नेपालमा आज के के भयाे दिनभर ? (अडियोसहित) | Khabarhub Khabarhub

नेपालमा आज के के भयाे दिनभर ? (अडियोसहित)


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

संघीय संसदको चालु अधिवेशन अन्त्य
संघीय संसदको अधिवेशन अन्त्य भएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चालु अधिवेशन अन्त्य गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को चैत १ गतेको सिफारिसमा प्रतिनिधिसभा र राष्ट्रियसभाका अधिवेशन मंगलबार राति १२ बजेदेखि अन्त्य गरेको संसद सचिवालयले जनाएको छ ।

एमालेद्धारा आसन्न निर्वाचनमा उम्मेदवार सिफारिसको विधि र प्रक्रिया पारित
प्रमुख प्रतिपक्षी नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिसको बिधि र प्रक्रियालाई पारित गरेको छ । आज भक्तपुरमा बसेको एमाले केन्द्रीय

सचिवालयको बैठकले उम्मदेवार सिफारिसको विधि र प्रक्रियालाई पारित गरेको र मापदण्डका बिषयमा भने केन्द्रीय कमिटीले निर्णय गर्ने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।

उनका अनुसार वडाध्यक्ष र सदस्यहरूको सिफारिस वडा कमिटीबाट गर्ने र जिल्ला कमिटीले त्यसमा आवश्यक निर्णय गर्ने विधि तय भएको छ ।

एमालेले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्छ: ओली
नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले आगामी निर्वाचनमा एमालेले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने बताएका छन् ।

आज काठमाडौँमा अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई निर्वाचनमा कसैको साहारा आवश्यक नपर्ने र एक्लैलै ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित हासिल गर्ने बताएका हुन् ।

त्यस्तै ओलीले कम्युनिष्ट नाम राख्दैमा बास्तविक कम्युनिष्ट हुन नसक्ने भन्दै वास्तविक कम्युनिष्ट हुन बिचारमा स्पष्ट हुनुपर्ने जिकिर गरे ।

साइकल वितरणमा अनियमितता भएको केपी ओलीको आरोप
नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले मधेश प्रदेशमा बेटी पढाउ, बेटी बचाउ अभियानका क्रममा अनियमितता भएको आरोप लगाएका छन् ।

आज भक्तपुरमा एमाले पर्सा–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ओलीले बेटी पढाउ, बेटी बचाउ अभियानका क्रममा हिसाव मात्र मिलान भएको तर साइकल बितरण हुन नसकेको बताएका हुन् ।

बेटी पढाउ, बेटी बचाउ कार्यक्रम भारतीय प्रधानमन्त्रीको बेटी बचाउ अभियानको नक्कल मात्र भएको उनको भनाइ छ ।

वडा समितिलाई काँग्रेसको परिपत्र– हरेक सदस्यले ५० मतदाताको सम्पर्कमा बस्नू
स्थानीय चुनावको मिति नजिकिँदै गर्दा सत्तारूढ दल नेपाली काँग्रेसले आफ्ना नेता कार्यकर्तालाई मतदातासँग सम्पर्क बढाउन निर्देशन गरेको छ ।

केन्द्रीय कार्यालयले ७७ वटै जिल्ला कार्यसमितिमार्फत् ६७४३ वडालाई पत्राचार गर्दै टोल कार्यसमितिको एक सदस्यले कम्तीमा १० घर या ५० मतदातासँग नियमित सम्पर्कमा बस्न परिपत्र गरेको हो । काँग्रेसले वडा कार्यसमितिमा १५ प्रतिशत युवा प्रतिनिधित्व गराउनसमेत निर्देशन दिइएको छ ।

एमसीसी परियोजना मुलुकको हितमा छः गृहमन्त्री
गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी परियोजना मुलुकको हितमा रहेको भन्दै यसबाट फाइदा लिनसक्नुपर्ने बताएका छन् ।

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र काठमाडौँ महानगरपालिकाले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा एमसीसीका बारेमा अनावश्यक चर्चा चलेको भन्दै उनले एमसीसी परियोजना मुलुकको हितमा रहेको र यसबाट फाइदा लिनुपर्ने बताएका हुन् ।

आफन्तबाहेकले मिर्गौला दान गर्न नपाउने कानुन संशोधन गर्न सरकार तयारः गृहमन्त्री
मिर्गौला प्रत्यारोपणका लागि दाताको दायरा फराकिलो पार्दै आफन्तबाहेकले मिर्गौला दान गर्न नपाउने कानुन संशोधन गर्न सरकार तयार रहेको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् ।

मिर्गौला प्रत्यारोपण सम्भव हुँदा हुँदै पनि दाताको अभाव र आफन्तबाहेकले अंगदान गर्न नपाउने कानुनी व्यवस्थाका कारण धेरै मिर्गौला रोगीले अनाहकमा ज्यान गुमाउनु परिरहेको छ । विश्व मिर्गौला दिवसको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत किष्ट मेडिकल कलेजले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री खाणले कानुन संशोधन गरी बाधा फुकाउन सरकार तयार रहेको बताए ।

आफन्त बाहेकले मिर्गाैला दान गर्न नपाउने प्रावधान संशोधन भएमा बढ्दो मिर्गौला रोगीको उपचार अझै सहज हुने उनको भनाइ छ ।

त्रिविको केन्द्रीय पुस्तकालय भवनको शिलान्यास
विनासकारी भूकम्पबाट क्षति पुगेको किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय भवनको शिलान्यास गरिएको छ ।

केन्द्रीय पुस्तकालयको नयाँ बन्ने अत्याधुनिक भवनको आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

२०७२ को भूकम्पले क्षतिग्रस्त भएको पुस्तकालयको भवन भारत सरकारको आर्थिक अनुदानमा निर्माण हुन लागेको हो । कूल ३६ करोड ११ लाख ६६ हजारमा निर्माण हुन लागेको उक्त भवनमा पाठक तथा अनुसन्धानकर्ताका लागि २४ सँै घण्टा बसेर अध्ययन गर्न सक्ने व्यवस्थाका साथै ई–लाइब्रेरी सुविधाका लागि छुट्टै कम्प्युटर ल्याब, सेमिनार वर्कसपका लागि हल, प्रदर्शनी कक्ष आदिको व्यवस्था रहने बताइएको छ ।

नेपाल र साउदी अरवबीच सम्झौता
नेपाल र साउदी अरवबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरब परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा.नारायण खड्का र साउदी अरबका तर्फबाट साउदी विदेशीमन्त्री फैजल बिन फरहान अल साउदले हस्ताक्षर गरेका छन् ।

दक्षिण एसियाली महिला सम्मेलन काठमाडौँमा सुरु
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको संविधानले सुनिश्चित गरेको महिला तथा बालबालिकासम्बन्धी हकअधिकारको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग, महिला गैरसरकारी संस्था महासङ्घ (डब्ल्यूएनएफ) र ‘एभ्री बुमन’ नामक संस्थाद्वारा संयुक्त रूपमा मंगलबारबाट काठमाडौँमा सुरु भएको दक्षिण एसियाली महिला सम्मेलन’ को उद्घाटन गर्दै उपराष्ट्रपति पुनले महिला सशक्तीकरणको आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नु सबै सरोकारवालाको चासोको विषय हुनुपर्ने र संविधानले सुनिश्चित गरेको अधिकारको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताएका हुन् ।

एडीबीलाई नविन प्रविधि भित्र्याएर सहयोग गर्न अर्थमन्त्रीको आग्रह
अर्थमन्त्री जनार्दन शर्माले प्रमुख दातृ निकाय एसियाली बिकास बैंक (एडीबी) लाई नेपालमा ऋण लगाानीसँगै विश्व बजारमा उपलब्ध नविन प्रविधिसमेत भित्र्याएर सहयोग गर्न आग्रह गरेका छन् ।

एडीबीले नेपालमा कार्यान्वयन गरिरहेका विभिन्न परियोजनाको वार्षिक समीक्षा गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले ठूला परियोजनामा अझै दातृ निकायको ऋण आवश्यक परेको बताएका हुन् । यस्तै ऋण दिँदा विकसित देशमा प्रयोग हुने नविन प्रविधिसमेत भित्र्याएर सहयोग गर्न उहाँले आग्रहसमेत गरे ।

राप्रपाले गठन ग¥यो भूतपूर्व सैनिकहरूलाई समेटेर संगठन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भूतपूर्व सैनिक कर्मचारीहरूको संगठन बनाएको छ । भूतपूर्व सैनिक कर्मचारीहरूलाई समेटेर आज काठमाडौंमा आयोजित एक कार्यक्रमबाट राप्रपाले भूतपूर्व सैनिक परिषद्को घोषणा गरेको हो ।

परिषद् घोषणा सभालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ०६२÷६३ पछि तय गरिएको राजनीतिक मार्गचित्र पूर्ण रूपले असफल भएकाले देशभक्त राष्ट्रवादी शक्तिको तागतबाट कोर्स करेक्सन गरिनुपर्ने बताउनुभयो ।

