अस्तित्व संकटको संघारमा टौदह | Khabarhub Khabarhub

अस्तित्व संकटको संघारमा टौदह


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमसार क्षेत्रहरू विश्वमै कृषि उत्पादनको हिसाबमा उत्पादकत्व र जैविक विविधताको दृष्टिकोले धनी मानिन्छन् ।

सिमसार क्षेत्र धेरै मूल्यवान प्राकृतिक प्रणाली हो । सिमसार क्षेत्रले हामीलाई ज्ञात भएका र नभएका विभिन्न जीवजन्तु र वनस्पतिलाई वासस्थान प्रदान गर्दछ । सिमसार क्षेत्रको संरक्षणबाट जैविक विविधताको संरक्षणमा ठूलो योगदान पुगेको हुन्छ ।

यही महत्वलाई ध्यानमा राखेर सिमसार क्षेत्रको संरक्षण र यसको दिगो तथा बुद्धिमत्तापूर्ण व्यवस्थापनको आवश्यकतामा जोड दिँदै सन् १९७१ मा रामसार महासन्धि भएको थियो । यसमा हालसम्म नेपालसहित विश्वका १५३ भन्दा बटी राष्ट्रहरू सदस्य छन् ।

यो महासन्धि अङ्गीकार गर्दै नेपालले अहिलेसम्ममा अन्तर्राष्ट्रिय महत्वका १० वटा सिमसार क्षेत्रहरूलाई रामसार क्षेत्रका रूपमा घोषणा गरेर तिनीहरूको संरक्षण र व्यवस्थापन गरेको छ । अरू सिमसार क्षेत्रहरूलाई पनि रामसार क्षेत्र घोषणाका लागि आवश्यक अध्ययन तथा प्रक्रियाहरू अघि बढाइएको छ ।

मानवीय प्रवृत्तिका कारणले प्राकृतिक सम्पदाको संरक्षण चुनौतीको विषय बन्दै गएको छ । पहाडको टुप्पामा भ्यू टावरहरू बनाउने, वनभित्र पार्क बनाउने, ताल–पोखरीहरूमा फाउन्टेन, पुल आदि बनाउने काम भएको छ । यसबाट ताल–पोखरी जस्ता सिमसार क्षेत्रमा आश्रित वनस्पति तथा जीवजन्तुहरू संकटमा पर्दै गएका छन् ।

अहिले बचेको टौदह वरिपरिको केही भूभागमा पनि कंक्रिटका संरचनाहरू बनाएर भिड बढाउने हो भने त्यहाँ वनस्पति, चराचुरुङ्गी र अन्य जीवजन्तु सहितको जैविक विविधता ध्वस्त हुनेछ । यहाँ विचरण गर्ने जीवजन्तुहरू लोप हुँदै जानेछन् र अन्तमा हेर्नका लागि मान्छेकै अनुहारबाहेक केही बाँकी रहनेछैन ।

विकास र आर्थिक उन्नतिको नाममा प्राकृतिक सम्पदाको बेहद दोहनले त्यस्ता कतिपय सम्पदाहरू लोप नै हुने अवस्थामा छन् ।

काठमाडौंको दक्षिणपट्टि कीर्तिपुर नगरपालिकामा अवस्थित टौदहमा पनि संकट बढेको छ । काठमाडौं उपत्यकाबाट बाहिर सालाखाल ६ किमि दूरीमा दक्षिणकाली जाने बाटोको बाँयापट्टि रहेको यो दह प्राकृतिकरूपमा बनेको हो । यसको महत्व जैविक विविधताको हिसाबमा मात्र नभई काठमाडौं उपत्यकाका बासिन्दाहरूको धार्मिक तथा सांस्कृतिक आस्थासँग पनि धेरै पुरानो र नजिकको सम्बन्ध छ ।

परिवर्तित समयमा टौदह प्राकृतिक सम्पदामाथि मानवीय दोहनको चपेटामा परेको छ । मानवजातिले विभिन्न बहनामा विभिन्न समयमा गरेका अतिक्रमणहरू झेलेर आफ्नो प्राकृतिक अस्तित्व जेनतेन कायम राख्न सफल काठमाडौंको एउटा मात्र यति ठूलो सफा पानीको दह हो टौदह ।

जैविक विविधताका दृष्टिले टौदहको महत्व धेरै छ । विशेष गरी स्थानीय तथा ऋतुअनुसार आउने आगन्तुक चराहरूका लागि यो प्रसिद्ध क्षेत्र हो । काठमाडौंका बासिन्दा, अन्यत्रबाट घुम्न आउने वातावरण तथा जैविक विविधता क्षेत्रमा अध्ययनरत विद्यार्थीहरू र प्रकृतिप्रेमीका लागि यो दह तीर्थस्थल नै हो ।

यहाँ गुलाफी टाउके हाँसजस्ता अति दुर्लभ चराका साथै सुइरो पुच्छ्रे हाँस, मालक हाँस, खोया हाँस, नादुन हाँस, कैलो टाउके हाँस लागायत ८० भन्दा बढी प्रजातिका चराहरू अभिलेख गरिएका छन् । माछा, सर्प, कछुवा, भ्यागुता लगायत अन्य प्रजातिहरूको अस्तित्वका बारेमा अध्ययन हुन बाँकी नै छ ।

यस क्षेत्रमा बसोबास गर्दै आएका विशेष गरी नेवार जातिको यो दहसँग सांस्कृतिक तथा धार्मिक सामिप्यता पुर्खा दर पुर्खाको छ । यो सामिप्यता अहिलेसम्म निरन्तर अघि बढिरहेको छ । यस दहसँगको धार्मिक आस्था एक एकवटा जैविक प्राणीसँग जोडिएको छ । स्थानीय बासिन्दाहरूले नागराजका रूपमा पूजाआजा गर्ने चलन छ ।

किम्बदन्तीअनुसार चोभारको डाँडो काटेर काठमाडौं उपत्यकाको पानी सुकाउने क्रममा फेला परेको विशाल नागलाई यो दहमा ल्याएर राखेको भन्ने विश्वास गरिन्छ । उक्त दहभित्र नागराजको दरबार छ भन्ने आस्था यहाँका आस्थावान बासिन्दाहरूमा छ ।

साथै यही दहलाई केन्द्रविन्दु बनाएर विकसित आन्तरिक पर्यटनले यस क्षेत्रका बासिन्दाहरूलाई रोजगारी दिएको छ । अर्थोपार्जन र जिविकोपार्जनको माध्यम भएको छ । वातावरण तथा जैविक विविधता अध्ययन गर्ने विद्यार्थीहरूका लागि त टौदह अध्ययन केन्द्रकै रूपमा रहेको छ ।

टौदहको जैविक, सांस्कृतिक, धार्मिक, शैक्षिक तथा आर्थिक महत्वहरू दिगो बनाउने हो भने दिगो र बुद्धिमत्तापूर्ण व्यवस्थापन हुनु अत्यन्त जरुरी छ ।

यस दह वरिपरि भइरहेका क्रियाकलापहरू तथा यसको व्यवस्थापनका लागि भनेर बन्दै गरेका भौतिक पूर्वाधार निर्माणका योजनाहरू हेर्दा यति महत्वपूर्ण प्राकृतिक सम्पदाको अस्तित्वमै संकट उत्पन्न भएको देखिएको छ । एकोहोरो आर्थिक आर्जनको पक्षलाई प्राथमिकता दिएको देखिन्छ ।

कीर्तिपुर नगरपालिकाले गत असार १० गते सात दिने म्याद दिएर ‘टौदह परिसरमा पर्यटन पूर्वाधार विकास परियोजनाको प्रारम्भिक वातावरणीय परीक्षण अध्ययनको लागि राय सुझाव पठाउनेबारे सार्वजनिक सूचना’ जारी गरेको छ ।

सूचनामा टौदहको परिसरमा पानीका फोहरा, मुख्य प्रवेशद्वार, टौदह प्रतीक चिह्न, कर्कटेश्वर महादेवको मन्दिर, पाटीपौवा, पुल र भूमि विकास अन्तर्गतका अन्य कार्य गर्ने भनिएको छ । प्रारम्भिक वातावरणीय परीक्षणको प्रतिवेदन प्राप्त भइसकेको छ ।

