भक्तपुरको बिस्का जात्रा आज शुरु | Khabarhub Khabarhub

भक्तपुरको बिस्का जात्रा आज शुरु


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भादगाउँ- सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज शुरु हुँदैछ ।

यो जात्रासँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ । जात्रा आज साँझ टौमढीस्थित ङातापोल (पाँचतल्ले मन्दिर) अगाडिबाट भैल खः (भैरवनाथको रथ) तानातान गर्दै शुरुआत गरिन्छ ।

काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तल्ले रथमा रथभित्र भैरवनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने(माथिल्लो) र क्वने(तल्लो) टोलतर्फ तानातान गर्न थालेपछि यो वर्षको जात्रा शुरु हुन्छ ।

यसवर्ष दिउँसो २ बजे भैल खः तान्ने कार्यक्रम छ । भक्तपुर नगरपालिकाले सरोकारवालाहरुसँग छलफल गरेर सो कार्ययोजना तय गरेको हो । तालिकाअनुसार आज बिहान ५ बजे नै भैरवनाथको महास्नान पूजा र ५:३० बजे बालकृष्ण कर्माचार्यबाट नित्य पूजा सम्पन्न गरिएको छ ।

बिहान ६ बजेदेखि ८ बजेसम्ममा स्थानीय टोलवासीले पूजा सम्पन्न गर्ने, बिहान ८ देखि ९ बजेसम्ममा नौ बाजा भजनका गुठीयार ज्ञानेन्द्रनाथ कायष्थ समेतको टोलीबाट पूजा सम्पन्न गर्ने,  बिहान ९ बजेदेखि ९:३० बजेसम्ममा भैरवनाथ र बेताल देवतामा जगतबहादुर मानन्धरको टोलीबाट पूजा सम्पन्न गर्ने, बिहान ९:३० बजेदेखि १० बजेसम्ममा गुठी संस्थान कार्यालय र सिकर्मी नाइके भएर पूजा सम्पन्न गर्ने बैठकपछि जारी जात्रासम्बन्धी कार्यतालिकामा उल्लेख गरिएको छ ।

त्यस्तै बिहान १० बजे बेताल झिक्ने, जगतबहादुर मानन्धर र गङ्गालाल कुस्मा समेतबाट पूजा सम्पन्न गर्ने, १० बजेदेखि ११ बजेसम्म बेताल सफा गर्ने र रथमा राखी सिंगार्ने, ११ बजेदेखि १२ बजेसम्म भैरवनाथको मूल नाइके लक्ष्मीभक्त घैमसूले श्रीको पूजा शुरु गर्ने कार्यक्रम छ ।

त्यस्तै १२ बजे गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुखले तलेजु पूजारी प्रगेश राजोपाध्यायलाई खड्ग बुझाउने, १ बजेसम्ममा पूजारी प्रगेश राजोपाध्याय दुई जना र हपः दिने चौगुठीहरू दुई जना तलेजुमा उपस्थित हुने, तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी र गुठी कार्यालयले बाजा बन्दोबस्त गरी टौमढीमा आउने र १२ देखि १ बजे भैरव नाइके लक्ष्मीभक्त घेमोसु गुठीयारले गुहृय पूजा सिध्याई देवता रथमा राख्ने तयारी गरिएको छ ।

भैल खः तान्न १ देखि १:३० बजे भद्रकालीको रथलाई घट्खामा पठाई भद्रकालीलाई रथमा बिराजमान गर्ने गरी भद्रकालीको रथमा पूजा सम्पन्न गर्ने, १:३० बजेदेखि २ बजेसम्म भद्रकालीको रथलाई टौमढीको पुबहालको अगाडि ल्याई  २:०० बजेदेखि भैरवनाथको रथ तान्न शुरु गर्ने गरी ५:३० बजेसम्म भैरवनाथको रथ गःहिटीमा पुर्‍याई जात्रा सम्पन्न गर्ने तयारी गरिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो । यसरी तानातान गर्ने क्रममा थनेतर्फ पहिला तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढीहुँदै क्वनेतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहिटीमा रथ पु¥याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने गर्दछ । यसवर्ष भैल खः टौमढीबाट पूर्वमा बढीमा बुलुबुलु हिटी (सुकुलढोका) र पश्चिममा बढीमा नासमनासम्म मात्र लान अनुरोध गरिएको छ ।

रथमा जुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिहरू बाहेक अन्य व्यक्तिहरू अनधिकृत रुपमा नचढ्न समेत अनुरोध गरिएको छ ।

बिस्का जात्राका ऐतिहासिक पक्षका सम्बन्धमा थिमीमा प्राप्त नेपाल संम्बत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायको रुपमा बिसिक शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् ।

 “भक्तपुर टौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा पहिलो पल्ट जात्रालाई सम्बोधन गर्दा विश्व जात्रा भनी उल्लेख गरिएको छ । त्यसैगरी भक्तपुरको राजदरबारमा नेपालसम्वत् ८०८ र ८१८ को राजा जीतामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विस्क्यात शब्द उल्लेख छ । तलेजुमा अहिलेसम्म चल्ने बिस्का जात्राको संकल्प पूजामा विश्वजात्रा महापर्व भनेर सम्बोधन गरिन्छ”, उनी भन्छन्, “यी प्रमाणका आधारमा विश्व केतु भनेको संस्कृत शब्द हो । पछिल्लो कालखण्डमा नेवारी नामाकरणअनुसार विसिक, बिस्क हुँदै बिस्का हुन पुगेको हो । त्यसैको अपभ्रंस भएर बिस्केट हुन पुगेको हो । नेवारीमा अहिले पनि बिस्का जात्रा भन्ने गरिन्छ ।”

प्रा.डा. श्रेष्ठले बिस्का जात्राको प्रचलित किंवदन्ती गलत भएको दाबी गर्नुभएको छ । उहाँले बिस्का जात्रा नितान्त भैरवनाथ र भद्रकालीसँग मात्र सम्बन्धित रहेको र यसको प्रचलित सर्प मारेको र नागनागिनीसँग जोडिएको किंदन्ती भ्रम मात्र रहेको बताउँछन् ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ९ : ३९ बजे

शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर क्षेत्रफल

करिब २ सय ६८ किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-१७ र २० को सिमानास्थित चुम्पुले खोलाको जंगलबाट अवैध लागूऔषध

गणतन्त्रभन्दा उत्तम व्यवस्था अरु छैन : मुख्यमन्त्री बानियाँ

पाटन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आम नागरिकको हितका लागि

ओलीको प्रश्न : संविधानले नचिन्ने यो सरकार कसको हो ? न दलको न जेन-जीको ?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको

‘ग्लोबल डे अफ एक्शन’का अवसरमा जलवायु न्यायको मागसहित नेपालभर आवाज (तस्बिरहरू)

काठमाडौं– हरेक वर्ष मनाइने’ग्लोबल डे अफ एक्शन’का अवसरमा नेपालभरका अग्रपंक्तिमा