राप्रपाले भूतपूर्व सैनिकको संगठनको रूपमा अवकाश प्राप्त महासेनानी प्रकाश जङ्ग कार्कीको अध्यक्षतामा भूतपूर्व सैनिक परिषद् (राप्रपा)को १०१ सदस्यीय कार्य समिति पनि घोषणा गरेको छ ।

नागरिकको स्वास्थ्यको हकलाई स्थापित गर्नुपर्ने गगन थापाको भनाइ
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानमा उल्लेख नागरिकको स्वास्थ्यको हकलाई स्थापित गर्नुपर्ने बताएका छन् ।

आज काठमाडौँमा शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रको उद्घाटन गर्दै नागरिकको स्वास्थ्यको हकलाई स्थापीत गर्न जनप्रतिनिधिले पनि सकारात्मक भूमिका खेल्नुपर्ने पनि बताए ।

निर्वाचनमा उठ्दै गर्दा पूर्वाधार निर्माणमा प्रतिबद्धता जनाएसँगै जनताको स्वास्थ्यको अधिकार स्थापित गर्ने प्रतिबद्धता जनाउनुपर्ने उनको भनाइ छ । त्यस्तै उनले सहुलियतमा स्वास्थ्य उपचारका लागि महानगरले पनि आवश्यक काम गर्नुपर्ने धारणा राखे ।

मेलम्ची खानेपानी आयोजना तथा बाढी पीडितद्धारा आन्दोलनको घोषणा
मेलम्ची खानेपानी आयोजना र संघीय सरकारलाई पटक–पटक आग्रह गर्दा पनि खानेपानी तथा बाढी प्रभावितको माग सम्बोधन नगरेको भन्दै आजदेखि स्थानीय आन्दोलनमा उत्रिएका छन् । माग पूरा नभएसम्म आयोजनाको कुनै पनि काम गर्न नदिने उनीहरूले चेतावनी दिएका हुन ।

विभिन्न चरणको आन्दोलन कार्यक्रमको घोषणा गरेका उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको हेलम्बु बाढीपीडित सरोकार समन्वय समितिका सचिव अर्जुन भण्डारीले बताए ।

दुई वर्षपछि खुल्यो मलेसिया रोजगारी
नेपाली श्रमिक अब फेरि रोगगारीका लागि मलेशिया जान पाउने भएका छन् । काठमाडौंस्थित मलेशियाली दूतावासले सूचना जारी गर्दै कोरोनाका कारण लगाएको प्रतिबन्ध हटाएको जानकारी दिएपछि नेपाली कामदारका लागि मलेशिया खुला भएको हो ।

नेपालीको मुख्य श्रम गन्तव्यमध्येको एक मलेशियामा रोजगारीका लागि जान २ वर्षदेखि रोकिएको थियो ।

नेपालमा कोरोना अपडेट
पछिल्लो २४ घण्टामा नेपालमा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ७ सय ३४ पीसीआर परिक्षणका क्रममा ५७ जना र ३ हजार १ सय ५० एन्टीजेन परिक्षणका क्रममा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज १ सय ३० संक्रमित निको हँुदा हालसम्म नेपालमा ९ लाख ६१ हजार ३ सय ४८ जना निको भएका छन् । हाल नेपालमा ४ हजार ७ सय ४६ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन
मुलुकमा महिला हिंसाको घटना बढ्दै गएको भन्दै श्रीमती संगठनले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ । मोरङमा भएको १८ महिने बालिकाको बलात्कार र हत्या तथा अन्य महिला हिंसाको बिरोधमा उनीहरूले प्रदर्शन गरेका हुन् ।

पछिल्लो समय बालबालिका तथा महिलाहरू असुरक्षित भएको भन्दै राज्यले गम्भीर रूपमा ध्यान दिनुपर्ने भन्दै प्रदर्शन गरिएको संगठनले जनाएको छ ।

संखुवासभा बस दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख दिइने
सङ्खुवासभाको मादी नगरपालिकाले बस दुर्घटनामा मृत्यु भएका १५ जनाको परिवारलाई जनही एक लाख रूपैयाँ दिने भएको छ । गत बिहीबार मादी नगरपालिका–६, सातघुम्तीमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो ।

मादी नगर कार्यपालिकाको बैठकले मृतकका परिवारलाई जनही एक लाख रूपैयाँ दिने निर्णय गरेको नगरप्रमुख विदुरकुमार लिङ्थेपले जानकारी दिए । यस्तै बैठकले घाइतेलाई उपचार खर्चबापत जनही ५० हजार रूपैयाँसमेत दिने, मृतक र घाइतेको सम्झनामा भूमेश्वर महादेवको स्मारक बनाउने निर्णय गरेको छ ।

