विस्तारै घरबास पर्यटनका चहलपहल « Khabarhub

विस्तारै घरबास पर्यटनका चहलपहल


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– एक वर्षपछि पर्वतका ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टे (घरबास)मा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । जिल्लाका झण्डै चार दर्जन गाउँमा होमस्टे सेवा सञ्चालनमा रहेका छन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ पछि ठप्प बनेका अघिकांश घरबास सेवा विस्तारै शुरु हुन थालेको सञ्चालकले बताएका छन् । कोभिडको जोखिम कम हुँदै गएकाले आन्तरिक पर्यटनलाई खुला गरिएको पर्वतको मोदी गाउँपालिकामा सञ्चालित होमस्टे सेवाका सञ्चालकले बताए ।

गण्डकी प्रदेशकै अग्रणी घरबास सेवा दिँदै आएको पर्वतको मोदी गाउँपालिका–८ चित्रेस्थित सामुदायिक होमस्टेमा ११ महिनापछि पर्यटकको चहलपहल शुरु भएको छ । कोभिड–१९ को महामारी नहुँदासम्म धेरैको रोजाइमा पर्दै आएको मोदी ‘चित्रे ग्रामीण पर्यटन होमस्टे’मा माघको दोस्रो सातादेखि पर्यटकको चहलपहल शुरु भएको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष सुशीलादेवी गुरुङले बताइन।

चित्रेबाट देखिने प्राकृतिक दृश्यका साथै गुरुङ जातिको मौलिक कलाले होमस्टेमा आउनेको मन जित्दै आएको छ । अहिले आन्तरिक पर्यटक आउने क्रम शुरु भएको उनले बताइन । पोखरा र काठमाडौँबाट समेत विभिन्न समूहमा आन्तरिक पर्यटक आउन थालेको अध्यक्ष गुरुङले बताइन । कोरोना महामारीभन्दा अघिसम्म वार्षिक तीन हजारभन्दा बढी पर्यटक होमस्टेमा पुग्ने गरेको तथ्याङ्क छ ।

“कोभिड–१९ का बीचमा पनि हामीले होमस्टे खुला गरेका छौँ, अब पर्यटक आउनेक्रम शुरु भएको छ”, उनले भनिन्, “विस्तारै पुरानै लयमा फर्कने विश्वास हामीले लिएका छौँ ।”

चित्रेको होमस्टेलाई व्यावसायिकरुपमा भन्दा पनि सेवामुखी बनाइएको छ । कतिपय ठाउँमा होमस्टे चलाएर नै दैनिक गुजारा चलाउने स्थानीयको दैनिकी रहने गरेको भए पनि चित्रेमा होमस्टे चलाइरहेका सात घरका लागि त्यो बाध्यता छैन । जति बचत हुन्छ, त्यसको करीब दुई प्रतिशत वातावरण संरक्षण, शिक्षा, पर्या–पर्यटनमा लगानी गर्ने गरेको र पाँच प्रतिशत होमस्टेको कोषमा राख्ने गरिएको सञ्चालक समितिले जनाएको छ ।

समितिका अनुसार चित्रेको होमस्टेमा एकपटकमा ७० जनासम्म राख्नसक्ने क्षमता छ । अहिले धेरै घरमा कोठा थप्ने र सबै कोठामा शौचालय जडित रुम बनाउने क्रम चलेको छ । धेरै घरमा सुधार गरिएको अध्यक्ष गुरुङले बताइन ।

चित्रे हुँदै स्याङ्जा, कास्की र पर्वतको संगमस्थल पञ्चासेमा पदयात्रा गर्दै जाने ‘रुट’ समेत रहेका कारण पदयात्रामा जानेदेखि चित्रेको कला र प्राकृतिक सौन्दर्य हेर्न जाने आन्तरिक पर्यटकहरुको सङ्ख्या धेरै छ । होमस्टे पुग्नासाथ गुरुङ पोशाकमा सजिएका महिलाबाट टीका, फूल र मालाबाट गरिने आतिथ्यले सबैलाई फुरुङ्ग बनाउँछ ।

खानाका रुपमा कोदोको पिठोबाट बनाइएको पुवा, सेल रोटी, गुन्द्रुक र भट्टको तरकारी, स्थानीय जातका गोलभेँडाबाट बनाएको चटनी अनि लेकको चिसो पानीले मथेर बनाएको मोहीले धेरैलाई लोभ्याउँछ ।

चित्रेको होमस्टेका आकर्षणमा अर्गानिक र स्थानीय खानाका स्वादसँगै पञ्चेबाजाको ताल र भजनको टुक्का पनि रहेको होमस्टे विकास समितिका सल्लाहकार मधुसुदन अधिकारीले बताए ।

मौलिक कलाको प्रचार र प्रवद्र्धन तथा पाहुनाको मनोरञ्जनका लागि साँझमा पञ्चेबाजा र भजन टोलीको फरकफरक प्रस्तुतिले धेरैलाई रमाइलो लाग्ने गरेको होमस्टेमा पुगेका पत्रकार अगन्धर तिवारीले बताए । गुरुङ समुदायको बाहुल्यता रहेको चित्रेमा गुरुङ सङ्ग्रहालय बनाउने तयारीसमेत गरिएको स्थानीय वडाध्यक्ष सुकबहादुर गुरुङले बताए ।

उता जिल्लाको कुश्मा नगरपालिका–३ मा दुर्लुङ, वडा नं १४ आर्थर, फलेबास नगरपालिका–२ थापाठाना, जलजला गाउँपालिकाको बाँखसर्क, लेखफाँट, शालिजा, महाशीला गाउँपालिकाको भोक्सिङ, बालाकोट, लुङ्खु, विहादी गाउँपालिकाको गेप्ताङ र बाँच्छा सामुदायिक होमस्टे र पैँयु गाउँपालिकाको चिन्नेखर्कलगायतका स्थानमा पनि आन्तरिक पर्यटक आउन थालेका छन् ।

अघिल्लो आर्थिक वर्षमा गण्डकी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले पर्वतमा ४८ वटा होमस्टे विस्तारका लागि रु १० लाखका दरले अनुदानसमेत दिएको थियो ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ३ : ३० बजे

देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं– आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल,

पहिरो पन्छाउन तीन ठाँउमा उपकरण

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्साभेटर,

‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग

नयाँदिल्ली– भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँगै

असन्तुष्ट छरिएपछि ओलीलाई भेट्दै शीर्ष नेताहरू

काठमाडौं- नेकपा र एमालेबीच सातै प्रदेशमा सत्ता सहकार्य भएको विषय