नयाँ वर्षमा पर्यटकीयस्थल रानीकोट र नगरकोट भरिभराउ | Khabarhub Khabarhub

नयाँ वर्षमा पर्यटकीयस्थल रानीकोट र नगरकोट भरिभराउ


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– कोरोना भाइरसको महामारीपछि लयमा फर्कँदै गरेको पर्यटन व्यवसायले नयाँ वर्षमा ठूलो राहत पाएको छ । 

नेपाली नयाँ वर्षको अवसरमा विगत तीन दिनदेखि यहाँका पर्यटकीय क्षेत्र नगरकोटबाट रानीकोटसम्म होटल विदेशी तथा स्वदेशी पर्यटकले भरिएपछि होटल व्यवसायीमा खुसी छाएको छ ।

कोरोना भाइरसका कारण लकडाउन हुँदा दुई वर्ष बन्द भएर नोक्सान भएको पर्यटन व्यवसाय लयमा फर्कन थालेपछि र आन्तरिक पर्यटककै भरमा पनि होटल भरिन थालेपछि व्यवसायमा राहत मिलेको हो । यस वर्षको नयाँ वर्षमा यहाँका पर्यटकीय क्षेत्र नगरकोटबाट रानीकोटसम्म शतप्रतिशत होटल विगत तीन दिनदेखि आन्तरिक पर्यटकले भरिएका छन् ।

नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका–७ गुण्डु र ८ सिपाडोलको सङ्गमस्थल ऐतिहासिक रानीकोटमा अधिकांश होटल आन्तरिक पर्यटकले नै भरिएको पर्यटन व्यवसायी एवं भिलेज हाइल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेँले बताए । यहाँबाट बिहान देखिने सुन्दर हिमाली दृश्यसँगै सूर्योदयको झुल्को हेर्ने राति बस्नेदेखि बिहान आउने पर्यटकको भीड लागेको उनले बताए । चैत मसान्तदेखि वैशाख १ गतेसम्म राति बसेर आज फर्कने पर्यटक धेरै रहेको उनको भनाइ छ । उनका अनुसार दुई साता अगाडिदेखि नै होटल बुक भएका थिए ।

समुद्री सतहबाट दुई हजार मिटर उचाइमा रहेको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौँ उपत्यका र भक्तपुर मात्र होइन, विभिन्न हिमशृङ्खलासमेत अवलोकन गर्न सकिन्छ । यहाँबाट सूर्योदयसँगै कञ्चनजङ्घा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुच्छ्रे गौरीशङ्कर, धवलागिरि तथा लाङटाङजस्ता आठ हजार मिटरभन्दा अग्ला आठ हिमाल हेर्न सकिने भएकाले पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको पर्यटन व्यवसायी एवं भिलेज हाइल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेँले बताए । 

सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापाले रानीकोट जान सहज पक्की सडक बनाएपछि पर्यटकको आगमन ह्वात्तै बढेको बताए । उनले  सूर्यविनायक–रानीकोट–आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्राको रुटले रानीकोट पर्यटकको रोजाइमा पर्न थालेको बताउँदै रानीकोट, आशापुरी, बोकाचो गढीँ पर्यटकको रोजाइमा पर्न थालेपछि आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको बताए । 

होटल व्यवसायी बकेँ भन्छन्, “रानीकोट ऐतिहासिकरूपले मात्र नभएर सुन्दर दृश्यावलोकनका लागि पनि उपयुक्त स्थान हो, १२ महिना पर्यटकको आकर्षण बन्न थालेको रानीकोटबाट देखिने हिमाल र सूर्योदयले नयाँ वर्षमा आन्तरिक पर्यटक खचाखच भरिएका छन्, कोरोनाका बाबजुद पनि यस वर्ष आन्तरिक पर्यटकको घुइँचो लागेको देखेर पर्यटन व्यवसाय पुनः चलायमान हुने आशा पलाएको छ ।”

पर्यटकको आगमन बढेपछि घ्याम्पेडाँडा रानीकोट क्षेत्रमा जीपलाइन सञ्चालनमा आएको छ भने ठूला होटल निर्माणको क्रम बढेको छ । निर्माण भइसकेका करिब १४ होटल आन्तरिक पर्यटकले नै भरिन थालेका छन् ।

उता भक्तपुरको अर्को पर्यटकीय गन्तव्य नगरकोटमा नयाँ वर्षमा तीन दिन अगाडिदेखि नै होटल भरिएका छन् । नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न तथा नयाँ वर्षका दिन नगरकोटमा बसेर आज फर्कने पर्यटकले यहाँका होटल खचाखच भरिएका पर्यटन व्यवसायी एवं होटल मेरिगोल्डका सञ्चालक गोकुल लामिछानेले जानकारी दिए । हरेक नयाँ वर्ष विदेशी पर्यटकले भरिने र स्वदेशीले पर्यटकले ठाउँ नपाउने अवस्था आउने गरे पनि यस वर्ष भने आन्तरिक पर्यटकले नै यहाँका सबै होटल भरिँदा होटल व्यवसायी उत्साहित भएको उनले बताए । 

“मैले होटल क्षेत्रमा काम गरेको २० वर्षको अवधिमा २०७७ को नयाँ वर्षमा सबै होटल सुनसान भए, २०७८ को नयाँ वर्षमा आन्तरिक पर्यटकको आगमनले अलि राहत मिलेको थियो”, होटल व्यवसायी लामिछाने भँछन् । “तर यस वर्ष भने केही विदेशी पर्यटकभन्दा धेरै नेपाली पर्यटकले नै २०७९ को नयाँ वर्षमा होटल खचाखच भरिए आन्तरिक पर्यटकको आगमनले पर्यटन क्षेत्रमा पुनः आशा पलाएको छ ।” स्वदेशी पर्यटकको आकर्षण र आगमन बढेपछि ओरालो लागेको पर्यटन व्यवसायमा आशा पलाएको व्यवसायी बताउँछन् ।रासस

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ७ : ३७ बजे

ट्राफिक प्रहरीले कागजी चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने

काठमाडौं– ट्राफिक नियम उल्लङ्घन गरेबापत सवारी चालकले ठाउँकाठाउँ नागरिक एपमार्फत

‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक पर्दैन : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमतिका लागि

रौतहट एमालेका युवा नेता कुशवाहा सम्मानित

रौतहट– नेकपा एमालेका युवा नेता तथा कटहरिया नगरपालिका वडा ४

सातदोबाटोमा रोकेर राखेको बसमा आगलागी

पाटन– ललितपुरको सातदोबाटोमा रोकेर राखिएको सार्वजनिक बसमा आगलागी भएको छ

एयर न्युजिल्याण्डको विमानमा बमको धम्की

सिड्नी– सिड्नी एयरपोर्टमा एयर न्युजिल्याण्डको विमानमा बमको धम्की आएको स्थानीय