काठमाडौं- जाडो मौसममा अझ विहानीको समयमा सवारी साधनको इन्जिन स्टार्ट ढिलो हुने समस्या प्रायः सवारी चालकले भोग्दै आएको पाइन्छ ।
खासगरी बाहिरै पार्किङ गर्नुपर्ने सवारी साधनमा यस्तो स्टार्ट हुन समय लाग्ने समस्या देखिन्छ । इन्जिन, ब्याट्रीका कारण पनि सवारी साधन स्टार्ट नहुन सक्छ ।
मेकानिकल इन्जिनियर निर्मल कार्की भन्छन्– जाडोमा सवारी साधन स्टार्टमा ढिलाइ हुनुको प्रमुख समस्या इन्जिनमा पर्ने तापक्रमको असर नै हो ।
उनले मोबिल जम्नाले, इन्धन लाइनमा पानी जम्नाले, कार्बोरेटर भएका गाडी र ब्याट्री डेड हुने समस्याका कारण सवारी साधनको स्टार्ट ढिला हुने बताए ।
तापक्रममा आउने उतारचढावका कारण ब्याट्रिमा रासायनिक प्रतिक्रिया भई ब्याट्री डेड हुने समस्या देखिनसक्छ । अत्यधिक जाडो भएको अवस्थामा नयाँ ब्याट्रीको पावरसमेत छोटो समयमै कम हुने उनले बताए ।
चिसोमा इन्जिन फ्रिज भएर मात्र नभई अन्य समस्याका कारण पनि स्टार्ट नहुन सक्छ ।
चिसोले इन्जिन स्टार्ट नभएको अवस्थामा बाइकमा रहेको चोक तानेर स्टार्ट गर्न सकिन्छ । इन्जिन स्टार्ट भइसकेपछि पनि २–३ मिनेट न्यूट्रलमा छाड्नुपर्छ जसले इन्जिनलाई सामान्य अवस्थामा फर्काउन सघाउँछ ।
यसका अलावा नियमित सर्भिसिङ गर्ने कुरालाई भने भुल्नु हुँदैन ।
प्रतिक्रिया