दोहा- कतारले कोभिड – १९ भ्याक्सिनका दुबै डोज लगाइसकेकाहरूलाइ कतारमा क्वारेन्टाइनमा बस्नु नपर्ने जनाएको छ ।
कतारको स्वास्थ्य मन्त्रालयका अनुसार यो सुविधा कतारी नागरिक र कतारको आवासिय अनुमति प्राप्त (कतारी आईडी होल्डर ) का लागि मात्र हुने जनाएको छ ।
यो सुविधा भ्याक्सिनको दोस्रो डोज लगाएको १४ दिन पश्चात ३ महिनासम्म मात्र मान्य हुने हामद अस्पतालका सरुवा रोग विभागका प्रमुख डा.अब्दुल्लातिफ अल खालले बताए ।
कतारबाट छुट्टीमा गएकाहरू महंगो होटल क्वारेन्टाइनको बाद्यात्मक नियममा पिल्सिदै कतार फर्किन नसकिरहेकाहरूलाई यो एउटा सहज र कम खर्चिलो निकास हुन सक्नेछ ।
यहाँ खोप सुरु भएदेखि अहिलेसम्म एक लाखभन्दा बढी मानिसहरूले कोभिड–१९ बिरुद्धको खोप प्राप्त गरिसकेको मन्त्रालयले जनाएको छ ।
कोभिड–१९ बिरुद्धको खोप अभियान कतारमा गत डिसेम्बर २३ तारिख २०२० देखि सुरु भएको थियो । पहिलो चरणमा वृद्धहरू, गम्भीर दीर्घकालीन रोगहरू र स्वास्थ्य सेवा फ्रन्टलाइनमा काम गर्नेहरुलाई प्राथमिकता दिइरहेको छ ।
कतारले २०२१ भित्रमा आप्रवासी नागरिकसहित अन्य सबैलाई कोभिड–१९ विरुद्धको खोप निशुल्क रुपमा उपलब्ध गराईसक्ने यसअघि नै जनाएको छ ।
प्रतिक्रिया