सन्दीपको टीम जमैका सेमिफाइनलबाटै बाहिरियो | Khabarhub Khabarhub

सन्दीपको टीम जमैका सेमिफाइनलबाटै बाहिरियो


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्ततः पुरानै गल्ती दोहोर्याएपछि सन्दीप लामिछाने सम्मिलित जमैका तालावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को सेमिफाइनलबाटै बाहिरिएको छ । जमैकाले विगतका खेलहरूमा जस्तै कमजोर ब्याटिङ गरेपछि ट्रिनबागो नाइट राइडर्स सहजै फाइनलमा प्रवेश गरेको छ ।

मङ्गलबार राति सम्पन्न सेमिफाइनलमा नाइट राइडर्सले जमैकालाई नौ विकेटले पराजित गरी फाइनलका लागि स्थान बनाएको हो । नाइट राइडर्स सीपीएलको उपाधिको हकदार टोली हो । उसले जमैकासितको खेलमा पनि त्यही कुरालाई सिद्ध गर्यो । समूह चरणका १० वटै खेल जितेर शीर्ष स्थान बनाएको नाइट राइडर्सको खेल जित्ने आधार ब्याटिङ हो तर जमैकासितको सेमिफाइनलमा नाइट राइडर्सले बलिङ पनि उत्तिक्कै राम्रो गर्यो ।

टस जितेपछि नाइट राइडर्सले फिल्डिङ रोज्यो । जमैकाले खाता नै खोल्न नपाउँदै विकेट गुमाउन पुग्यो । जेर्मिन ब्ल्याकउडलाई नाइट राइडर्सका अकिल हुसैनले बोल्ड गरे । जमैकाले दुई रन जोड्दा उसका भरपर्दा खेलाडी ग्लेन फिलिप्सलाई खेइरे पियरेले अलि खानद्वारा क्याच आउट गराए ।

जमैकाको विकेट पतनको क्रम यतिमै रोकिएन । टोलीको स्कोर १० रन छँदा उसले तेस्रो विकेट गुमायो । मुजिबउर रहमान रन नै नबनाई पवेलियन फर्किए । उनलाई अकिल हुसैनले ड्वाने ब्राभोको हातबाट क्याच आउट गराए ।

जमैकाले पाँचौँ ओभरमा चौथो विकेट गुमायो । नाइट राइसर्डका अकिल हुसैनले नै व्यक्तिगत दोस्रो विकेट लिँदै आसिफ अलीलाई चार रनमै केरोन पोलार्डको हातबाट क्याच आउट गराए।

जमैकाका लागि नक्रुम बोनरले पारी सम्हाल्ने प्रयास गरे । उनले ४२ बल खेल्दै पाँच चौकाको मद्दतमा सर्वाधिक ४१ रनको योगदान दिए । जमैकाको स्कोर ६३ रन छँदा उनी आउट भए । लगत्तै भरपर्दा खेलाडी आन्द्रे रसेल पनि पवेलियन फर्किए । उनले पाँच बल खेल्दै मात्र दुई रन बनाए ।

रसेललाई सुनिल नराइनेले ड्वाने ब्राभोको हातबाट क्याच आउट गराए । त्यसपछि केही बेर जमैकाको पारी कप्तान रोभमन पावेलले सम्हाले । उनले एक छक्का र एक चौकाको मद्दतमा ३५ बलमा ३३ रन बनाए । उनलाई खेइरे पियरेले जमैकाको स्कोर ९३ रन छँदा पवेलियन फर्काए । जमैकाले सात विकेटको क्षतिमा १०७ रन मात्र बनाउन सक्यो ।

बलिङतर्फ नाइट राइडर्सका लागि अकिल हुसैनले तीन, खेइरे पियरेले दुई तथा सुनिल नराइने र फवाद अहमदले एक एक विकेट लिए ।

एक सय आठ रनको झिनो स्कोर पछ्याउने क्रममा नाइट राइसर्डले १५ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । उसका लागि लेन्डले सिमोन्सले अविजित ५४ तथा टिवन वेवस्टारले अविजित ४४ रनको पारी खेले । जमैकाका बलरहरू नाइट राइसर्डका खेलाडीका अगाडि निरिह सावित भए । सीपीएलमा उत्कृष्ट लयमा रहेका जमैकाका मुजिबउर रहमानले मात्र एक विकेट लिए । उनले सुनिल नराइनेको विकेट लिएका हुन् । योसँगै रहमान प्रतियोगितामा सर्वाधिक १८ विकेट लिने खेलाडी बने ।

सन्दीप विकेटविहीन

प्रतियोगितामा उत्कृष्ट बलिङ गर्दै आएका लेग स्पिनर सन्दीप लामिछाने भने नाइट राइसर्डसितको खेलमा विकेट लिनबाट चुके । उनले चार ओभर बलिङ गर्दै २९ रन खर्चिए । तीन वाइड बल फालेका उनको बलमा नाइट राइडर्सका खेलाडीले एक छक्का तथा दुई चौका समेत हाने । प्रतियोगितामा सर्वाधिक विकेट लिनेको सूचीमा उनी पाँचौँ स्थानमा छन् ।

नाइट राइडर्ससितको सेमिफाइनल खेल खेल्नुअघि सन्दीप सर्वाधिक विकेट लिनेको सूचीमा चौथो स्थानमा थिए ।

यसअघि सन्दीपले समूह चरणका १० खेलमा १२ विकेट लिएका थिए। उनी सीपीएलकै सबैभन्दा किफायती बलर देखिएका छन् । सन्दीपले समूह चरणका तीन खेलमा दुई दुई विकेट तथा छ खेलमा एक एक विकेट लिएका थिए ।

उनलाई जमैका तलावाजले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । सीपीएलपछि अब उनको यात्रा इन्डियन प्रिमियर लिग (आइपीएल)तर्फ मोडिएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ८ : ५८ बजे

सरकारसंग निर्माण व्यवसायीको ताकेता, बक्यौता रकम छिटो भुक्तानी दिनू

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघले आफूहरूले पाउनुपर्ने बक्यौता रकम छिटो

काठमाडौं छाड्नेलाई सुझाव – फूलपातीअघि नै गाउँ जानोस् !

नेपाली नागरिकहरूलाई दशैं माहौले छोप्न थालिसकेको छ । दशैंका बेला

खोलाको सिमानाभित्रका भौतिक संरचना हटाउँदै भरतपुर महानगर

काठमाडौं– चितवनको भरतपुर महानगरपालिकाले पुङ्गी खोलाको सिमानामा परेका भवनहरू भत्काउने

बाबुको हत्या अभियोग छोरा पक्राउ

सिराहा– आफ्ना बाबुको हत्या अभियोगमा औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई

तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व संकलन

तनहुँ– मालपोत कार्यालयले आर्थिक वर्ष २०८०-८१ मा रु ३६ करोड