पछिल्लो समय विदेशमा व्यवसायसँगै प्रवासी नेपालका लागि समाजसेवा गर्नेको संख्या बढ्दो छ । तर विदेशमा पहिलोपटक प्रवासी नेपाल संघ एनआरएनए खोलेर समाजसेवामा होमिनेको संख्या पनि कम छ । रोजगारी र व्यवसायका लागि विदेश पसेका तर समाजसेवामा होमिएकाका लागि एनआरएनए एक विशेष संस्था पनि हो । बेल्जियममा पनि नेपालीको संख्या उत्तिकै छ । जहाँ एनआरएनएका संस्थापक अध्यक्ष हुन्, रवीन्द्रमान श्रेष्ठ । विदा र एनआरएनएको नयाँ नेतृत्व चयनका लागि काठमाडौँ आएका श्रेष्ठसँग खबरहबले गरेको कुराकानीको सम्पादित अंशः
बेल्जियम बस्न थाल्नुभएको कति भयो ?
म नेपालबाट १९९२ मा बेल्जियम गएको हो । नेपाली भए पनि विदेशमा गएर सस्कृति, भेषभुषा चिनाउने क्रम जारी छ । मान्छे जहाँ बसे पनि यो मन त मेरो नेपाली हो ।
बेल्जियममा नेपाली एनआएनको अवस्था कस्तो छ, तपाईंको सक्रियता कत्तिको छ ?
नेपाली बस्ती विदेशमा बढ्दै गएपछि आफ्ना–आफना समूह बने । तर हामी संगठनले गर्दा गैर आवासीय भयौँ । विदेशमा रहेर पनि नेपालमा कसरी पुलको काम गर्न सकिन्छ भनेर लागिरहेको छु। हामी विभिन्न कामले विदेशिएका हौँ।त्यहाँ रहेर पनि आफ्नो बल र वृद्धिले श्रम गरेका छौँ । जब एनआरएनको सुरुवात भयो, त्यो बेला धैरैलाई थाहा थिएन। हामी आफ्नो देशमा नभएका मात्र नेपाली हो। तर नेपाली भनेर गौरव गर्ने युरोपका जमातलाई समेटेर यो संस्था बन्यो। हामीले त्यहाँ(बेल्जियम) रहेर पनि नेपाललाई गर्न सक्ने योगदान गरिरहेका छौँ।
कोभिडपछि बेल्जियमको व्यवसायको अवस्था कस्तो छ ?
बेल्जियममा पनि लकडाउन भयो। सहर सबै बन्द भए। संसार नै रोकिएको जस्तो भयो। पसल, सडक, रेष्टुडेन्ट सबै बन्द भए । मान्छेहरू घरबाहिर निस्कने अवस्था थिएन। परिवारलाई समय दिन नसक्नेको लागि मौका पनि मिल्यो। पारिवारिकरूपमा खुसी बाड्ने अवसर मिल्यो। तर व्यवसायमा धेरै घाटा भयो । तर त्यो विकसित देश भएकाले, जनताको करबाट चलेको हुनाले आवश्यक परेको बेला सरकारले घर बसी बसी उनीहरूलाइ पैसा दियो । गत वर्ष एक महिनाको आम्दानी २० हजार भएकालाई त्यसको ८० प्रतिशत पनि दिएको छ। काममा नगए पनि तलब दिइरहेको छ । व्यापार गर्नेलाई व्यापार हेरेर पैसा दिएको छ।
तपाईंको संस्थाले नेपाल बस्नेहरूको लागि पनि केही सहयोग गर्यो ?
बेल्जियममा ६० भन्दा बढी संघ–संस्था छन् । आफनो् क्षेत्रमा कुनै आपत् आयो भने हातमा हात मिलाएर काम गर्छन्। हाम्रो साथीहरूले विदेशभरि रहेका सबैले हाम्रो काम गर्नु भएको छ।
तपाईं कला, भाषा, संस्कृतिलाई माया गर्ने मान्छेमा पर्नुहुन्छ । कलाकारलाई माया गर्ने सोच कसरी आयो ?
नेपालीहरू भोज भतेर गर्न कहीँ चुक्दैनन् । लामो बिदामा या साताको अन्तिम दिन सबै मिलेर रमाइलो गर्ने धैरै छन्। पहिले नेपालीहरू पनि धेरै थिएनन् । पछि धैरै संख्यामा नेपाली भएपछि नेपालबाट कलाकार ल्याएर विदेशी भूमिमा देखाउन पाए । कलाकार पनि घुम्ने अवसर, हामीले पनि हेर्ने अवसर प्राप्त हुने । कोभिडअघि त ४-५ जना कलाकार हरेक वर्ष बोलाउँथ्यौँ ।
बेल्जियम धेरै क्रिश्चियनहरू भएको देश पनि हो। तपाईंहरूले हिन्दु धर्मलाई अभियानको रूपमा अगाडि बढाइरहनु भउको छ । क्रिश्चियनहरूले हिन्दु धर्मलाई कसरी लिएका छन् ?
वेस्र्टन युरोपमा पनि धेरै किसिमको क्रिश्चियन मान्ने छन्। हिन्दु धर्म मान्ने पनि विभिन्न मानिसहरू छन्। विदेशीहरू क्रिश्चियन भए पनि पढ्छन्। पढेको कुरा मनन् गर्छन्। हामीले पहिलेबाट पुर्खाले सिकाएको जसरी गर्यौँ। तर किन गर्यौँ थाहा छैन। उनीहरू किन भन्ने कुरा गर्छन् । कतिपय मान्छेहरू बौद्ध धर्म मान्ने छन्। हामी जस्तै हिन्दु धर्म मान्ने श्रीलंका, मौरीसस, फिजी, अफ्रिकाको कतिपय देशहरू र भारतमा समेत धैरै छन्। हामीले हिन्दु धर्मको संस्था खोलेका छौँ । त्यसमा हामी सरकारसँग वार्ता गर्छौँ।
हामीले निरन्तर रूपमा मागिराखेका छौँ। उनीहरूले हरेक पटक आश्वासन दिएका छन्। उनीहरूलाइ धर्मको लागि छुट्टै पैसा छुट्याएको छ । अहिले त बेल्जियममा धैरै नेपाली छन्। नेपाली भन्नासाथ ओहो नेपाली भन्ने पनि धैरै छन्। कतिपय त नेपाल आएर पनि घुमिसकेका छन्। नेपाल त मेरो सेकेन्ड होम हो भन्छन्। एउटै मान्छे ४० पटकसम्म नेपाल आएका पनि छन्। यसरी हेर्दा हिन्दु धर्मलाई सबैले राम्रो मानेका छन्।
बेल्जियमबाट नेपाल घुम्न आएका पर्यटकले उता फर्किएपछि कस्तो प्रतिक्रिया दिन्छन् ?
हामीले बेल्जियममा पनि पूजा–आजा गर्छौँ । उनीहरू त्यहाँ आएर पुजा गरेर टीका लगाएर रमाइलो मान्छन्। नेपालमा आएर पनि फर्किदा ओहो नेपालमा यस्तो रहेछ भनेर धेरै खुसी हुन्छन् । फोटो खिचेर लगेर अरुलाई पनि देखाउँछन् । हामी बरु आफनै साथीहरूलाई भान्सामा लग्दैनौँ । तर विदेशीहरूलाई भान्सामै लगेर देखाउँछौँ। उनीहरूले सधैँ भन्छन्, तपाईको सम्मान, हस्पिटालिटीले हामीलाई धेरै लोभ्याउँछ।
नेपालले बेल्जियमबाट सिक्नुपर्ने के रहेछ ?
नेपालमा सरकारले केही गर्न सकेन, सरकार गठन गर्न सकेन भने बेल्जियमको नाम लिने गर्छौँ। चुनाव भएर पनि बन्न नसकेको देशमा बेल्जियम पनि पर्छ। त्यहाँको जनतालाई यस्ता कुराले असर नै पार्दैन । बेल्जियममा सर्वसाधारणले पाउने सहुलियत जुन सरकार आए पनि बढेको हुन्छ। जब जनता सुखी हुन्छन्, नेताहरू पनि सुखी हुन्छन् । नेपालले सिक्नु पर्ने भनेको जनता सुखी भए देश नै सुखी हुन्छ, समृद्ध हुन्छ ।
प्रतिक्रिया