सरकार गठनका लागि ओली र देउवा दुवैको दाबी राष्ट्रपतिद्वारा खारेज | Khabarhub Khabarhub

सरकार गठनका लागि ओली र देउवा दुवैको दाबी राष्ट्रपतिद्वारा खारेज


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि गरेको आह्वानमा परेका दाबी संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले खारेज गरिएको छ ।

संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी परेको थियो ।

उक्त दाबी उपर विश्वासको मत लिने ठोस आधारहरु नपुगेका कारण राष्ट्रपति कार्यालयले खारेज गरेको हो ।

शुक्रबार राति विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यलयले भनेको छ,  ‘संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधार बमोजिमका दाबीकर्ता दुवै माननीय सदस्यहरुको दाबी नपुगेको देखिएकोले प्रधामन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएन ।’

यस्तो छ विज्ञप्ति

प्रधानमन्त्री नियुक्ति सम्बन्धमा

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार सहित दावी प्रस्तुत गर्न संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधि सभाका सदस्यलाई आज मिति २०७८ जेठ ७ गते साँझ ५:०० बजे सम्मको समय दिई आह्वान गर्नुभएकोमा उक्त अवधिभित्र परेका प्रतिनिधि सभाका माननीय सदस्य श्री केपी शर्मा ओली र माननीय सदस्य श्री शेरबहादुर देउवाका दाबीहरूमा देहायको अवस्था देखिएकोले देहाय बमोजिम निर्णय गर्नु भएको व्यहोरा अनुरोध छः-

प्रतिनिधि सभाका माननीय सदस्य श्री केपी शर्मा ओलीले नेकपा (एमाले) का १२१ र जनता समाजवादी पार्टी, नेपालका ३२ जना सदस्यको समर्थन प्राप्त भएकोले धारा ७६ को उपधारा (५) र (६) बमोजिम प्रधानमन्त्री पदमा विश्‍वासको मत पाउन पर्याप्त आधार रहेको भनी पत्र पेश गर्नु भएको र जनता समाजवादी पार्टी, नेपालको ३२ जना सदस्यको समर्थन रहेको भनी सो पार्टीको तर्फबाट अध्यक्ष श्री महन्थ ठाकुर र संसदीय दलको नेता श्री राजेन्द्र महतोको हस्ताक्षर रहेको पत्र प्राप्त भएकोमा उक्त दुवै दलका गरी १५३ सदस्यको समर्थन रहेको भनिएकोमा नेकपा (एमाले) का २६ जना सदस्य र जनता समाजवादी पार्टी, नेपालका १२ जना सदस्यले अर्का दाबीकर्ता माननीय श्री शेरबहादुर देउवालाई समर्थन गरी हस्ताक्षर गरेको देखिएको ।

प्रतिनिधि सभाका माननीय सदस्य श्री शेरबहादुर देउवाको तर्फबाट पेश भएको दाबीमा नेपाली कांग्रेसका ६१ जना, नेकपा (माओवादी केन्द्र) का ४९ जनाको हस्ताक्षर र सम्बन्धित पार्टीको पत्र तथा जनता समाजवादी पार्टी, नेपालका १२ जना, नेकपा (एमाले) का २६ जना तथा माननीय सदस्य श्री दुर्गा पौडेलको हस्ताक्षर सहित १४९ जनाको हस्ताक्षर रहेको, नेकपा (एमाले) बाट निर्वाचित सदस्यहरूको हकमा पार्टीको तर्फबाट अर्को दलका उमेदवारको पक्षमा हस्ताक्षर गरेका सदस्यहरूलाई मान्यता नदिन अनुरोध गर्दै निजहरूको हकमा दलीय अनुशासन विपरीत हस्ताक्षर गरेको पाइए प्रतिनिधि सभाको सदस्य नरहने गरी निश्कासन गरिने हुँदा हाल निजहरूको हस्ताक्षरको मान्यता नहुन भनी पार्टीका अध्यक्ष तथा संसदीय दलका नेताबाट लेखी आएको ।

यस्तै, जनता समाजवादी पार्टी, नेपालको तर्फबाट पनि पार्टीका सदस्यहरूले पार्टीको आचरण र मर्यादा विपरीत हस्ताक्षर गरिएको बुझिएकोले त्यसलाई अस्वीकृत गरी दिनुहुन भनी उक्त पार्टीका अध्यक्ष श्री महन्थ ठाकुर र संसदीय दलका नेता श्री राजेन्द्र महतोको हस्ताक्षर सहितको पत्र प्राप्त भएको ।

अतः दाबीकर्ता दुवै माननीय सदस्यहरूका समर्थनकर्ता भनिएका सदस्यहरू एक अर्कामा दोहोरो परेका, दलको निर्णय विपरीत एकले अर्कोलाई समर्थन गरेको समेत देखिएको र सम्बन्धित दलले मान्यता नदिन लेखी आएको समेत देखिएकोले नेपालको संविधानको धारा ८९ को खण्ड (ङ) समेत आकर्षित हुन सक्ने, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को परिच्छेद ६ का विषयहरू समेतलाई ध्यान दिंदै दाबीकर्ता दुवै माननीय सदस्यहरूले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा (५) बमोजिमका दाबीकर्ता दुवै माननीय सदस्यहरूको दाबी नपुग्ने देखिएकोले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएन ।

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ११ : ५४ बजे

नासाको ‘सुपरसोनिक एक्स- ५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

काठमाडौं– अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक

बालुवाटार बैठक : छानबिन समिति बनाउने समझदारी

काठमाडौं – सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सत्तापक्ष

स्वास्थ्य संस्थाको गुणस्तर सुधारमा सरकार प्रतिबद्ध : स्वास्थ्यमन्त्री यादव 

पर्सा– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले देशभरिका सरकारी स्वास्थ्य संस्थाको

बागलुङमा गर्भपतन गराउने बढे

गलकोट– बागलुङमा पछिल्लो समय गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको छ

निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छु : डा कोइराला

नवलपुर– नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले निर्वाचनको बेला आफूले