के प्रहरीले सक्कली युरेनियम नै बरामद गरेको हो ? « Khabarhub

के प्रहरीले सक्कली युरेनियम नै बरामद गरेको हो ?



काठमाडौँ– शुक्रबार महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले साढे २ किलोग्राम एउटा धातुसहित ४ जनालाई पक्राउ गरेर पत्रकार सम्मेलन गर्‍यो । प्रहरीले उक्त धातु बहुमुल्य युरेनियम हो भनेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा रामेछापको लिखु, तामाकोशीका ४० वर्षीय नारायण सिंह तामाङ, ४० वर्षकै जानुका तामाङ, रामेछापकै बागजोरका २० वर्षीय प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपाने छन् । प्रहरीको दाबी अनुसार काठमाडौँको बौद्धबाट उक्त धातु बरामद भएको हो ।

कार्यालयका प्रमुख एआईजी हरिबहादुर पालका अनुसार बौद्धमा भण्डारण गरिराखेको अवस्थामा गत सोमबार नै शंकास्पद धातु बरामद भएको थियो । उनले भने, ‘त्यसलाई परीक्षण गर्दा युरेनियम रहेको पुष्टि भयो ।’ उनका अनुसार यो युरेनियमको मूल्य ५ अर्ब रुपैयाँभन्दा बढी हुन्छ ।

एआईजी पालले भने, ‘हाम्रो टोली एक साता लामो अनुसन्धानपछि बहुमुल्य धातु युरेनियमसहित ४ जना पक्राउ गर्न सफल भएको हो ।’

युरेनियम रेडियोधर्मी धातु हो । यसलाई सबैभन्दा मूल्यवान धातुका रूपमा लिइन्छ ।

प्रहरीको दाबी मान्ने हो भने नेपाल प्रहरीको इतिहासमै अहिले बरामद गरेको युरेनियम सबैभन्दा ठूलो परिमाणको हो । पक्राउ परेका अभियुक्तले बयानमा २० वर्षअघि नै भारतको एउटा खानीबाट युरेनियम ल्याएको बताएको प्रहरीले जनाएको छ ।

ग्राहक खोज्दै थिए

महानगरीय प्रहरी कार्यालयका प्रमुख एआईजी पालका अनुसार डेढ अर्ब रुपैयाँमा साढे दुई किलो युरेनियम बेच्न ग्राहक खोज्दै हिँड्दा चार जना पक्राउ परेका हुन् । एआइजी पालले डेरामा लुकाएर राखेको युरेनियम बिक्री गर्न ग्राहक खोज्ने क्रममा उनीहरूले बिचौलियालाई समेत दुई करोड रुपैयाँसम्म कमिसन अफर गरेका थिए ।

पक्राउ परेकी ४० वर्षीया जानुका तामाङको बयान उद्धृत गर्दै पालले दिएको जानकारी अनुसार अमर लामा भन्ने व्यक्तिले २० वर्षअघि भारतको एक खानीबाट युरेनियम ल्याएर घरमा राखेका थिए । युरेनियम भारतबाट ल्याउने अमर लामा भने अमेरिका रहेको जानकारी पाएको पालले बताए ।

पालका अनुसार युरेनियम घरमा रहेको भन्ने विषयमा जानुकाले नारायण सिंहलाई सुनाएकी थिइन् । नारायणले युरेनियमको बजार मूल्य अर्बौ पर्ने सुनाएपछि उनीहरूले २ करोड कमिशन दिने भन्दै ग्राहक खोज्न मनोज न्यौपाने र प्रकाश चौहानलाई जिम्मा दिए ।

ग्राहक खोजीरहेको सूचनापाएपछि प्रहरीले आफैैँ ग्राहक बनेर अपरेसन गर्दा उक्त बहुमुल्य धातु बरमद गर्न सफल भएको एआईजी पालको भनाइ छ ।

युरेनियम सक्कली हुनेमा शंका

प्रहरीले बरामद गरेको बहुमुल्य धातु युरेनियम नै हो भन्ने ल्याब परीक्षणबाट पुष्टि भइसकेको प्रहरीले दाबी गरेको छ । एआईजी पालले भने, ‘हामीले ल्याबमा परीक्षण गराएका थियौँ । युरेनियम नै भएको जानकारी आएको छ ।’ उनका अनुसार राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा सक्कली पुष्टि भएको हो ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का प्रवक्ता डा. सुरेशकुमार ढुङ्गेल भने ठ्याक्कै युरेनियम नै हो भन्न सक्ने अवस्था नरहेको बताउँछन् । ‘नेपाल प्रहरीले शंकास्पद वस्तु परीक्षणका लागि नास्टमा ल्याएको थियो, परीक्षण गर्दा रेडियसन डोज असामान्य देखिएको छ, सामान्य चट्टानमा यस्तो देखिँदैन,’ ढुङ्गेलले भने, ‘रेडियसन हेर्दा शंकास्पद लेभलमा देखिएको छ तर युरेनियम नै हो भनेर भन्न सकिँदैन, यो अनुसन्धानको प्रारम्भिक चरणमै छ ।’

खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक जयराज घिमिरे प्रहरीले बरामद गरेको युरेनियमका विषयमा कुनै जानकारी नआएको बताए ।

उनले भने, ‘हामीले पनि समाचारमा देखेका मात्र हौँ तर आधिकारिकरूपमा कुनै जानकारी आएको छैन ।’

उनले विभागले युरेनियम हो, होइन, कस्तो हो भनेर परीक्षण गर्न सक्ने भए पनि जानकारी नआएकाले अहिले प्रहरीले दाबी गरेको युरेनियमका विषयमा केही भन्न नसक्ने बताए ।

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल पनि सक्कली युरेनियनम हुनेमा भने शंका गर्छन् । उनले भने, ‘नेपालमा पहिले पनि मोतीका दानाजस्तो देखिने सानो परिमाणमा समातिन्थ्यो तर त्यो सबै नक्कली हुन्थ्यो । अहिले पहिलेभन्दा फरक प्रकृतिको ठूलो परिमाणमा समातिएको छ । अहिले नै यसै भन्न सकिने अवस्था छैन ।’

उनका अनुसार सक्कली युरेनियम हो भने सामान्य व्यक्तिहरूका हातमा अर्बौं मूल्यको सामान कसरी आयो भन्ने सूक्ष्मरूपमा अध्ययन गर्नुपर्छ ।

प्रहरीले पक्राउ गरेका चार जनालाई विस्फोट पदार्थ ऐन २०१८ अन्तर्गत पाँच दिनको म्याद थप गरेर अनुसन्धान गर्दैछ । जानकारहरूले भने यदि युरेनियम नै हो रहेछ भने पनि त्यो कसरी विष्फोटक पदार्थ भयो भन्ने प्रश्न गरेका छन् ।

यति ठूलो परिमाणमा अर्बौं मूल्यको युरेनियम साधारण मानिससँग भेटिनु आफैँमा अपत्यारिलो हुने विज्ञहरूको भनाइ छ ।

यस अघिका उदाहारण

प्रहरी उच्च स्रोतले दिएको जानकारी अनुसार ५० वर्षअघि अमेरिकी दूतावासलाई नेपालका केही व्यक्तिहरूले युरोनियम भनी यस्तै वस्तु दिएका थिए । अमेरिका लगेर परीक्षण गर्दा प्रमाणित हुन सकेन ।

त्यस्तै, उच्च सैनिक स्रोतका अनुसार युरेनियमजस्तै देखिने वस्तु देखाउने र उत्तर कोरिया तथा इराकमा बिक्री गर्न लागिएको भनी नेपालमा हल्ला चल्ने गरेको छ ।

सैन्य स्रोतका अनुसार सन् १९७५ मा ठूलै हलचल आएको थियो । एक जना जापानीले अमेरिकीहरूलाई युरेनियम हो भनेर नमुना नै दिएका रहेछन् । पछि त्यो पनि युरेनियम नरहेको प्रमाणित भयो । सैन्य स्रोतका अनुसार अमेरिकीहरूलाई सन् १९७३ मा पनि यस्तै वस्तु दिएर झुक्याइएको रहेछ ।

अनुसन्धान अधिकारीहरूका अनुसार नेपालमा भने अहिलेसम्म सक्कली युरेनियम भेटिएकै छैन । सन् २००८ फेबु्रअरी ९ मा विहार प्रहरीले नेपालको सीमाबाट नजिकै रहेको भारतको सुपौल जिल्लाबाट ४ किलोग्राम प्राकृतिक युरेनियमसहित ६ जना पक्राउ गरेको थियो ।

के हो युरेनियम ?

युरेनियम प्रकृतिमा पाइने गह्रौँ धातुमध्ये एक हो । युरेनिम ९२ एटमिक नम्बर र २३८ दशमलव ०२८९१ हो । यो रेडियोधर्मी हुन्छ । प्राकृतिक तत्त्वमा युरेनियम भन्दा गह्रौँ धातु नेप्चुनियम र प्लुटोनियम मात्र हुन् ।

युरेनियमका २३३, २३४, २३५, २३८ लगायत आइसोटोप्स छन् । यीमध्ये २३५ युरेनियम सबैभन्दा राम्रो मानिन्छ । ‘आइसोटोप्स’ ले न्युट्रोनको नम्बर फरक भएको एउटै तत्त्व भन्ने बुझाउँछ ।

यसले लगातार ऊर्जावान विकिरण निष्कशन गर्छ र यसको आयु सयौँ वर्षसम्म हुन्छ । नेपालमा पेग्माटाइट र ग्रेनाइट चट्टानमा युरेनियम पाइएको छ । विश्वमा बालुवासँग मिश्रित युरेनियम धेरै पाइन्छ ।

विशेषज्ञहरू विकिरण शक्ति मापन गरेर युरेनियमको भण्डार पत्ता लगाउँछन् ।

एक किलो युरेनियमबाट उत्पादन हुने विद्युत शक्ति तीन लाख टन कोइला बाल्दा उत्पन्न हुने शक्तिसरह हुन्छ । युरोपियन न्युक्लियर सोसाइटीको एक अध्ययन अनुसार एक किलो कोइलाबाट आठ किलोवाट र एक किलो तेलबाट करिब १२ किलोवाट ऊर्जा निस्किन्छ । एक किलो युरेनियमबाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ ।

विज्ञहरूका अनुसार ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा युरेनियमको उपयोग हुन्छ । अमेरिकी ऊर्जा मन्त्रालयको आधिकारिक वेबसाइटमा उल्लेख भएअनुसार १० ग्राम शुद्ध युरेनियमको अन्तर्राष्ट्रिय बजारको वैध मूल्य २० लाख ९ हजार अमेरिकी डलर छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ९ : ५३ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको