रोकिएन नक्कली लाइसेन्सको धन्दा « Khabarhub

रोकिएन नक्कली लाइसेन्सको धन्दा

३० हजारदेखि एक लाखसम्ममा किनबेच



काठमाडौँ– सवारी साधन चलाउन सवारी चालक अनुमति पत्र (लाइसेन्स) अनिवार्य चाहिन्छ ।

विना लाइसेन्स सवारी कुदाउने पनि छन् बजारमा । अनि नक्कली लाइसेन्स बोक्नेको पनि कमी छैन ।

गत २४ गते महानगरीय ट्राफिक प्रहरी महाशाखाले ३८ थना नक्कली लाइसेन्ससहित एकजनालाई पक्राउ गर्‍यो । प्रहरीले सिन्धुपाल्चोकका आशिष गिरीलाई नक्कली लाइसेन्स र कारसहित पक्राउ गरेको हो ।

महाशाखा प्रमुख एसएसपी जनक भट्टराईका अनुसार गिरीले यातायात व्यवस्था कार्यालयका कर्मचारीसँगको मिलमतोमा मृत्त व्यक्ति र समयमा नवीकरण नगरी खारेज भएका नम्बरमा नाम, ठेगाना परिवर्तन गरी नक्कली स्मार्ट लाइसेन्स बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

भट्टराई भन्छन्, ‘सिन्धुपाल्चोक घर भएका आशिष गिरी केही वर्षअघिसम्म बसमा सहचालक थिए । त्यसपछि यातायात व्यवस्था कार्यालय बाहिर सहयोगी हुँदै बिचौलिया बनेर नक्कली लाइसेन्सको काम गर्दे आएको खुलेको छ ।’

गिरीलाई महाशाखाको पीडित सहायता इकाईबाट खटिएको टोलीले उनी चढ्ने बा १५ च ४६८४ नम्बरको आइ ट्वान्टी कार, ३८ थान नक्कली सवारी चालक अनुमति पत्र र विभिन्न बैंकका चेकसहित पक्राउ गरेको हो ।

प्रहरी अधिकारीका अनुसार उनले विदेशमा बस्ने नेपालीका लागि पनि लाइसेन्स बनाउने गरेका छन् । त्यसका लागि उनले एउटा लाइसेन्सको ३० हजार रुपैयाँदेखि एकलाख रुपैयाँसम्म लिने गरेका थिए ।

केही वर्षअघिसम्म बसका सहचालक रहेका गिरीले नक्कली लाइसेन्स बनाएरै काठमाडौँमा घर, गाडी र बैंक ब्यालेन्स जोडेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यो प्रतिनिधीमुलक उदाहारण मात्र हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क अनुसार पछिल्लो ४ वर्ष ५ महिनामा १०६ वटा नक्कली सवारी चालक अनुमतिपत्र भेटिएका छन् ।

प्रहरी अनुसन्धान अधिकारीहरुका अनुसार नक्कली लाइसेन्स बनाउन विचौलियासँग यातायाताका कर्मचारी र ट्राफिक प्रहरीको समेत मिलेमतो देखिएको छ । यातायात व्यवस्था विभाग भने मिलेमतोको कुरा स्वीकार्दैन ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल नक्कली लाइसेन्स बनाउन बाहिरी व्यक्ति वा दलाल र विचौलियाको हातहुन सक्ने बताउँछन् । उनी भन्छन्, ‘नक्कली लाइसेन्स बनाउन विभागका कर्मचारीको मिलेमतो देखिएको अहिलेसम्म भेटिएको छैन । बाहिरी विचौलियाहरुले बाहिर नै छापेको हुनसक्छ।’

यता महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुख एसएसपी जनक भट्टराई पनि नक्कली लाइसेन्स बनाउने गिरोहले छाप र कार्ड आफै बनाउने गरेको दाबी गर्छन् ।

कति लाइसेन्स नक्कली ?
दुई वर्षअघि महानगरीय ट्राफिक प्रहरी महाशाखाले पक्राउ गरेको नक्कली सवारी चालक अनुमतिपत्र बनाउने एउटा गिरोहले दैनिक १२ वटासम्म सवारी चालक अनुमतिपत्र बिक्री गर्ने भनेर प्रहरीलाई बयान दिएको थियो ।

त्यो गिरोहले ६ वर्षदेखि निरन्तररुपमा नक्कली सवारी चालक अनुमति पत्र बनाएको अनुसन्धानबाट खुलेको थियो । प्रहरीका अनुसार, त्यो समूहले मात्र प्रहरीले पक्राउ गरेको अवधिसम्म २६ हजारभन्दा बढी नक्कली लाइसेन्स बनाएको देखिन्छ । त्यसबाहेक अन्य विभिन्न गिरोहले पनि लाइसेन्स बनाइरहेका छन् ।

यातायात व्यवस्था विभागमा दर्ता भएको सवारी र लाइसेन्स लिनेहरुको तथ्याङ्क हेर्दा पनि नेपालमा ४० हजार जति नक्कली लाइसेन्स भएको अनुमान गर्न सकिन्छ । यद्यपी आधिकारिक तथ्याङ्क भने कसैसँग छैन ।

कस्तो ट्रेण्ड ?
जानकारहरुका अनुसार नक्कली लाइसेन्सको धन्दा गर्नेहरुले सुरुमा सवारी लाइसेन्स आवश्यकता भएका व्यक्तिहरुको पहिचान गर्छन् र उनीहरुको क्षमता अनुसारको रकम माग गर्छन् ।

अनुसन्धान अनुसार कम्तिमा ३० हजार र त्योभन्दा माथिको रकम दिएपछि नक्कली लाइसेन्स तयार गरेर दिन्छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाकोसमेत जिम्मेवारी सम्हालिसकेका पूर्वडीआइजी केशव अधिकारीका अनुसार त्यस्तो नक्कली लाइसेन्स कहाँ बन्छ ? कसले बनाउँछ ? ल्याउने को हो ? भन्ने विषय भने गुपचुप नै राखिन्छ ।

अनुसन्धान अनुसार यस्ता गिरोहले नेपालमा भन्दा विदेश जानेका लागि लाइसेन्सको ब्यापार गर्ने गरेका छन् । दैनिकजसो हुने सवारी दुघर्टनाको एउटा कारणमा नक्कली सवारी अनुमतिपत्रका आधारमा सवारी चलाउनु पनि रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  १ : १७ बजे

भारतमा बाढीमा ६२ जनाको मृत्यु, हजारौँ प्रभावित

लखनऊ– भारतको उत्तरी राज्य उत्तर प्रदेशमा तीन दिनदेखि परेको भारी

दुर्गा प्रसाईँ फेरि पक्राउ

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई फेरि पक्राउ परेका छन् । 

बिपी राजमार्ग खुलाउने प्रयास जारी

बनेपा– पछिल्लो चार दिनको निरन्तर वर्षाका कारण पहिरो तथा रोशी नदीको

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको