पत्याउनै नसिकने कारोबार वीर अस्पतालमा, १ पैसामै १७ उपकरण « Khabarhub

पत्याउनै नसिकने कारोबार वीर अस्पतालमा, १ पैसामै १७ उपकरण


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-एक पैसामा पनि सामान किन्न पाइन्छ? पत्याउनै नसकिने गरी वीर अस्पतालमा अक्सिजन सिलिन्डर ट्रली, हि्वलचेयर, बिरामी सुताएर गुडाउन मिल्ने ट्रलीलगायत स्वास्थ्य उपकरण १ पैसाको दरमा खरिद गरिरहेको कान्तिपुर दैनिकमा खबर छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पताल खरिद इकाईले हजारौं पर्ने स्वास्थ्य उपकरण १ पैसामा खरिद गरिरहेको हो। स्वास्थ्य क्षेत्रका संवेदनशील उपकरण १ पैसामा खरिद हुनुले अस्पतालको स्वास्थ्य सेवाको गुणस्तरमै शंका उब्जिएको छ।

पछिल्लो पटक अस्पतालले बुधबार श्री श्रेष्ठ साइन्टिफिक टे्रडस -सप्लायर्स र्फम) को टेन्डर स्वीकृत गर्‍यो। निवेदन दिने चार र्फममध्ये सबभन्दा सस्तो मूल्यमा सामान दिने कबोलेकाले श्री श्रेष्ठको टेन्डर स्वीकृत भएको हो। अरूले १० हजारसम्म तोकेका उपकरण यो र्फमले एक पैसामा दिने भएको छ। भण्डारी सर्जिकल हाउसले ५ हजार ८ सय रुपैयाँ तोकेको अक्सिजन सिलिन्डर ट्रली श्रेष्ठले एक पैसामा दिने भएको छ। बजारमा यो उपकरणलाई ३ हजार रुपैयाँसम्म पर्छ।

गुणस्तरीय हि्वलचियरको बजार मूल्य अहिले ८ देखि १० हजारसम्म छ। प्रतिस्पर्धामा उत्रेका अन्य र्फमले यो सामानको भाउ यही हाराहारी तोकेका छन्। श्री श्रेष्ठले भने १ पैसामै अस्पताललाई दिन तयार भएको छ। १० हजार बजार मूल्यको औषधि बोक्ने ट्रली पनि एक पैसामा खरिद गरिँदै छ। लगभग ५ हजार पर्ने एक्सरे हेर्ने उपकरण (एक्सरे भीयू बक्स), ६ हजारसम्म पर्ने बिरामी सुताएर गुडाउन मिल्ने ट्रली पनि एक पैसामा श्री श्रेष्ठले दिँदै छ। अस्पतालले १७ वटा स्वास्थ्य उपकरण एक पैसाका दरले खरिद गरेको हो। श्री श्रेष्ठको २० लाख १३ हजार २ सय रुपैयाँको टेन्डर स्वीकृत भएको हो।

साढे १९ करोड धितो राखेर ७ अर्ब ऋण शीर्षकमा पत्रिकाले छापेको अर्को समाचारमा सहकारी तथा वित्तीय संस्थाको मूल्यमान्यताविपरीत कर्जा प्रवाह गर्दा सिभिल सेभिङ एन्ड को-अपरेटिभ लिमिटेड वित्तीय जोखिममा परेको छ। सञ्चालकहरूको स्वार्थका कारण बचतकर्ताको झन्डै आठ अर्ब रुपैयाँ जोखिममा परेको हो।

‘सिभिल सेभिङ एन्ड को-अपरेटिभ लिमिटेडले ८ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ,’ सहकारी विभागले कान्तिपुरलाई उपलब्ध गराएको वित्तीय विवरणमा भनिएको छ, ‘सिभिल समूहका तीनवटा कम्पनीलाई मात्रै कुल ७ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ दिइएको छ।’ यो कुल कर्जाको ८८ दशमलव ९३ प्रतिशत हुन आउँछ।

विवरणअनुसार उसले सिभिल होम्सलाई ७ अर्ब १ करोड ३७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। जुन समग्र कर्जाको अनुपातको ८३ दशमलव ९८ प्रतिशत हुन्छ। सिभिल सेभिङ एन्ड को-अपरेटिभ लिमिटेडले आफ्नै समूहको सिभिल अपार्टमेन्टलाई ३४ करोड ६७ लाख रुपैयाँ र त्यही समूहको सिभिल स्टेटलाई ६ करोड ६८ लाख रुपैयाँ कर्जा दिएको छ। धितोबाट कर्जा उठाउने सम्भावना अत्यन्त कम छ।

सहकारी विभागले ‘सहकारी संघसंस्था दर्ता, सञ्चालन, लेखापरीक्षण, अनुगमन तथा नियमनसम्बन्धी मापदण्ड २०६८’ जारी गरेको छ। कुनै पनि सदस्यलाई कुल पुँजी कोषको १० प्रतिशतभन्दा बढी ऋण दिन मिल्दैन। सहकारीले भने मापदण्ड मिचेर एउटै समूहलाई करिब ९० प्रतिशत ऋण दिएको हो। सहकारीको वाषिर्क प्रतिवेदनअनुसार कुल पुँजी ३१ करोड २४ लाख रुपैयाँ छ। उसले सदस्यहरूबाट उठाएको सबैजसो रकम एउटै समूहको कम्पनीलाई कर्जा दिएको हो। सहकारी विभाग स्रोतले भन्यो, ‘१० प्रतिशतभन्दा बढी रकम दिन नमिल्ने अवस्थामा सबै लगानी एकै ठाउँमा खन्याइएको छ।’

सुरक्षणका रूपमा राखेको जग्गाले ऋण धान्न नसक्ने कागजातबाट देखिन्छ। कर्जाबापत सिभिल होम्सले काठमाडौं महानगरपालिका-११, सुन्धारामा रहेको कित्ता नम्बर २४२५ को करिब ६ रोपनी जग्गा धितो राखेको छ। उसले त्यसमा निर्मित संयुक्त लक्जरी आवास मात्रै धितो राखेको छ।

उक्त जग्गाको अधिकतम मूल्यांकन १९ करोड ३५ लाख रुपैयाँ रहेको जिल्ला अदालतमा सहकारीले पेस गरेको लिखित जवाफमा उल्लेख छ। स्रोतले भन्यो, ‘त्यसलाई समेत फुकुवा राखेर अन्यत्रबाट ऋण लिन चलखेल भइरहेको छ।’ सिभिल होम्सले उक्त जग्गा ८४ करोड १८ लाख रुपैयाँ मूल्यांकन गरी देखाएको छ। सिभिल होम्सको लेखापरीक्षण प्रतिवेदनअनुसार उसले विभिन्न ग्राहकसँग अपार्टमेन्ट दिने भनेरसमेत बैना रकम लिएको छ, जसले उसलाई थप जोखिममा पारेको छ।

त्यस्तै पत्रिकाले प्रदेश २ मा नागरिकता लिनेको भीड बढेको, प्रदेशले कैद तोक्न नपाउने कानून बन्दै गरेको लगायतका समाचारलाई प्राथमिकताका साथ छापेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ७ : ३२ बजे

फिफा विश्वकप-२०२६ आजदेखि : उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

काठमाडौँ– फिफा विश्वकप फुटबल– २०२६ आज रातिबाट सुरु हुँदैछ ।

नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।