एनपीएल उपाधिका लागि शनिबार लुम्बिनी र सुदूरपश्चिम भिड्दै « Khabarhub

एनपीएल उपाधिका लागि शनिबार लुम्बिनी र सुदूरपश्चिम भिड्दै


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधि भिडन्त शनिबार हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा साँझ ५ बजे सुरु हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। यो रोहित पाैडेल र दीपेन्द्रसिंह ऐरीको भिडन्तका रुपमा हेरिएको छ ।

सुदूरपश्चिम लगातार तेस्रो सिजन प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । शुक्रबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले लुम्बिनीसँगको उपाधि भेट पक्का गरेको हो। उता लुम्बिनी भने मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई नै ६ विकेटले हराउँदै सिधै फाइनलमा पुगेको हो।

सुदूरपश्चिम पहिलो एनपीएल उपाधिको खोजीमा मैदान उत्रँदैछ । यसअघि टोली पहिलो सिजनको फाइनलमा जनकपुर बोल्ट्स र दोस्रो सिजन लुम्बिनी लायन्ससँग पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो । शनिबारको खेल सुदूरपश्चिमका लागि गत सिजनको फाइनल र यसै सिजनको पहिलो क्वालिफायरमा भोगेको हारको बदला लिने अवसरसमेत हुनेछ । अर्कोतर्फ, लुम्बिनी आफ्नो उपाधि रक्षा गर्ने लक्ष्यमा रहनेछ ।

दोस्रो क्वालिफायरमा चितवनले दिएको १ सय ३४ रनको लक्ष्य सुदूरपश्चिमले थारिन्दु रथ्नायकेको अविजित ५३ रनको मद्दतमा १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो । अन्तिम दुई बलमा जितका लागि २ रन आवश्यक रहँदा रथ्नायकेले विजयी चौका प्रहार गरेका थिए । त्यसअघि इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवनले दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो।

कात्तिक ३ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेलसँगै एनपीएल २०२६ को समापन हुनेछ।

अलराउन्ड प्रदर्शनमा चम्किएका रोहित र दीपेन्द्र

एनपीएलका तीनवटै सिजनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पौडेल र पूर्वउपकप्तान एवम् अहिलेका टी २० कप्तान दीपेन्द्रसिंह ऐरीले आ–आफ्नो फ्रेन्चाइज टोलीको नेतृत्व गर्दै उत्कृष्ट अलराउन्ड प्रदर्शनको छाप छोडेका छन् । लुम्बिनी लायन्सका मार्की तथा कप्तान रोहित र सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र दुवैले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विधामा निर्णायक भूमिका निर्वाह गरेका छन् ।

पहिलो सिजनमा लुम्बिनी लिग चरणबाटै बाहिरिए पनि रोहितले व्यक्तिगत रूपमा सानदार ब्याटिङ गर्दै सर्वाधिक रन बनाउने नेपाली खेलाडीको सूचीमा अग्रस्थान ओगटेका थिए ।

दोस्रो सिजनमा भने रोहितले आफ्नो अलराउन्ड क्षमतालाई निखार्दै ब्याटिङसँगै स्पिन बलिङमा समेत महत्त्वपूर्ण विकेट लिएर लुम्बिनीलाई उपाधि दिलाउन कप्तानी इनिङ्स खेले । जारी तेस्रो सिजनमा पनि रोहितको लय निरन्तर छ । मध्यक्रममा टोलीको इनिङ्स सम्हाल्नुका साथै दबाबको क्षणमा बलिङ र चुस्त फिल्डिङमार्फत उनले लुम्बिनीलाई लगातार दोस्रो पटक फाइनलमा पुर्‍याएका छन् ।

उता, सुदूरपश्चिम रोयल्सलाई लगातार तीन सिजन फाइनल पुर्‍याउन कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शन मेरुदण्ड बनेको छ । पहिलो सिजनमा प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका दीपेन्द्रले आक्रामक ब्याटिङ, किफायती स्पिन बलिङ र अद्भुत फिल्डिङको नमुना पेस गरेका थिए ।

दोस्रो सिजनमा पनि उनले तल्लो मध्यक्रममा फिनिसरको भूमिका निभाउनुका साथै महत्त्वपूर्ण साझेदारी तोड्न बलिङमा मुख्य हतियार साबित भएका छन् । तेस्रो सिजनमा भने दीपेन्द्रले आफ्नो अनुभवको भरपूर उपयोग गर्दै कठिन परिस्थितिमा संयमित ब्याटिङ र कसिलो बलिङ गरिरहेका छन् । विशेषगरी फिल्डिङमा उनका सिधा थ्रो र उत्कृष्ट क्याचहरूले विपक्षी टोलीलाई सधैँ दबाबमा राख्ने गरेको छ ।

शनिबार हुने तेस्रो सिजनको फाइनलमा यी दुई दिग्गज कप्तान आमनेसामने हुँदा उनीहरूको अलराउन्ड प्रदर्शन नै उपाधि छिनोफानोको मुख्य आधार बन्ने निश्चित छ ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  १ : ५५ बजे

एनपीएल फाइनलको टिकट बिक्री खुल्नुअघि नै ‘सोल्ड आउट’ ? क्यानप्रति दर्शक आक्रोशित

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शनिबार

भारतीय कन्टेनरको फल्स बटममा लुकाइएको ४४३ किलो गाँजासहित दुई जना पक्राउ

चितवन– चितवनमा भारतीय कन्टेनरमा लुकाएर ल्याइएको ४४३ किलो गाँजासहित दुई

अमेरिकालाई इरानको चेतावनी- सर्त मान, नत्र फेरि युद्ध हुन्छ

एजेन्सी– इरानले अमेरिकालाई आफ्नो सर्त स्वीकार गर्न वा पुनः युद्धको

एनपीएल उपाधिका लागि शनिबार लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधि भिडन्त

सुनीलको अन्तिम अभिनय रहेको ‘हिमालयन गोल्ड’ हलमा, यार्सागुम्बाको लोभ र संघर्षको कथा

काठमाडौँ – दिवंगत अभिनेता सुनील थापाको अन्तिम अभिनय रहेको नेपाली