चीन- चीनको वुहान शहर सुनसान बनेको छ । करीब एक करोड दश लाख जनसंख्या भएको वुहान शहर कोरोनाको संक्रमण फैलिएपछि सुनसान बनेको हो । कोरोनाको संक्रमण फैलिएपछि वुहान शहरमा सवारी साधनमा रोक लगाइएको छ ।
मध्य चीनमा अवस्थित वुहान शहर विश्वका विभिन्न भूभागबाट चीन प्रवेश गर्ने मुख्य द्वार हो । तर शहर अहिले विश्वका लागि बन्द गरिएको छ । अधिकांशलाई प्रवेश र बर्हिगमनको अनुमति दिइएको छैन् ।
शहरका गल्ली खाली देखिएका छन् । शहरमा यातायातका सबै साधन बन्द गरिएको छ । विशेष अनुमति लिइएको सबारी मात्रै वुहानको सडकमा गुडाइने व्यवस्था गरिएको छ ।
सरकारी सबारी साधन भने सञ्चालनमा रहेको छ । विश्वका चर्चित ब्राण्डहरु स्टारबक्स, म्याकडोनाल्डले हुबेइ प्रान्तमा रहेको आफ्नो ९० वटै शाखा बन्द गरेको छ । यद्यपि चिनियाँ अधिकारीहरुले भने आपूर्ति व्यवस्था अत्यन्तै चुस्त रहेको जनाएको छ ।
डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा प्रथमपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिले हुवेइ प्रान्तको अधिकांश स्थलमा प्रकोपको रुपमा लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।
चीनमा मात्रै उक्त भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ६ जना पुगिसकेको छ । ४ हजारभन्दा बढी संक्रमित रहेको चिनियाँ अधिकारीले जनाएका छन् ।
केही संक्रमित भने निको भएर घर फर्काइएको जनाइएको छ । करिब एक हजार जना व्यक्ति अस्पतालबाट घर फर्किएका छन् । तर उनीहरुलाई पनि विशेष निगरानीमा राखिएको छ ।
कोरोना भाइरसको सङ्क्रमणको प्रकोप चीनका २५ भन्दा बढी प्रान्तमा फैलिएको छ । गत आइतबारदेखि देशव्यापीरुपमा जङ्गली जनावरको बेचबिखनमा समेत प्रतिबन्ध लगाइएको छ ।
प्रतिक्रिया