जलवायु परिवर्तनको असरले वर्तमान तथा निकट भविष्यमा काठमाडौं उपत्यकाका बासिन्दाका लागि स्वच्छ पानीको स्रोत टौदहबाहेक अर्को छैन । टौदह परापूर्वकालदेखि नै स्थानीय बासिन्दाका लागि पानीको स्थायी स्रोत हो । यति महत्वपूर्ण प्राकृतिक सम्पदा प्राकृतिकरूपमै संरक्षण गर्नु स्थानीयबासिन्दाकै जिम्मेवारी हो ।

टौदह परिसरमा कीर्तिपुर नगरपालिकाको सूचनाअनुसार जस्ताको तस्तै भौतिक संरचनाहरू निर्माण गर्ने हो भने यो प्राकृतिक सम्पदाको अस्तित्व थोरै समयका लागि मात्रै हुन सक्नेछ । यस्ता प्राकृतिक सम्पदाहरूको संरक्षण र सम्बद्र्धन गर्ने जिम्मेवारी पाएका निकायहरूले आर्थिक लाभमात्र हेरेर स्रोत दोहन गर्नु दुःखद कुरा हो ।

यस्तो राष्ट्रिय महत्वको पारिस्थितिकीय प्रणालीमा असर पुग्ने पूर्वाधारहरू निर्माणका लागि योजना बनाउँदा समेत सरोकारवालाहरूसँग समन्वय र छलफल गर्न आवश्य ठानेको देखिएन ।

बिर्सन नहुने कुरा के छ भने टौदह एउटा प्राकृति दह हो, यसलाई प्राकृतिकरूपमै रहन दिएमात्र यसबाट प्राप्त सुविधाहरू निरन्तर उपभोग गर्न पाइनेछ । जुन दिन यसको वहन क्षमताभन्दा बढी दोहन हुन्छ, त्यसै दिन एउटा मृत पोखरीमा सीमित हुनेछ । प्रस्तावित भौतिक संरचनाहरूको निर्माणले यही बाटो देखाउनेछ ।

मानौँ, कीर्तिपुर नगरपालिकाले प्रस्ताव गरेअनुसार संरचनाहरू निर्माण भएको खण्डमा देशका विभिन्न स्थानहरूबाट पर्यटकहरू आउनेछन् । तर, यस्ता भौतिक संरचाहरूले टौदहरूको प्राकृतिक जैविक विविधता विनाश गर्नेछ । टौदह धार्मिक आस्थाको केन्द्र हो । सिङ्गो दह आस्थाको प्रतीक हो । मानव निर्मित मन्दिर र भौतिक संरचनाहरूले टौदहप्रतिको धार्मिक तथा सांस्कृतिक आस्थामा पनि क्षति पुग्नेछ । जैविक विविधता त रहने छैन नै ।

टौदहका चरा अवलोकन र त्यहाँको प्राकृतिक दृश्यावलोकन का लागि आउनेको संख्या त शून्य हुनेछ । अधिक भौतिक संरचनाहरू निर्माणसँगै बढ्ने चहलपहलबाट जैविक विविधतामा ह्रास हुँदै जानेछ ।

कीर्तिपुर नगरपालिकाले यही साउन ६ गते खुला चौतारीमा टौदह, पर्यावरण र पर्यटन विषयमा एउटा जूम छलफल आयोजना गरेको थियो । छलफलमा जनप्रतिनिधिहरू, वातावरणविदहरू र अन्य विभिन्न विधाका व्यक्तिहरू सहभागी थिए । सहभागी वातावरणविदहरुले टौदहलाई प्राकृतिक रूपमै संरक्षण परेर फाइदा लिनुपर्ने धारणा प्रकट गरे ।

मानवीय क्रियाकलापका कारण कुनै पारिस्थतिकीय प्रणाली एकपटक नष्ट भएपछि फेरि पुरानै अवस्थामा फर्काउन सकिँदैन । अप्राकृतिक भौतिक संरचनाहरू निर्माण गरी बिगारेको पारिस्थितिकीय प्रणालीलाई त पहिलाकै रूपमा फर्काउन सकिँदै सकिँदैन ।

