काठमाडौँ– दीपेन्द्र केसी कुनै समय म्युजिक भिडियो निर्देशनमा व्यस्त नाम हो ।
उनले नविन के भट्टराईको ‘अलिकत पीडा’, डम्बर नेपालीको ‘टाढा नलैजाउ’, हिमाल सागरको ‘मैले सोचे तिमीलाई’ लगायतका सफल भिडियो गरेका छन् ।
एकपछि अर्को हिट भिडियो गरेका निर्देशक दीपेन्द्र पछिल्लो समय निर्देशनमा सक्रिय छैनन् । कोरोना भाइरसको महामारीपछिको समयलाई नेपाली म्युजिक भिडियोका लागि राम्रो मानिन्छ । संख्यात्मक हिसाबमा पनि भिडियो धेरै बनेका छन् । तर , दीपेन्द्रले निर्देशन गरेका भिडियो ती संख्यामा छैनन् ।
पछिल्लो समय उनी डकुमेन्ट्री निर्देशनमा होमिएका छन् । केही नजान्दा नजान्दै म्युजिक भिडियो निर्देशन बनेका दीपेन्द्र केही समय यता ‘कथा भित्रका कथा’ नामक डकुमेन्ट्री निर्देशनसँगै निर्माणमा व्यस्त छन् । कलेजलाइफमा भारत सिटौलाद्वारा स्वरबद्ध ‘कहिले आगो कहिले पानी’ बोलको गीतको ट्रयाक खोज रिबेल क्रिएसन पुगेपछि दीपेन्द्र निर्देशनतर्फ अग्रसर भएका हुन्
‘सानै देखि म्युजिकमा, फिल्ममा रहर थियो । त्यसैले होला कलेजको कार्यक्रमको लागि कहिले आगो कहिले पानी गीतको ट्रयाक लिन रिबेल क्रिएसन नै पुगेु दीपेन्द्र भन्छन् त्यो समयमा निर्मल कार्कीदाईसँग भेटघाट भयो । त्यहीँ भेटघाटपछि मेरो चिनजान त्यतातर्फ पनि बढ्यो ।’ त्यसपछि उनको चिनजान रोशन श्रेष्ठ, किसन गुरुङसँग बढ्यो । पहिलोपटक किसनको गीतको लागि एसिस्टेन्ट डिरेक्टरको काम गरेका दीपेन्द्रले दोस्रो पटकमै निर्देशन गर्ने मौका पाए ।
‘पहिलो गीतमै एडी हुँदा पनि मेरो काम देखेर किसन दाइले भिडियो दिनुभयो । त्यसपछि कामका लागि सोच्नु परेन’ दीपेन्द्रले पुराना दिन सम्झिए । म्युजिक भिडियो निर्देशनमा व्यस्त र स्थापित नाम बनेता पनि उनको गन्तव्य फिल्म थियो । त्यसका लागि खुलेको ओस्कार कलेजमा पढ्ने सोच उनले बताए । ‘मलाइ फिल्म निर्देशनको अफर नआएको होइन तर मैले पहिला अध्ययन नै गर्ने निर्णय लिए । अध्ययन गर्दै जाँदा मेरो हैसियत मैले बुझेँ’ दीपेन्द्र भन्छन् , ‘पढाइ सकाउँदासम्म भएको ग्यापले काम केही कम हुन थालेको थियो । पछि यसले म्युजिक भिडियो गर्दैन भन्ने हल्ला भयो ।’
दीपेन्द्रले अध्ययन गरेपछि डकुमेन्ट्री बनाउने सोच बनाए । प्राय पशुपति नाथ गौशालामा पुगिरहने दीपेन्द्रले एक दिन त्यहाँ कथा देखे । त्यसपछि उनलाई त्यसभित्रको कथा खोज्ने रहर लाग्यो । अनि सुरु भयो, ‘कथा भित्रका कथा’ । ‘एकदिन पशुपति पुग्दा मैले त्यहाँ छाप्रोमा खाजा बेच्नेलाई देखेँ । त्यो मानिसले त्यहाँ खाजा बेचेर जीविकोपार्जन गरिरहेका थिए । मलाई उनकोभित्रको कथा जान्न मन लाग्यो र सोध्न थाले’ उनले भने, ‘त्यसपछि मैले डकुमेन्ट्रीमार्फत देखिएको कथाभित्रको कथा देखाउने निर्णय लिए ।’
त्यसपछि उनले पहिलो कथा चेपाङ समुदायबाट लिए । ‘मैले के गर्ने भनेर अनुसन्धान गरेँ । चेपाङका बारेमा कमै कथाहरू भेटेपछि यसमै डकुमेन्ट्री बनाउने निर्णय लिए र सुरु गरे कथा भित्रका कथा” उनले भने । मनहरी गाउँपालिका वडा नम्बर ४ का सदस्य विष्णु बहादुर प्रजाको सहयोगमा उनले डकुमेन्ट्री तयार गरेका छन् । चेपाङ जंगलमै किन बसिरहेका छन् ? उनीहरू किन अवसरका लागि सहर पस्दैनन् भन्ने कथालाई उनले डकुमेन्ट्रीमा समेटेको बताएका छन् । उनले यसको मोसन पोस्टर सार्वजनिक गरेदेखि नै प्रतिक्रियाहरू पाइरहेका छन् । फिल्म निर्देशनका लागि गरेको अध्ययन उनले डकुमेन्ट्रीमा प्रयोग गरेका छन् । डकुमेन्ट्री छिटै रिलिज हुने उनले बताए ।
प्रतिक्रिया