पल शाहलाई पुनः तनहुँ लगियो
नाबालिगलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहलाई प्रहरीले पुनः तनहुँ लगिएको छ । यसअघि शाहलाई बयानका लागी प्रहरीले तनहुँबाट नवलपुरको गैँडाकोट लगेको थियो ।

गैँडाकोटमा उनको बयान सकिएपछि प्रहरीले आज तनहुँको दमौली लगेको हो । पिडित नाबालिगका आफन्तले शाहविरुद्ध सुरुमा दमौली र त्यसपछि नवलपुरमा जाहेरी दिएका थिए । सोही जाहेरीको अनुसन्धानका क्रममा प्रहरीले शाहलाई गैँडाकोट पु¥याएको थियो ।

फारम भर्ने सेवाग्राही ५ लाख ७२ हजार नाघेपछि सवारी लाइसेन्सको आवेदन बन्द
सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को वितरण प्रणालीमा अधिक चाप परेपछि आजदेखी नयाँ आवेदन लिन बन्द गरिएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार आवेदकको संख्या ५ लाख ७२ हजार पुगेपछि आवेदन प्रणाली बन्द गरिएको हो ।

विभागले अनिश्चितकालका लागि आवेदन बन्द गरेपछि लाइसेन्सको फारम भर्ने तयारीमा रहेकाहरू समस्यामा परेका छन् । विभागले हिजो एक सूचना जारी गर्दै १ चैतदेखि अर्को सूचना नभएसम्मका लागि नयाँ निवेदन नलिने जानकारी गराएको थियो ।

क्रिप्टो, हाइपर, अनलाइन जुवाका वेबसाइट र एप नेपालमा नचल्ने
नेपालमा क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा (बेटिङ) जस्ता वेबसाइट नचल्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पत्र लेख्दै यस्ता वेबसाइट र एपहरू बन्द गर्न इन्टरनेट तथा मोबाइल सेवाप्रदायकलाई निर्देशन दिएको हो ।

अर्थ मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र काटेर यस्ता वेबसाइट ‘ब्लक’ गर्न आग्रह गरेको थियो । आर्थिक अपराधसँग सम्बन्धित एप र वेबसाइट प्रयोग, सञ्चालन तथा व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसेबल र कालोसूचीमा राख्न निर्देशन दिएको हो ।

क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा २ जनामाथि मुद्दा दायर
क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा राजश्व अनुसन्धान विभागले दुई जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । विभागले आज ९ करोड ७४ लाख ६९ हजार ९८३ रूपैयाँ बिगो माग गर्दै दुई जनाविरूद्ध मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरिएका व्यक्तिमा मोरङ रतुवामाई नगरपालिका–७ का २८ वर्षीय पुष्कर श्रेष्ठ र २३ वर्षीया विनिता लिम्बु रहेका छन् ।

धितोपत्र बजारमा नेप्से परिसूचकमा
शेयर बजार परिसूचक नेप्से आजपनिओरालो लागेको छ । आज नेप्से १७.१५ प्रतिशतले घटेर २ हजार ६ सय ५०.९७ बिन्दुमा पुगेको हो । आज ६५ लाख २९ हजार २६ कित्ता शेयर ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १ सय ७५ रूपैयाँमा कारोबार भएको छ । आज होटल, बिमा र म्युचुल फन्डबाहेक अरू सबै कम्पनीको शेयर घटेको छ ।

 

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  १० : १७ बजे

तलेजु भवानीमा गतवर्षको तुलनामा दर्शनार्थी घटे

काठमाडौं – तलेजु भवानी मन्दिर वर्षको एक दिन बडादसैँको महानवमीमा

बाढीले क्षति पुर्‍याएको त्रिशूलीको झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

गोरखा – त्रिशूली नदीमा आएको बाढीले क्षति पु¥याएको झोलुङ्गे पुल

बाढीपहिरो पीडित आफन्तकहाँ आश्रय लिएर दशैं मनाउँदै

खोटाङ – बाढी तथा पहिरोबाट विस्थापित भएका जिल्लाका ३३ परिवार

बैतडीका भगवती मन्दिरमा जात्रा सम्पन्न, एक हजार पशुबलि चढाइयो

बैतडी । यहाँका विभिन्न भगवती मन्दिरमा महाअष्टमीको जात्रा सम्पन्न भएको

दशैंको किनमेल स्थानीय हाटबजारमा

नवलपरासी – नवदुर्गा सुरु भएसँगै गाउँघरको वातावरण रमाइलो हुने गरेको