी क्षेत्रको आवागमन सहज हुनुका साथै व्यापारिक तथा आर्थिक गतिविधि विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।














प्रतिक्रिया