आप्रवासी श्रमिकका समस्याप्रति सरकार मौन, अन्तर्राष्ट्रिय मापदण्डले नेपाली श्रमिकलाई छुँदैन | Khabarhub Khabarhub

आप्रवासी श्रमिकका समस्याप्रति सरकार मौन, अन्तर्राष्ट्रिय मापदण्डले नेपाली श्रमिकलाई छुँदैन


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालबाट दैनिक औषतमा ७ सय नेपाली श्रमिक वैदेशिक रोजगारीमा जाने गरेको सरकारी तंथ्याकमा उल्लेख छ ।

दैनिक रोजगारीका खोजीमा ७ सय युवा आप्रवासी हुने गरेका छन् । विगत ४ दशकमा ६१ लाख युवा रोजगारीको खोजीमा विभिन्न देश पुगेको वैदेशिक रोजगार विभागको तंथ्याकमा छ ।

यसरी रोजगारीको खोजीमा विदेशिएका श्रमिक र उनीहरुका परिवारको हकहितका लागि संयुक्त राष्ट्रसंघीय महासभाले सन् १९९० देखि आप्रवासन दिवस मनाउने निर्णय गरेको थियो । नेपालमा भने सन् २००० देखि आप्रवासन दिवस मनाउन थालिएको हो । हाल, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि सप्ताहव्यापी आप्रवासन दिवस मनाइरहेको छ ।

श्रम मन्त्रालयले ‘सीप र रोजगार आर्थिक समृद्धिको आधार’ भने नारका साथ यो दिवस मनाइरहेको छ । श्रम मन्त्रालयले विभिन्न स्वदेशी तथा विदेशी संघसंस्थासँग मिलेर आप्रवासन दिवसको सप्ताहव्यापी कार्यक्रम गरिरहेको छ ।

संयुक्त राष्ट्रसंघीय महासभाले आप्रवासी श्रमिक र परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित गरेयता प्रत्येक वर्ष प्रत्येक वर्ष डिसेम्बर १८ का दिनलाई विश्वभर विश्व आप्रवासन डे भनेर मनाउन थालिएको हो ।

आप्रवासनका कारण धेरै नेपाली परिवारविहीन भएका छन् भने कति श्रमिकले विदेशमै अंगभंग तथा ज्यान समेत गुमाएका छन् ।

आप्रवासी श्रमिकका समस्यामा सरकार मौन

सन् १८१६ मा सुगौली सन्धि नेपाल र तत्कालिन इस्ट इन्डिया कम्पनी बीच भएयता औपचारिक रुपमा नेपाली युवा व्रिटिश सेनामा भर्ती हुन थालेपछि नेपालबाट औपचारिक रुपमा वैदेशिक रोजगारी सुरु भएको मानिन्छ । यो भन्दा अगाडि नै नेपाली युवा रोजगारका लागि चीन, भारत र म्यानमारसम्म जाने गरेका थिए । नेपाली श्रमिकको वैदेशिक रोजगारी अरनिको पालादेखि नै सुरु भएको मानिन्छ ।

मुख्यतः रोजगारदाता देश र स्रोत देशबीच आप्रवासी श्रमिकका सम्बन्धमा सरकारी स्तरमा श्रम सम्झौता नहुँदा नेपाली श्रमिकले विदेशी भूमिमा समस्या र समान ज्याला पाउनबाट बञ्चित हुँदै आएका छन् ।

श्रम सम्झौता भएका देशमा रोजगारीका लागि पुगेका नेपाली श्रमिकले पनि अन्य देशका कामदारसरह तलब सुविधा र रोजगारी अधिकारको उपभोग गर्ने पाएका छैनन् । जसका कारण धेरै नेपाली श्रमिक अवैध भएर काम गर्ने बाध्य छन् । श्रम सम्झदारी भएका देशले पनि इमान्दारीपूर्वक सम्झौताका बुदाँ पालना नगर्दा रोजगारीका लागि गएका श्रमिक अलपत्र, अंगभंग, बिरामी, यौन शोषण र मृत्युसम्म हुने गरेको छ । यस्ता विषयमा नेपाल सरकार भने मौन देखिन्छ ।

नेपाली श्रमिकले भोगिरहेको मुख्य समस्याका विषयमा सरकारले रोजगारदाता देशसँग बारम्बार छलफल गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका वैदेशिक रोजगार शाखा प्रमुख उमेश ढुंगानाले बताए ।

श्रम मन्त्रालयले नेपाली श्रमिक धेरै वैदेशिक रोजगारीमा जाने देशसँग अनिवार्य श्रम सम्झौताको नीति लिएको र रोजगारदाता देशसँग श्रमिकको मानवअधिकार, बीमासँगै अन्य सुविधामा मध्येनजर भएर सम्झौता गरिरहेको उनको भनाइ छ ।

वैदेशिक रोजगारविज्ञ पूर्णचन्द्र भट्टराईले रोजगारदाता देशले आप्रवासी श्रमिकलाई आफ्ना देशका श्रमिक सरह समान हैसियत, रोजगारअधिकार, मानवअधिकार र तलब सुविधामा नदिएर विभेद गर्ने गरेको बताए ।

‘आप्रवासी श्रमिकको मानव अधिकारसँग समान तलबको विषय प्रमुख चुनौतीका रूपमा देखिएको छ । तोकिएको ज्याला नपाउनु, न्यायमा पहुँच नहुनु,समयमै ज्याला नपाउनु, यौनशोषण, श्रम शोषण, रोजगारीबाट बिनाकारण निकालिनु, घरेलु हिंसाजस्ता समस्या आप्रवासी श्रमिकले भोग्दै आएका छन् ’ उनले भने, ‘नेपाली श्रमिकले रोजगारदाता देशमा दोस्रो दर्जाका नागरिकका रूपमा पसिना बगाउन बाध्य छन् । यो विषयमा सरकारको ध्यान गएका पाइदैन । नेपाली श्रमिक विदेशमा मात्र होइन नेपाल भित्र पनि आर्थिक शोषणको सिकार बन्दै गएका छन् ।’

अन्तर्राष्ट्रिय मापदण्डले छोएन !

आप्रवासी श्रमिकका अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि, अन्तर्राष्ट्रिय आप्रवासन सगठन (आइओएम), अन्तर्राष्ट्रिय श्रमिक संगठन आइएलओ लगायत एक दर्जनभन्दा धेरै ठूला संस्थाले काम गर्दै आएका छन् । तर, नेपाली आप्रवासी श्रमिकका हकमा भने यी संस्थाले बनाएका महत्वपूर्ण मापदण्डले खासै छोएको पाइदैन ।

अन्तर्राष्ट्रिय संस्थाले निर्माण गरेका मापदण्डले नछुदाँ नेपाली आप्रवासी श्रमिक अलपत्र, तलब सुविधामा असमानता, रोजगार अधिकार, श्रमिकको मानव अधिकारजस्ता अधिकारबाट बञ्चित छन् ।

श्रमिकका समस्यका बारेमा नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाएपनि रोजगारदाता देशले वेवास्ता गर्ने गरेका छन् । जसका कारण दशकदेखि नेपाली श्रमिकका समस्या जटिल बन्दै गएको छ ।

विश्व समुदायले आप्रवासी श्रमिकको सेवा सुविधासम्बन्धी मापदण्ड बनाएर प्रवासी श्रमिकलाई रोजगार, मानव अधिकार जस्ता विषयको ग्यारेन्टी गर्ने निर्देशन गरेपनि यस्ता विषयमा पालना नभएको रोजगारविज्ञ भट्टराई बताउँछन् ।

आप्रवासी श्रमिकको सेवा सुविधाका बारेमा अन्तर्राष्ट्रिय मापदण्ड बनाइएको भए पनि प्रभावकारी कार्यान्वयन नहुदाँ अविकशित देशबाट रोजगारीमा जाने श्रमिक शोषणमा पर्ने गरेको उनको भनाइ छ ।

अन्य देशबाट आप्रवासनमा सहभागि श्रमिकका विषयमा ती देशको सरकार अतिसमवेदनशील हुन्छन् । तर, नेपाल भने आफना देशका श्रमिकले भोगेका समस्या रोजगारदाता देशसँग प्रष्ट राख्न डराउने गरेको भट्टराईको तर्क छ ।

नेपालले हाल कोलम्बो प्रोसेस, ‘ग्लोबल कम्प्याट माइग्रेसन (जिसिएम) लगायतका ३० वटा श्रमिकसम्बन्धी संगठनको सदस्य राष्ट्र भएर काम गरिरहेको छ । यस्तै, आबुधावी डाइलगलसँग पनि समन्वय गरेर काम गरिरहेको छ । डाइलगलका सदस्य राष्ट्र नै नेपाली श्रमिकको मुख्य रोजगारगन्तव्य देशभित्र पर्छन । प्रोसेसको नेपाल अध्यक्ष राष्ट्र हो ।

भारतीय नागरिक धेरै आप्रवासनमा 

विश्वमा सबैभन्दा बढी आप्रवासी श्रमिक भारतीय नागरिक रहेको आइओएमको प्रतिवेदनमा उल्लेख छ । १ करोड ७५ लाख भारतीय नागरिक आप्रवासी श्रमिकका रूपमा विश्वका विभिन्न देशका कार्यर रहेको आइओएमको प्रतिवेदनमा भनिएको छ ।

भारतपछि आप्रवासी श्रमिक बढी भएका देशमा मेक्सिको र चीन छन् । १ करोड १८ लाख मेक्सिकाली र १ करोड ७ लाख चिनियाँ नागरिक आप्रवासी श्रमिकका रूपमा विश्वमा छरिएका छन् ।

नेपालबाट करिब ४४ लाख श्रमिक आप्रवासी श्रमिकका रुपमा विभिन्न देशमा कार्यरत छन् । नेपाली श्रमिक प्राय खाडीका देश, मलेसिया, भारत, चीन, युरोपका देश, अफ्रिकी मलुक, मलेसिया र क्यानडामा कार्यरत रहेका छन् ।

विश्वमा आप्रवासी श्रमिक ५२ प्रतिशत पुरुष र ४८ प्रतिशत महिला छन् । ७४ प्रतिशत आप्रवासी श्रमिक २० देखि ६४ वर्ष उमेर समूहका रहेको आइओएमको प्रतिवेदनमा छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  १० : ०२ बजे

तमोरस्थित लुमुघाटमा मोटरेबल पुल पुनर्निर्माण सुरु

तेह्रथुम– तमोर नदीस्थित तेह्रथुम–पाँचथर जोड्ने लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण सुरु

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ

परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किँदै

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको नयाँ दिल्लीस्थित एपोलो

रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादन सुरु

रसुवा– उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरको परीक्षण उत्पादन सफल

मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन

काठमाडौं– मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