क्षणिक आर्थिक लाभ दिगो हुँदैन । आर्थिक लाभमात्र हेरेर प्राकृतिक स्रोतको बेहद दोहन गरेर आउने पुस्तामाथि अन्याय गर्ने अधिकार वर्तमान पुस्तालाई हुँदैन । विकास वा अर्थोपाजर्नका लागि निर्माण गरिने भौतिक संरचनाहरूले सम्पदाको प्राकृतिक अवस्थामा अलिकति पनि हानी पुग्नु हुँदैन ।

विश्वमा धेरै विकसित मुलुकहरूमा प्राकृतिक पारिस्थितिकीय प्रणालीहरू मानवीय कारणले नष्ट भएपछि फेरि पुरानै अवस्थामा फर्काउन ठूलो रकम खर्च गरेका उदाहरणहरू छन् । त्यस्ता प्रयासहरू असफल भएका छन् । थोरै ठाउँमा मात्रै केही हदसम्म सफल भएका छन् ।

नेपालको हकमा पनि धेरै सिमसार पारिस्थितिकीय प्रणालीहरू मानिसले आफ्ना सुविधाका लागि बनाउने भौतिक पूर्वाधारहरूका कारणले नष्ट भएका उदाहरणहरू छन् । टौदह पनि यही मानवीय चपेटामा पर्दै गएको छ ।

अहिले बचेको टौदह वरिपरिको केही भूभागमा पनि कंक्रिटका संरचनाहरू बनाएर भिड बढाउने हो भने त्यहाँ वनस्पति, चराचुरुङ्गी र अन्य जीवजन्तु सहितको जैविक विविधता ध्वस्त हुनेछ । यहाँ विचरण गर्ने जीवजन्तुहरू लोप हुँदै जानेछन् र अन्तमा हेर्नका लागि मान्छेकै अनुहारबाहेक केही बाँकी रहनेछैन ।

काठमाडौंमा अवस्थित यति विशाल र एकमात्र सफा पानीको सिमसारका रूपमा रहेको टौदहलाई आधुनिक मानवीय गतिविधिबाट अलग राख्नुपर्छ । टौदहको जैविक विविधता स्थानीय बासिन्दाहरूको जीविकोपार्जनको स्थायित्वका लागि स्थायी रहनआवश्यक छ ।

जलवायु परिवर्तनको असरले वर्तमान तथा निकट भविष्यमा काठमाडौं उपत्यकाका बासिन्दाका लागि स्वच्छ पानीको स्रोत टौदहबाहेक अर्को छैन । टौदह परापूर्वकालदेखि नै स्थानीय बासिन्दाका लागि पानीको स्थायी स्रोत हो । यति महत्वपूर्ण प्राकृतिक सम्पदा प्राकृतिकरूपमै संरक्षण गर्नु स्थानीयबासिन्दाकै जिम्मेवारी हो ।

टौदहको प्राकृतिक गुणस्तरमा ह्रास नपुर्‍याई भावी पुस्ताका लागि हस्तान्तरण गर्नु अहिलेको पुस्ताको जिम्मेवारी हो।

क्षणिक आर्थिक लाभ दिगो हुँदैन । आर्थिक लाभमात्र हेरेर प्राकृतिक स्रोतको बेहद दोहन गरेर आउने पुस्तामाथि अन्याय गर्ने अधिकार वर्तमान पुस्तालाई हुँदैन । विकास वा अर्थोपाजर्नका लागि निर्माण गरिने भौतिक संरचनाहरूले सम्पदाको प्राकृतिक अवस्थामा अलिकति पनि हानी पुग्नु हुँदैन ।

(लेखक वन तथा वातावरण मन्त्रालयका उपसचिव हुन्)

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ९ : ३१ बजे

मन्त्रिपरिषद् बैठक : संसद् आह्वान, डढेलो निभाउन सबै शक्ति लगाउने

सरकारले सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको

सरकारले गरिबी निवारणमा जोड दिनुपर्छ : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले

भारतका महालेखापरीक्षकले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र

भारतको कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु

नयाँदिल्ली– उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’

काठमाडौं- भारतीय कम्पनी एयरटेलले भुक्तानी नपाएको भन्दै नेपालको ब्यान्डविथ आपूर्ति