मध्यपहाडी लोकमार्गको काम ठप्प | Khabarhub Khabarhub

मध्यपहाडी लोकमार्गको काम ठप्प


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– कोभिड–१९ बाट जोगिन र जोगाउन भन्दै मध्यपहाडी लोकमार्गको कालोपत्रको काम ठप्प भएको छ । जाजरकोट र रुकुम पश्चिमको करिब ४२ किलोमिटर काम ठप्प भएको हो ।

जाजरकोट, रुकुमपूर्व र रुकुम पश्चिम गरी २१४ किलोमिटर सडक मध्यपहाडी लोकमार्गअन्तर्गत पर्दछ । लकडाउनका कारण राष्ट्रिय गौरवको आयोजनाका काम नरोक्ने सरकारी निर्णय भए पनि मध्यपहाडी लोकमार्गको काम मजदुर अभावकै कारण रोकिएको छ । रुकुम र जाजरकोट खण्डको काम रोकिएपछि तोकिएको समयमा निर्माण नहुने पक्का भएको छ ।

आयोजनाले रुकुम खण्डमा आगामी असार मसान्तभित्र कालोपत्र गरिसक्ने लक्ष्य लिएको थियो । सानीभेरी–चौरजहारी सडकखण्डको ३२ किलोमिटर कालोपत्रको काम करिब एक महिनादेखि रोकिएको लोकमार्गको दैलेख आयोजना कार्यालयले जनाएको छ ।

कालोपत्र गर्नका लागि ठिक्क परेको काम रोकिएपछि समस्या भएको छ । रुकुमको ३२ किलोमिटर र जाजरकोटको १० किलोमिटर सडकमा कालोपत्र गर्ने ठिक्क पारिएको भए पनि लकडाउनका कारण मजदुर नहुँदा काम रोकिएको छ । अन्य मेशिनबाट हुने काम जारी रहेको निर्माण कम्पनीले बताएका छन् ।

शर्मा सिंह एन्ड ब्रदर्स जेभीका विश्वास उप्रेतीका अनुसार कालोपत्र गर्नका लागि आधारभूत काम सकिएको थियो, कालोपत्र शुरु हुनै लाग्दा लकडाउन हुँदा काम रोकिएको छ । बाँकी कच्ची कटान गर्ने काम भने उपकरणमार्फत हुने काम भने चालु रहेको छ ।

जाजरकोट खण्डमा रहेको ८२ किलोमिटर सडकखण्ड मध्ये ५५ किलोमिटर शर्मा सिंह एन्ड ब्रदर्स जेभीले काम गर्ने ठेक्का पाएको छ । “अहिले मेशिनको काम मात्र भएका छन्”, उप्रेतीले भने, “अब दुई, चार दिनभित्र मेशिनको काम रोकिने सम्भावना छ, नेपालगञ्जबाट आउने सामग्री आउन छाडिसकेको छ । तेलको आपूर्तिसमेत ठप्प भएको छ ।” जाजरकोटको सबैभन्दा जटिल मानिएको छेडागाड नगरपालिकाको मन्ताभिरमा कटानको काम शुरु भएको उनले बताए ।

त्यस्तै रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको हासिवाङदेखि चौरजहारी र जाजरकोटको भेरी नगरपालिकाको सिमानासम्मको काम रोकिएको छ । अग्ला ठाउँ सम्याउने, क्रसर र नालाको काम भने मेशिनमार्फत जारी राखिएको छ ।

उक्त खण्डसहित पहिले नै ठेक्का लागेका सबै सडकमा कालोपत्रको काम आगामी असार मसान्तसम्म सकिनुपर्ने हो । कालोपत्रको म्याद सकिन करिब एक महिना मात्र बाँकी भएकाले निर्धारित समयमा काम पूरा नहुने पक्का भएको छ ।

बाहिरबाट आएका दक्ष कामदार लकडाउनका कारण फर्किएका छन् । यही वैशाख २५ गतेपछि लकडाउन खुकुलो भए बाहिर गएका कामदारलाई बोलाएर कालोपत्रको काम जारी राख्ने तयारी छ ।

अहिलेकै अवस्थामा रहेर काम गर्दा १० किलोमिटर कालोपत्रको काम असार मसान्तसम्म सकिने अनुमान छ । बाँकी २२ किलोमिटर कालोपत्र आगामी मङ्सिरभित्र गर्ने गरी आवश्यक तयारी थालिएको छ । लकडाउनकै कारण मध्यपहाडी लोकमार्गअन्तर्गत बैरीदहदेखि पूर्वको क्षेत्रमा पनि कालोपत्र शुरु भएको छैन ।

त्यहाँ पनि उपकरणबाट हुने काम भने चालु छ । उपकरणभन्दा श्रमिकबाट गर्नुपर्ने काम धेरै भएपछि समस्या परेको निर्माण कम्पनीले बताएका छन् । मध्यपहाडी लोकमार्गले रुकुमपूर्व र पश्चिमको १२३ किलोमिटर खण्ड ओगटेको छ भने जाजरकोटमा ८२ किलोमिटर रहेको छ ।

रुकुममा केही खण्डमा कालोपत्रको काम भइसकेको छ । त्यस्तै लोकमार्गका अरू सबै खण्डमा ठेक्का लागे पनि मुसीकोट नगरपालिकाको सेरीगाउँदेखि हासिबाङसम्मको १२ किलोमिटरमा बाँकी छ । आयोजना कार्यालयका अनुसार ठेक्का टुङ्गो लागे पनि सार्वजनिक गर्ने र सम्झौताको काम हुन सकेको छैन ।

आयोजनाको काम रोकिएपछि स्थानीयवासी निराश भएको जाजरकोट भेरी नगरपालिकाका–११ कालाभुरका धर्मबहादुर घर्तीले बताउनुभयो । काम रोकिएपछि फुर्सदिलो भएर बसेको उहाँको भनाइ छ । निर्माण कम्पनीले दक्ष जनशक्ति बाहिरबाट ल्याएर काम गर्दै आएको छ ।

स्थानीय मजदुरलाई बाहिरबाट आएका दक्ष जनशक्तिले सिकाएको भरमा काम गर्दै आएका छन् । भेरी नदीमा निर्माण हुने भनिएको मध्यपहाडी लोकमार्गको पुल निर्माण हुन नसकेर ठप्प भएको छ ।

अहिले लकडाउनका कारण झन समस्य भएको छ । त्यस्तै कर्णाली प्रदेशको सामरिक महत्वको आयोजना नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को कामसमेत ठप्प भएको छ । बाहिर जिल्लाका मजदुर लकडाउनका कारण घर फर्केपछि डिपिआरको काम ठप्प भएको हो ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  १२ : ०१ बजे

अन्तिम २ मिनेटमा बढ्यो शेयर बजार, कारोबार २ अर्ब माथि 

काठमाडौं– मंगलबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) अन्तिम २ मिनेटमा बढेको

सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा छौँ : सञ्चारमन्त्री शर्मा 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार जतिसक्दो चाँडो

प्रधानमन्त्रीको टिप्पणी- जसपा फुटाउन मेरो कुनै भूमिका छैन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा फुटाउनुमा आफ्नो कुनै भूमिका

लामो समयपछि वर्षा हुदाँ किसानलाई राहत

पर्वत– साढे सात महिना लामो अवधिपछि वर्षा भएपछि पर्वतका किसानलाई

गोरखाका महिलालाई नौमती बाजा बजाउने तालिम

गोरखा– पालुङटार नगरपालिकाले महिलालाई नौमती पञ्जेबाजा बजाउने तालिम दिन सुरु