काठमाडौं – सरकारले बाढी, पहिरो, डुबान लगायतका विपत्तीबारेको पूर्वसूचना दिन सुरू गरेको छ ।
यसअघि मौसम पूर्वानुमान महाशाखाले मौसम सम्बन्धी मात्र पूर्वसूचना दिने गरेकोमा हाल बाढी, पहिरो लगायतका पूर्वसूचना दिन सुरू गरिएको हो ।
यस वर्षको मनसुन भित्रिएसँगै देशका विभिन्न भूभागमा यतिबेला वर्षा सुरु भएको छ । वर्षाका कारण केही स्थानमा बाढी, डुबान र पहिरोको उच्च जोखिम पनि बढ्दै गएको छ ।
विपदबाट हुने सम्भावित क्षतिबारे आम नागरिकको जीवन रक्षाका लागि असार १ गतेबाट बाढी पूर्वानुमान तथा पूर्व सूचना सेवा सुरु गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागकी प्रवक्ता डा.अर्चना श्रेष्ठका अनुसार असार १ गतेदेखि २४ घण्टे पूर्वसूचना सेवाको विस्तार गरिएको हो ।
पूर्व सूचना मनसुन अवधिभर लागु हुने श्रेष्ठले जानकारी दिइन । जस अनुसार हरेक दिन बिहान सात बजे प्रमुख नदीहरूको आगामी तीन दिनको बाढी प्रक्षेपण बुलेटिन विभागको http://www.hydrology.gov.np मार्फत जारी गरिनेछ ।
त्यस्तै, मौसमका कारण उत्सर्जित बाढीसम्बन्धी पूर्वसूचना भने केही घण्टा अगाडि संवेदनशीलताका आधारमा नदी तटीय क्षेत्रमा बसोबास गर्ने समुदाय, विपद व्यवस्थापनमा संलग्न केन्द्रीय तथा स्थानीय निकाय र सरोकारवालाहरूलाई मोबाइल एसएमएसमार्फत सूचित गरिने विभागले जनाएको छ ।
नेपाल फ्लड एलर्ट नामको ट्वीटर र फेसबुकमार्फत पनि आवश्यकता अनुसार बाढी पूर्वसूचना तथा बाढीजन्य अन्य सूचना सम्प्रेषण गरिने तय भएको छ ।
विशेष भौगोलिक क्षेत्रको बाढीसम्बन्धी सतर्कताका लागि जानकारी प्राप्त गर्न सर्वसाधारणको लागि टोल फ्रि नम्बर ११५५ सञ्चालनमा ल्याइएको छ ।
प्रतिक्रिया