मध्यपहाडी लोकमार्ग : कतै रुट खोज्दै हैरान, कतै ठेकेदारको तनाव | Khabarhub Khabarhub

मध्यपहाडी लोकमार्ग : कतै रुट खोज्दै हैरान, कतै ठेकेदारको तनाव


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – मध्यपहाडी लोकमार्ग निर्माण गर्न थालेको १५ वर्ष पुग्न लाग्यो । कास्कीको भैंसेदेखि याम्दीसम्मको खण्डमा भने अझै रुट टुंगिएको छैन । यहाँ ५ पटकसम्म रुट फेरियो । अझै कामअघि बढेन । सुरुमा लमजुङ र कास्कीको सिमाना रुदी दोभानदेखि कास्कीको रामकोट भएर वेगनास ताल निकाल्ने तयारी थियो ।

त्यहाँ स्थानीयले जग्गा नदिने लगायत समस्या भएपछि रामकोटबाट लिप्यानी, सौर्य हुँदै आर्वा निकाल्न प्रस्ताव आयो । त्यसमा पनि सहमति जुटेन । पछि भैंसे निकालेर सुनपँदालीको रुट तय गरियो ।

यो रुटमा सर्भे सकेर ट्रयाक खोल्न लागेपछि नेताहरूको स्वार्थले नयाँ रुट अघि सारिएको छ । भैंसेदेखि ज्याम्दु, मेलबोट, मौजाबाट अर्मलाकोट निकालेर भलाम हुँदै बाटुलेचौरदेखि याम्दी जोड्न प्रस्ताव गरिएको हो ।

यो रुटको जिल्लास्थित राजनीतिक दलका नेताहरूले पनि हेरेर सहमति जुटाएका छन् । ‘माथिल्लो निकायबाटै हेर्ने कुरा छ । एकपटक हामीले रेकी गरेर रुट पठाएका छौं । उपयुक्त भए त्यही रुट फाइनल हुन्छ । नत्र अर्को खोज्नुपर्छ,’ मध्यपहाडीको पर्वत कार्यालय प्रमुख मेघराज मरासिनीले भने, ‘बर्खा र कोभिडले रोकियो । केही समयमै टुंगिन्छ ।’

यसअघि प्रस्तावित रुटमा धेरै संरचना भत्काउनुपर्ने भएकोले पनि नयाँ ट्रयाक खोज्न लागिएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारीले बताए । ‘सहरका सडक यसै पनि स्तरीय हुन्छन् । भइरहेका सडकमा जोड्ने हो भने मध्यपहाडीको अर्थ के भयो र रु,’ उनले भने, ‘यो सडकले गाउँलाई समेट्नुपर्छ । सडकसुविधा पुग्यो भने गाउँको बसाइसराइ रोक्न सहयोग पुग्छ ।’

आर्वा र कसेरी क्षेत्रमा धेरैको घरजग्गा पर्ने र मुआब्जा बढ्ने भएपछि आयोजनाले रुट फेर्न लागेको बुझिएको छ । यसमा नेताहरूको स्वार्थ पनि मिसिएको छ । लमजुङदेखि बागलुङको सिमानासम्म २४५ किलोमिटर सडक पर्छ । त्यसमध्ये लमजुङदेखि १६ किलोमिटर वर भैंसेसम्म ठेक्कापट्टा सकिएर कामअघि बढेको छ । भैंसेदेखि याम्दी खण्डमा ट्रयाक छिनोफानो लागेको छैन । याम्दीदेखि नयाँपुलसम्मको खण्डमा काम पूरै सकिएको छ ।

नयाँपुलदेखि मालढुंगासम्म अन्तिम चरणमा छ । बागलुङ बजारदेखि घोडाबाँधेसम्मको खण्डमा भने बढी समस्या देखिएको छ । ठेकेदार कम्पनीले समयमा काम नगरिदिँदा समस्या भएको मरासिनीले बताए । त्यसपछि रुकुमसम्मको खण्डमा पनि काम करिब सकिएको उनको भनाइ छ ।

‘घोडाबाँधे क्षेत्रमा कन्ट्याक्टरको कारण रोकिएको हो । अन्यत्र खासै समस्या छैन,’ उनले भने, ‘यो आर्थिक वर्षमा रुदी(भैंसेबाहेक सबै खण्ड सकिन्छ । भैंसेदेखि याम्दी खण्डमा पनि ट्रयाक फाइनल हुन्छ ।’

तीन जिल्लामा ११ वटा कन्ट्याक्टरले काम गरिरहेका छन् । यो वर्ष एक अर्बको बजेटमा काम भइरहेको मरासिनीले जानकारी दिए । यो खण्डमा अघिल्लो वर्ष डेढ अर्बको काम भएको थियो ।

गण्डकीका अधिकांश प्याकेजमा समस्या देखिएको छ । कतै रुट खोज्दै हैरान छ भने कतै ठेकेदारले हैरानी दिएका छन् । गोरखा र लमजुङ खण्डमा पनि काम सुस्ताएको छ । यो दुई जिल्लामा सातवटा प्याकेजमा काम भइरहेको छ । यहाँ ११४ किलोमिटर सडक मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्छ । खासगरी आरुघाटदेखि निवेलसम्मको खण्डमा ठेकेदारले काम नगरेको इन्जिनियर गोविन्द श्रेष्ठले जानकारी दिए ।

‘कोरोना नभएको भए ठेकेदार कारबाहीमा परिसक्थे । हाम्रो खरिद ऐनका कारण पनि धेरै कुरामा समस्या भएको छ,’ उनले भने, ‘कति ताकेता गर्दा पनि काम गरिदिएन । अब यही चैतभित्र काम नसके ठेक्का तोडेर नयाँ प्रक्रियाबाट काम गराउने तयारी छ ।’

दुईवटा प्याकेजबाहेक अरु प्याकेजको काम २०७५ मै सक्नुपर्ने सम्झौता छ । रसुवा इलाईट सूर्य जेभीले जिम्मा लिएका प्याकेजमा बढी समस्या छ । यो वर्ष एक अर्ब २८ करोडको काम हुने श्रेष्ठले जानकारी दिए ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ११ : १६ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले