स्ट्रबेरीमा फल्छ दीपेशको भविष्य | Khabarhub Khabarhub

स्ट्रबेरीमा फल्छ दीपेशको भविष्य



काठमाडौँ— ककनीका दीपेश तामाङले साढे पाँच रोपनी जग्गामा स्ट्रबेरी खेती गरेका छन् ।

यतिबेला उनको जग्गामा लहरै देखिने विरुवामा भुइँ छोप्ने गरी स्ट्रबेरी फलेको छ । हरिया बोटमा राताम्मे देखिने स्ट्रबेरी बगैँचामा पुग्दा उनलाई बिछिट्टै खुशी मिल्छ ।

‘बगैँचाको छेउमा आउँदा मन नै हलुका हुन्छ’ व्यावसायिक दीपेश भन्छन्, ‘यी स्ट्रबेरीका दाना मात्र होइनन्, परिवार पाल्ने आधार पनि हो ।’

उनले १५ वर्षको उमेरमै स्ट्रबेरी खेती शुरू गरेका हुन् । अहिले ३५ वर्ष पुगे । आफ्नो पुर्खौली जमिनमा उनको मिहिनेत स्ट्रबेरी बनेर फलिरहेको छ र त्यसल नै परिवार पालिरहेको छ ।

पन्ध्र वर्षको उरन्ठेउलो उमेरमा भविष्यबारे चिन्ता गर्ने र काम सोच्ने कुरै थिएन । त्यही समयमा ककनीमा स्ट्रबेरी खेतीका लागि प्रोजेक्टको रूपमा पुग्यो ‘जाइटी नेपाल’ ।

जापानी सहयोग नियोग नियोग ‘जाइका’ अन्तर्गतको ‘जाइटी नेपाल’ परियोजनाले पहिलोपटक नुवाकोटमा स्ट्रबेरी खेती शुरू गरेको थियो ।

उक्त परियोजनाले स्ट्रबेरीका केही विरुवा रोपेर परीक्षण गर्‍यो । त्यसले राम्रो उत्पादन दिएपछि स्ट्रबेरीको लागि हावापानी अनुकूल स्थानका रूपमा छनोट भयो ककनी ।

त्यो समय दीपेशको बारीमा मकै, कोदो, मूला, भटमास लगायत उब्जाउ हुन्थ्यो । उनले जाइटी नेपालको प्रोजेक्टमा काम गर्ने अवसर पाए ।

‘म र केही साथीहरूले त्यो प्रोजेक्टमा काम गर्ने मौका पायौँ । केही वर्षपछि हामीले एकदुईवटा विरुवा लियौँ र बारीमा लगायौँ,’ शुरूवाती दिन स्मरण गर्दै दीपेशले भने, ‘त्यसले राम्रो फल दियो अनि व्यावसायिक रूपमा विस्तार गर्ने सोच आयो ।’

गाउँघरका युवाहरू रोजगारीका लागि विदेश जाने लहर चलेको भए पनि दीपेशलाई त्यस्तो रहर जागेन । उनले आफ्नै माटोमा भविष्य देखे । स्वदेशमै आत्मनिर्भर हुने सपना देखे । त्यसैअनुरुप उनले व्यावसायिक रूपमा स्ट्रबेरी खेती शुरू गरे ।

एउटा विरुवाको कमाल

दीपेशले एउटा विरुवा लगेर बारीमा रोपेका थिए । त्यसमा लटरम्म स्ट्रबेरी फलेपछि उनले व्यावसायिकरूपमा खेती शुरू गरे । उनले एक रोपनी जमिनमा बिरुवा रोपे । त्यो समयमा त विरुवा पाउन पनि मुश्किल पर्थ्यो । एक रोपनीबाट अलिअलि गर्दै अहिले साढे पाँच रोपनी पुर्‍याएएका छन् ।

उनले माउ बोटबाट बेर्ना निकालेर बिरुवा उत्पादन गर्न थाले । त्यसपछि गाउँका अन्य युवाहरूले पनि स्ट्रबेरीको बिरुवा पाउन थाले ।

दीपेशका अनुसार जेठको अन्तिममा स्ट्रबेरी फल्न बन्द हुन्छ । फले पनि बर्खाको पानीले फल कुहिने हुन्छ । उनीहरू जेठ, असार र साउनमा नर्सरीबाट विरुवा उत्पादन गर्छन् । एउटा माउ बोटबाट १५ वटासम्म विरुवा उत्पादन हुन्छ ।

भदौ र असोजको पहिलो हप्तासम्म बारीमा बिरुवा रोपिसक्छन् । रोपेको एक महिनामै फल लाग्न थाल्छ । कात्तिकको पहिलो हप्ताबाट बजारमा पुग्न थाल्छ र करिब जेठभरि फल्छ ।

दीपेका अनुसार सुपर मार्केटहरूमा स्ट्रबेरी प्रतिकेजी एकहजार रुपैयाँसम्म पर्छ । स्ट्रबेरी र अङ्गुर एकैसाथ बजारमा आउने भएकाले स्ट्रबेरीले मूल्य पाउन प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

अङ्गुरसँगको प्रतिस्पर्धाले मूल्य कम पाउने समस्या भए पनि बिक्री नहुने र घाटा व्यहोर्नुपर्ने अवस्था भने नरहेको दीपशको भनाइ छ ।

एक सिजनमा १३ लाख आम्दानी

एक सिजनमा विरुवा उत्पादनदेखि फल्नेबेलासम्म दुई लाख रुपैयाँसम्म खर्च हुन्छ । गत सिजनमा दीपशले १३ लाख रुपैयाँ आम्दानी गरे । यो सिजनमा पनि त्यो आम्दानी नघट्ने उनको विश्वास छ ।

सामान्य तरिकाले जीविकोपार्जन गर्न रोजगारी खोज्दै खाडी मुलुक जानु नपर्ने दीपेशको भनाइ छ ।

स्ट्रबेरी खेतीको सम्भावना

नेपालमा स्ट्रबेरी खेतीको राम्रो सम्भावना रहेको बताउँछन् कृषि प्राविधिक शिवराज पोखरेल ।

उनका अनुसार सामान्यतया १२ सय मिटरदेखि १७ सय मिटरसम्मको उचाइमा दक्षिणपश्चिम फर्केको, दैनिक कम्तीमा ८ घण्टा घाम लाग्ने र दोमट माटो भएको जमिनका स्ट्रबेरी खेती हुन्छ ।

पोखरेल भन्छन्, ‘सम्भावाना राम्रो छ, उपयुक्त ठाउँ हेरेर स्ट्रबेरी लगाउँदा राम्रो आम्दानी गर्न सकिन्छ, बजारमा मूल्य पनि राम्रो छ ।’

अहिले नेपालमा उत्पादन हुने स्ट्रबेरीमध्ये ९० प्रतिशत ककनीमै हुन्छ ।

 

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ११ : ४० बजे

तनहुँको राजापानी सिद्धेश्वर महादेव ओझेलमा

तनहुँ– धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको तनहुँको व्यास

हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन

हुम्ला– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण

मेलनिया ट्रम्पले सुरु गरिन् प्रशासनिक जिम्मेवारी

न्युयोर्क – प्रथम अमेरिकी महिला मेलनिया ट्रम्पले प्रशासनिक जिम्मेवारीको सुरुवात

अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र प्रहरी

झापा– सशस्त्र प्रहरी बलले झापाको अन्तर–सीमा क्षेत्रमा हुनसक्ने अपराध र

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल