लागुऔषध उत्पादन गर्न नेपालका किसानलाई भारतीयको लगानी! | Khabarhub Khabarhub

लागुऔषध उत्पादन गर्न नेपालका किसानलाई भारतीयको लगानी!



काठमाडौं–विभिन्न घटना हेर्दा आपराधिक पृष्ठभूमीका व्यक्तिले आश्रय लिने गरेको नेपाल लागुऔषध कारोबारका रुपमा पनि अगाडि नै देखिएको छ । धार्मिक महत्व राख्ने फलफूलमा पनि लागू औषध हुने गरेको तथ्य पाएका तस्करले त्यसैको फाइदा उठाउँदै कम आयस्रोत भएका किसानलाई लागुऔषध जन्य उत्पादन गराउन लगानी नै गर्ने गरेको पाइएको छ ।

त्यसैले पनि नेपालमा लागुऔषध प्रयोग र तस्करीका हिसावले मात्र नभई उत्पादनका हिसाबले पनि धेरै चुनौती देखाएको छ ।

जानकारहरुका अनुसार, नेपालमा दुई प्रकारका लागुऔषधको उत्पादन हुन्छ । एक गाँजा, अर्को अफिम । विज्ञहरूका अनुसार, दुई ठूला राष्ट्र चीन र भारतको माग पूरा गर्न पनि नेपालमा गाँजा र अफिम उत्पादन हुन्छ । हुन त नेपालमा गाँजा र अफिमबाहेक भाँङ तथा धतुरो पनि उत्पादन हुन्छ । तर भाङ र धतुरो व्यवसायिक समस्याका रुपमा देखिएको छैन ।

जताततै गाँजा अफिम नष्ट गर्दै प्रहरी

वैशाख २६ गते म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा ५ रोपनीमा फैलिएको गाँजा खेती प्रहरीले नष्ट गर्‍यो । गाउँमा गाँजाको व्यवसायिक खेती भइरहेको सूचनापछि गाँजा नष्ट गरेको प्रहरीको भनाई छ । वैशाख २० गते यतामात्र जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्लाका विभिन्न स्थान गरी २७ रोपनी भन्दा बढी जग्गामा खेती गरिएको गाँजा खेती नष्ट गरेको छ । ती स्थानहरुका बर्षौं देखि गाँजाको खेती हुँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

बैशाख २८ गते, रुकुम जिल्लाको भुमे गाउँपालीकामा पनि प्रहरीले दुई रोपनी जग्गामा लगाइएको गाँजा खेती नष्ट गर्‍यो । बैशाख महिनामा मात्र प्रहरीले रुकुममा मात्र विभिन्न स्थानमा ६५ रोपनी भन्दा बढी जग्गामा लगाइएको अफिम खेती नष्ट गरेको छ । वैशाख १५ यता मात्र धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानमा प्रहरीले ठूलो परिमाणमा गाँजा खेती नष्ट गर्‍यो । यी त पछिल्लो दुई साता यताका घटना मात्र हुन । प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार, अहिले प्रहरीले देशका विभिन्न जिल्लाहरुमा गाँजा र अफिम नष्ट गर्ने काम गरिरहेको छ ।

काठमाडौं उपत्यकामै पनि गाँजाको खेती हुन्छ । महानगरीय प्रहरी परिसर लतिलपुरको टोलीले केही समय अघि ललितपुरको बालकुमारी गुजेपोखरीस्थित सयौं रोपनी क्षेत्रफलमा फैलिएको सार्वजानिक जग्गामा हुने गाँजा खेती नष्ट गरेको थियो । स्थानीयबासीहरुका अनुसार, व्यवसायीक खेती नभएपनि बर्षौदेखि गुजेपोखरी क्षेत्रमा गाँजाको उत्पादन हुँदै आएको छ । अनि, लुकिचोरी नै सहि, त्यहाँबाट दुर्व्यसनीहरुले गाँजा लैजाने र सेवन गर्ने गर्छन् । राजधानी नजिकै रहेको फर्पिङ आसपासको क्षेत्रबाट पनि प्रहरीले बर्षेनी ठूलो परिमाणमा गाँजा नष्ट गर्दै आएको छ ।

नेपालमा वर्षेनी ठूलो परिमाणमा बरामदु हुने गाँजा र अफिमको तथ्याङ्ले पनि देशका विभिन्न स्थानमा यसको खेती मौलाएको पुष्टि हुन्छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको तथ्याङक अनुसार प्रहरीले पछिल्लो तीन बर्षको अवधिमा मात्र १ हजार २ सय ३५ विगाहा जग्गामा लगाएको गाँजा नष्ट गरेको छ भने २ सय ८५ विगा जग्गामा खेती गरेको अफिम नष्ट गरेको छ । यता प्रहरीले नेपालमा बर्षेनी ठूलो परिमाणमा गाँजा र अफिम समेत बरामद् गर्दै आइरहेको छ ।


स्रोत : प्रहरी प्रधान कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरो

नेपालका आधा भन्दा बढी जिल्लामा लागुऔषधको खेती

जानकारहरुका अनुसार, अहिले नेपालका आधा भन्दा बढी जिल्लाहरुमा लागुऔषधको खेती हुँदै आएको छ । लागुऔषध विश्लेषक कृष्णप्रसाद त्रिपाठी भन्छन् –पहिले पहिले नेपालका ७/८ वटा जिल्लामा मात्र व्यवसायिक रुपमा गाँजा र अफिम उत्पादन हुने गरेको थियो । त्यसमध्ये तराइका केही जिल्लाका साथ मकवानपुर र धादिङ पर्थे । तर, अहिले रुकुम, रोल्पा, बाजुरा, भोजपुर, खोटाङ, रामेछापलगायत पहाडी जिल्लामा व्यवसायिक रुपमा गाँजाको खेती हुन्छ ।

यसबाहेका तराईका सिरहा, सप्तरी, महोत्तरी, धनुषालगायतका जिल्लामा अफिम खेती हुने गर्छ । विश्लेषक त्रिपाठी भन्छन्–अहिले नेपालका आधा भन्दा बढी जिल्लामा प्रत्यक्ष या अप्रत्यक्ष रुपमा लागुऔषधको खेती हुन्छ । यो कुरा नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख डिआइजी दिनेश अमात्य पनि स्वीर्काछन् । उनि भन्छन् –अहिले नेपालका अधिकांश जिल्लामा गाँजा तथा अफिम उत्पादन हुन्छ । अहिले पनि प्रहरीले निरन्तर रुपमा गाँजा तथा अफिम खेती नष्ट गरिरहेको छ ।

भारतीय तस्करको पैसा : नेपाली कृषकको खेती

नेपालमा अबैध रुपमा उत्पादन हुने गाँजा भन्दा पनि अझ बढी अफिममा फाइदा हुने भएकाले तस्करले लुकिछिपी खेती गर्न लगाउने गरेको पाइएको छ । पूर्वडिआइजी हेमन्त मल्ल भन्छन्– सीमित पैसा पाउने लोभमा नेपाली कृषकहरुले गाँजा तथा अफिमको खेती गर्छन् । अनि उनिहरुलाई गाँजा तथा अफिम खेती गर्न तस्करहरुले उक्साउने गरेका छन् ।

उनि थप्छन्–नेपाली कृषकहरुलाई भारतीय तस्करहरु आएर गाँजा र अफिम खेती गर्न बीउ, मल तथा पैसा दिने गरेका छन् । अहिलेकै अवस्थामा गाँजा र अफिम उत्पादन हुँदै जाने हो भने नेपाल पनि अफगानिस्तान जस्तै लागुऔषध उत्पादनको केन्द्र बन्ने विश्लेषकहरुको ठहर छ । हुन त नेपालमा विश्वका अन्य मुलुकमा जस्तो पूर्ण नाफामुखी र संगठनात्मक रूपमा लागुऔषध वितरण गर्ने सञ्जाल भने देखिएको छैन । तर, थुप्रै युवा प्रभावित भैरहेको अवस्थामा यसको कारोबार भने दिन प्रतिदिन बढिरहेको छ ।

त्यसो त अहिले गाँजाको उत्पादन माथिको प्रतिबन्ध खुलाउनु पर्छ भनेर पनि आवाज उठ्न थालेका छन् । तर, विज्ञहरु भने प्रतिबन्ध खुलाउन नहुने तर्क गर्छन, लागुऔषध विश्लेषक कृष्ण त्रिपाठी भन्छन्–गाँजा कतिपय औषधीका रुपमा पनि प्रयोग हुन्छ तर, यसको फाइदा भन्दा बेफाइदा बढी छन् । किनकी यो लागुऔषध हो औषधीका बहानामा यसलाई खुला गर्दा यसको दुरुपयोग बढी हुन्छ, नियमनको दायरा भन्दा बाहिर जान्छ त्यसले यसको प्रतिबन्द खुलाउन हुँदैन।

नियन्त्रणमा समस्या के ?

नेपाल प्रहरीले लागुऔषध नियन्त्रण गर्ने भन्दै ब्यूरो नै बनाएर थुप्रै जनशक्ति छुट्याएपनि प्रविधिको अभावमा उपलब्धिमुलक नतिजा निकाल्न सकेको छैन । यति सम्मकी कुन लागुऔषध हो या कुन होइन भनेर छुट्याउने प्रविधि समेत प्रहरीसँग छैन। ब्यूरोका डिआइजी अमात्य भन्छन्–लागुऔषध नियन्त्रण प्रहरी एक्लैले मात्र सम्भव छैन । त्यसका लागि सवै पक्ष सतर्क हुनुपर्छ। अझ मुख्य कुरा यसको असर बारे सचेतना फैलाउनु आवश्यक छ । अनि नियन्त्रण गर्न बसेका नियमनकारी नियकालाई पनि समय सापेक्ष प्रविधियुक्त बनाइनु पर्छ ।

पूर्वडिआइजी मल्लका अनुसार, लागु औषधको उत्पादन दुर्गमका किसानहरुले गर्ने गरेका छन् । उनिहरुलाई लागुऔषध तस्करले खर्च दिन्छन् । सोही अनुरुप गरीब किसानहरुले रोजीरोटीकै लागि पनि यस्तो खेती गर्ने गरेका छन् । त्यसैले यसको नियन्त्रणका लागि सरकारले कृषकहरुलाई विकल्पका साथ योेजना ल्याउनुपर्छ ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  १० : ०३ बजे

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको